कोइराला र पौडेलबीच सम्बन्ध चिसिँदै

173
  •  
  •  
  •  

काठमाडौं २४ मंसिर ।
कांग्रेसको आसन्न महाधिवेशनमा कसले प्रतिस्पर्धा गर्ने भन्ने विषयले संस्थापन पक्षभित्रै सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलबीच सम्बन्ध चिसिएको छ । कोइराला आफैंले सभापतिमा निरन्तरता दिने चाहना बुझेपछि पौडेलले सभापतिको उम्मेदवारी घोषणा गरेर देश दौडाहमा निस्केका छन् । आफूसंँग सल्लाहै नगरी उम्मेदवार घोषणा गरी प्रचारमा लागेको भन्दै कोइराला पौडेलसँग रुष्ट भएको कोइराला निकटले बताइएका छन् ।

पौडेलले भने आफूले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्न बाँकी नै रहेको बताए । ‘म सल्लाह गरेर नै उम्मेदवारी घोषणा गर्छु । अहिले साथीभाईसँग सल्लाह मात्रै गरेको हो,’ पर्वतमा रहेका पौडेलले टेलीफोनमा कान्तिपुरसँग भने ।

पौडेल निकट एक सदस्यका अनुसार क्षेत्र र जिल्लाको अधिवेशन सम्पन्न नगर्दासम्म उम्मेदवारी घोषणा नगर्न कोइरालाले पौडेललाई आग्रह गर्दै आएका थिए । जुन आग्रहलाई पौडेलले संशयको रुपमा लिँदै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । ‘कोइरालाले पौडेललाई तयारी गर्न नदिने र क्षेत्र तथा जिल्लाको अधिवेशन सकिनासाथ आफैं अघि बढ्ने योजना रहेको बुझियो,’ पौडेल निकट ती सदस्यले भने, ‘खुट्टा नकमाउने गरी पौडेल अघि बढीसक्नु भएको छ ।’

माघको दोस्रो साताभित्र गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न भईसक्ने कार्यतालिका छ । संस्थापन पक्षका केही सदस्यहरु भने माघ १६ पछि संस्थापन पक्षको उम्मेदवार सुशील कोइराला नै हुने दावी गर्छन् । कोइरालाले क्षेत्र र जिल्लाको अधिवेशन नसकिएपछि ‘मुख’ नखोल्ने योजना बनाएका छन् । क्षेत्र र जिल्लाको अधिवेशन सकिएपछि कसको स्थिती सृदढ छ भन्ने तस्बिर आउने भएकाले पनि कोइरालाले त्यहाँसम्म पर्खन लागेका हुन । कोइराला निकट समूहले पौडेललाई उम्मेदवार बनाए संस्थापन पक्ष छिन्नभिन्न हुने र पार्टी नेतृत्व देउवाको ‘पोल्टा’ मा जाने भन्दै कोइरालालाई उठ्न प्रेरित गर्दै आएका छन् ।

केन्द्रीय सदस्य आनन्द ढुंगानाले संस्थापन पक्षभित्र सभापतिका लागि को उम्मेदवार हुने भन्ने बिषय निक्यौल भईनसकेको बताए । उनले पौडेलको उम्मेदवारीका बिषयमा अहिले कुनै छलफल नभएको दावी पनि गरे । ‘कांग्रेसका तीन नेताको विकल्प अहिले देखिन्न । जो आए पनि तीन नेताबाटै आउने हो,’ ढुंगानाले भने, ‘संस्थापन पक्षबाट एउटै उम्मेदवार हुन्छ ।’ पौडेलको उम्मेदवारी घोषणा बारेको प्रश्नमा ढुंगानाले थपे, ‘त्यस बिषयमा अहिले कुनै छलफल भएको छैन ।’

पौडल निकट नेता मधु आचार्य संस्थापन पक्षभित्र पौडेल नै सर्वसम्मत उम्मेदवार हुने दावी गर्छन् । ‘सुशील कोइराला प्रधानमन्त्री र पार्टी सभापति भइसक्नु भएको छ । १२ औं महाधिवेशनमा एकपटक मात्रै नेतृत्वमा बस्ने भनेर मत मागेकाले यसपटक सुशीलजीले पौडेललाई सहयोग गर्नुहुन्छ,’ उनले भने । प्रधानमन्त्री निर्वाचनमा कोइराला आफैंले उम्मेदवारी दिने निर्णय गरेपछि पौडेलले त्यतिबेलै आफू सभापतिको उम्मेदवारी हुने जानकारी कोइरालालाई गराएका थिए ।

‘तर, कोइराला केही नबोली मौन बसे,’ स्रोतले भन्यो, ‘उपचारका लागि अमेरिका जाँदा पहिलोपटक लेखेर कार्यबाहक सभापति दिए, जुन तरिकाले यसअघि कहिल्यै दिएका थिएनन् । यसले पनि कोइरालाप्रति संशय उत्पन्न गरायो ।’ कोइरालाले यसपटक पनि कार्यबाहक सभापति या संसदीय दलको नेतामा पौडेललाई फकाउन चाहिरहेका छन् । संगठनमा आफ्नो पकड नभएका कारण कोइरालासँगको प्रतिस्पर्धामा पौडेलले अन्तिम अवस्था सम्म ‘खुट्टा’ टेक्लान भन्नेमा विश्वास नगर्नेहरु पनि छन् । तर, पौडेलले यसपटक कोइराला उठे पनि उम्मवेदवारीबाट पछि नहट्ने आफ्ना निकटवर्तीहरुलाई आश्वस्त पारेका छन् ।

१३ औं महाधिवेशनमा पछि हटे त्यसपछि कहिल्यै सभापति बन्न नसकिने पौडेलको बुझाई छ । उमेर र नयाँ पुस्ताका कारणले पार्टीका शीर्ष तीनै नेताका लागि यो अन्तिम मौका हुने अवस्था बन्दै छ । जुन मौकालाई पौडेल गुमाउन चाहदैनन् । संस्थापन पक्षभित्रकै प्रभावशाली महामन्त्री कृष्णप्रसाद सिटौला कोइराला र पौडेल दुवैको विकल्पमा आफ्नो उम्मेदवारी आउने निकटवर्तीहरुलाई बताउन थालेका छन् । पार्टीलाई रणनीतिक रुपमा सबल र सक्षम बनाउन अबको नेतृत्व तीन शीर्ष नेताबाट नचल्ने ठम्याईमा सिटौला पुगेका छन् ।

संस्थापन पक्षबाट कोइराला र पौडेल दुवैको विकल्प आफूले दिन सक्ने भन्दै सिटौलाले भित्रभित्रै सभापतिका लागि उम्मेदवारीको तयारी अघि बढाएका छन् । यसअघि कोइरालाका भित्री योजनाकार र सहयोगीको रुपमा सिटौला रहेका थिए । प्रधानमन्त्री निर्वाचनसम्म आईपुग्दा उनी कोइरालाबाट टाढिएका छन् । जसले सभापति कोइरालाई अप्ठ्यारो परेको छ । संस्थापन पक्षकै कतिपय सदस्यहरुले उनको तयारीलाई पार्टी उपसभापतिका लागि ‘बार्गेनिङ’ को रुपमा लिएका छन् । सिटौलाले आफ्नो तयारी बारे केही बताउन चाहेनन् । ‘माघको दोस्रो सातासम्म मेरो कुनै पदमा घोषणा हुन्न,’ उनले भने । अर्का महामन्त्री प्रकाशमान सिंह केही समय ‘पर्ख र हेर’ को नीतिमा छन् ।
कान्तिपुरबाट


  •  
  •  
  •