सिडिओकै घरमा प्रहरीको आत्महत्या

132
  •  
  •  
  •  

काठमाडौं १७ साउन (ओएनएस) :
प्रमुख जिल्ला अधिकारीको सुरक्षार्थ खटिएका एक प्रहरी जवानले शुक्रबार पेस्तोल प्रहार गरी ‘आत्महत्या’ गरेका छन्। साँझ करिब ६:४५ बजे आफू बस्ने ब्यारेकमै दाङ, ढिकपुरनिवासी शिवकुमार केसीले आत्महत्या गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

उनले प्रजिअ निवासका सुरक्षाप्रमुख प्रहरी हवल्दार नवराज श्रेष्ठको पेस्तोल प्रहार गरी आत्महत्या गरेका हुन्। श्रेष्ठको सेभन प्वाइन्ट सिक्स टु एमएमको चाइनिज पेस्तोल व्यारेकमै राखेको मौका छोपी घटना भएको बताइएको छ। ‘हवल्दारले आफ्नो ड्यूटी सकेपछि पेस्तोल व्यारेकमा राखेर बाहिर गएको बेला कञ्चटमा गोली हानेको देखियो,’ प्रमुख जिल्ला अधिकारी दीलप्रसाद घिमिरेले भने, ‘घटनालगत्तै अस्पताल लगिए पनि बचाउन सकिएन।’ निवासमा खटिने हवल्दारबाहेकका अरु प्रहरीसँग पेस्तोल नहुने उनले बताए।
घिमिरेका अनुसार पेटको बिरामी रहेका केसीले आफ्नो ड्यूटी इन्चार्जसँग बिदा मागेका थिए। यसका साथै केही समयअघि सवारी दुर्घटनामा बालकको ज्यान जाँदा उनले करिब चार/पाँच लाख रुपैयाँ तिरेका थिए। ‘स्वास्थ्य समस्याका साथै आर्थिक अवस्था पनि कमजोर रहेको सुन्नमा आएको छ,’ प्रजिअ घिमिरेले भने, ‘यसबारे थप अनुसन्धानपछि थाहा होला।’
केसीले बायाँ कन्चटबाट प्रहार गरेको गोली दायाँ कन्चटबाट निस्किएको छ। व्यारेकभित्र पड्केको आवाजलगत्तै धुवाँको मुश्लो देखिएपछि ड्यूटीमा खटिएका अर्का एक प्रहरी जवानले खबर गरेका थिए। मृतक प्रहरीका पाँच महिनाकी एक छोरी छन्।
नागरिकबाट


  •  
  •  
  •