फेरियो कोइराला कोटरी

46
  •  
  •  
  •  

काठमाडौं १६ भदौ ।
नेपाली कांग्रेस सभापति सुशील कोइरालाले २०४६ को राजनीतिक परिर्वतनदेखि प्रधानमन्त्रीको कुर्सीमा आसीन गराउन भूमिका खेलेका सारथिलाई पाखा लगाउँदै नयाँ कोटरी बनाएका छन्।मुलुकको कार्यकारी प्रधानमन्त्रीमा निर्वाचित भएपछि कोइरालाको मुख्य कोटरीमा बिपी पुत्र शशांक कोइराला, नरहरि आचार्य छन्। उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, अर्थमन्त्री रामशरण महत, सञ्चारमन्त्री मीनेन्द्र रिजालसहितका नेता पनि कोइरालाको नयाँ कोटरीमा छन्। उनीहरू अहिले नियमितजस्तै बालुवाटार धाउँछन्। प्रवत्ता भएकाले दिलेन्द्रप्रसाद बडु पनि नियमितिजस्तै बालुवाटार जाने गर्छन्।

‘बैठक र छलफलका लागि बोलाउँदा सबै नेता पुग्नुहुन्छ,’ प्रधानमन्त्री कोइरालाका स्वकीय सचिवालयका सहसचिव सागर खनालले भने। खनालका अनुसार उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र कानुनमन्त्री नरहरि आचार्य दिनहुँजस्तो बालुवाटार पुग्ने गर्छन्।
त्यति हुँदाहुँदै पनि राजनीतिक समस्या आउँदा प्रधानमन्त्री कोइराला बिपी पुत्र शशांकसँग धेरै भरपर्ने स्रोतको भनाइ छ । २०४६ सालदेखि कोइरालाको कोटरीमा रहेका दिलबहादुर घर्ती र आनन्दप्रसाद ढुंगाना बैठकमा बाहेक बालुवाटार जाँदैनन्। संगठन विभाग प्रमुख ढुंगाना, घर्ती मात्रै होइन, कोइरालाका पुराना सारथि फर्मुल्लाह मन्सुर, पद्मनारायण चौधरी, मानबहादुर विश्वकर्मालगायतका नेता पनि अहिले कोइरालादेखि टाढिएका छन्। मन्त्रिपरिषद विस्तारपछि असन्तुष्ट घर्ती केही दिनअघि प्रमुख दलको बैठकमा सहभागी हुन मात्रै बालुवाटार पुगेका थिए।
नियमितजसो बालुवाटार गए पनि प्रवक्ता बडुसमेत कोइरालादेखि सन्तुष्ट छैनन्। मन्त्रिपरिषद विस्तारदेखि नै असन्तुष्ट बडु गत साताको सभासद मनोनयनपछि कोइरालासँग थप असन्तुष्ट रहेको स्रोत बताउँछ। त्यसो त संविधानसभा निर्वाचनदेखि नजिकिएका दीपकुमार उपाध्यायसमेत सभासद मनोनयनपछि बिच्किएका छन्।
अहिले न त कोइरालासँग पुराना सारथि नै छन् न उनी नयाँलाई विश्वासै गर्छन्। कोइरालाले आफ्नै पार्टी नेता र मन्त्रीलाई आवश्यकताभन्दा बढी अविश्वास गर्ने गरेको सुनाउँदै एक सहयोगीले भने, ‘सुशीलदा कसैलाई पनि विश्वास गर्नुहुन्न, सबैलाई शंकाको दृष्टिले हेरेपछि को आउँछ?’
प्रधानमन्त्रीनिकट स्रोतको भनाइमा कोइरालासँग अहिले ‘सुख–दुःख साट्ने नेतासमेत छैनन्। उनलाई सफल बनाउनुपर्छ भनेर सहयोग गर्ने पनि कोही छैनन्। आफ्नो स्वार्थअनुसारको काम पूरा गराउन मात्रै नेता र मन्त्रीहरू बालुवाटार पुग्ने गरेको कोइरालानिकट स्रोतको ठम्याइ छ।
यतिसम्म कि राजनीतिकदेखि अन्य भेटघाटको व्यवस्था मिलाइदिने राजनीतिक सहयोगीसमेत कोइरालासँग छैनन्। त्यसैले यो कामको जिम्मेवारी कोइरालाले आफ्नै भतिजा अतुललाई दिएका छन्। सहसचिवको नियुक्ति पाएका अतुलले बेडरुम, सचिवालयदेखि सम्पूर्ण राजनीतिक भेटघाटको बन्दोबस्त गर्छन्। प्रधानमन्त्री कोइरालाले एक महिनाअघि स्वकीय सचिवबाट लक्ष्मण ढकाललाई अवकाश दिएपछि महाराजगन्ज निवासको सामान साउन अन्तिम साता अतुलकै निवास बसुन्धरा सारिएको छ। उनलाई हुर्मत न्यौपाने र सागर खनालले सहयोग गर्ने गरेका छन्। न्यौपाने र खनाल सहसचिवको हैसियतमा बालुवाटार प्रवेश गरेका हुन्।
भतिजा अतुलपछि कोइराला मुख्यसचिव वसन्त गौतम र प्रशासनिक सल्लाहकार बाबुराम आचार्यसँग धेरै भर गर्छन्। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि कोइरालाले आचार्य, दिनेश भट्टराई, चिरञ्जीवी नेपाल र विजन पन्तलाई सल्लाहकारमा नियुक्त गरेका हुन्। कोइरालाले आचार्यलाई प्रशासनिक, भट्टराईलाई विदेश मामिला, नेपाललाई आर्थिक र पन्तलाई सामाजिक विकास सल्लाहकारमा रोजेका हुन्। मुख्य स्वकीय सचिवमा नियुक्ति पाएका गौतमले बालुवाटार हुँदै सिंहदरबार पार्टी केन्द्रीय कार्यालयसम्मको काम हेर्ने गर्छन्।
केही दिनअघि मात्र प्रधानमन्त्री निवासको सम्पूर्ण व्यवस्थापन हेर्ने गरी सुबीर खनाललाई नियुक्त गरिएको छ, यद्यपि खनालको पद निश्चित भएको छैन। ‘उहाँ (खनाल) ले गिरिजाप्रसाद कोइरालाकै स्वकीय सचिव भएर काम गरिसक्नुभएको हो,’ कोइरालाका एक सहयोगीले भने, ‘त्योभन्दा माथि के पद दिने निश्चित भएको छैन।’
कोइरालाले भान्जा रमेश भण्डारीलाई स्वकीय सचिवमा नियुक्त गरेका छन्। भान्जीबुहारी प्रभाको अधिकांश समय बालुवाटारमा नै बित्ने गर्छ। प्रभाले प्रधानमन्त्री कोइरालाको खानपान, औषधिमूलोको व्यवस्थाका साथै हरेचाह गर्ने स्रोतको भनाइ छ। त्यसो त प्रभासँगै मृदुला कोइरालाले पनि यही जिम्मेवारी सम्हाल्ने गर्थिन्। तर, मृदुलालाई मन्त्रिपरिषदको शुक्रबारको बैठकले अवैतनिक जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेको छ। ‘दुवै (प्रभा र मृदुला) आफैं प्रधानमन्त्री भएजस्तै बालुवाटारमा हैकम चलाउनुहुन्छ,’ पछिल्लो समय प्रधानमन्त्रीदेखि असन्तुष्ट रहेका एक सहयोगीले भने। ती सहयोगीका अनुसार प्रभा र मृदुलाबीचको सम्बन्धसमेत राम्रो छैन।
कोइलाको निजी सचिवालयमा मोहन आचार्य र अनिल खनालसमेत कार्यरत छन्। आर्चाय अधिकृत र खनाल सहायकको जिम्मेवारीमा छन्। समाचार र सञ्चारको जिम्मेवारी प्रकाश अधिकारीले सम्हालेका छन्। सहसचिवसरहको जिम्मेवारी तोकिएका अधिकारी प्रेस संयोजकको हैसियतमा प्रधानमन्त्रीको सचिवालयमा कार्यरत छन्। क्षयरोग, क्यान्सरका साथै विभिन्न रोगबाट पीडित कोइरालाको उपचारमा करवीरनाथ योगी नेतृत्वको चिकित्सक टोली सक्रिय छ। नागरिकबाट


  •  
  •  
  •