काठमाडौं ८ माघ (ओएनएस): बुधबार साँझ ७ः१५ बजे प्रधानमन्त्री सुशील कोइरालाले सभामुख सुवास नेम्वाङलाई फोन गरी आफ्नो निवासमा आउन आग्रह गरे । सभामुख नेम्वाङले आफू थाकेको र तत्काल सहज पनि नभएको भन्दै असमर्थता जनाए । असहज हुनुपर्ने कारणबारे जिज्ञासा राख्दै प्रधानमन्त्री कोइरालाले ‘गाडी चाहिन्छ भने बरु पठाइदिन्छु’ भने । सभामुख नेम्वाङले गाडी त छँदै छ त्यस्तै जरुरी छ भने आउँछु भन्दै जान तयार भए ।
बालुवाटारमा सभामुख र प्रधानमन्त्रीको निवास जोडिएको छ । ‘यहीँ नजिकै छ, धेरैबेर समय लिदैनौँ भनेपछि सभामुख आउनुभएको हो,’ बालुवाटार स्रोत भन्छ, ‘प्रधानमन्त्री सभामुखको निवास जाने कुरा पनि भएन । कार्यालय सबै बन्द भइसकेका थिए । त्यसैले आफ्नो निवासमा बोलाउनुभएको हो ।’
सभामुख प्रधानमन्त्री निवासमा पुग्दा त्यहाँ एमाले अध्यक्ष केपी शर्मा ओली पनि थिए । उनीहरु दुवैले एकस्वरमा आफ्नो सुरक्षा चिन्ता व्यक्त गरे । सोमबार राति संविधानसभामा भएको तोडफोडका क्रममा आफूहरु निशानामा परेको, उचित सुरक्षा नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराए । अरु बेला पनि संविधानसभा भवन र बैठकमा आफूहरु सुरक्षित नभएको उनीहरुले बताए ।
सभामुख नेम्वाङले उक्त घटनाबारे अध्ययन गर्न छानबिन समिति बनाइसकेको, सुरक्षा थप व्यवस्थित बनाउन निर्देशन दिइसकेको जानकारी दिए । सभामुख नेम्वाङनिकट स्रोतको भनाइ छ, ‘संविधानसभामा नहुनुपर्ने गम्भीर घटना भएको भन्दै दुवै नेता (कोइराला र ओली)ले ध्यानाकर्षण गराउनुभयो । त्यसलाई गम्भीरतापूर्वक लिएको सभामुखज्यूले बताउनुभयो ।’
यस क्रममा सभामुख नेम्वाङले संविधानसभाको अवरोध हटाउन भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । ‘संवादहीनता अन्त्य गरी तत्काल सहमतिको प्रक्रिया तपाईंहरुले जोड्नुपर्छ,’ सभामुख नेम्वाङको भनाइ थियो ।