काठमाडौं १२ मंसिर ।
उपचारका लागि अमेरिका गएका कांग्रेस सभापति सुशील कोइरालाले फर्केको भोलिपल्ट शुक्रबार साँझ तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेका छन् ।
महाराजगन्जस्थित कोइराला बस्दै आएको शशांक कोइराला निवासमा उनीहरुबीच एक घण्टा कुराकानी भएको हो । तीन दल र मधेसी मोर्चाबीच नौ दिनयता संवाद रोकिएका बेला कोइरालाले कांग्रेसकालदेखिका पुराना मित्र ठाकुरसँग गत्यावरोध तोड्नेबारे परामर्श गरेका हुन् ।
‘दुवैको स्वास्थ्य सोधासोध भयो, त्यसपछि जारी आन्दोलनको निकासबारे छलफल गर्यौं,’ आन्दोलनरत मधेसी मोर्चा आबद्ध तमलोपा अध्यक्ष ठाकुरले कान्तिपुरसँग भने, ‘वार्तालाई गति दिनेमा समझदारी भएको छ । छिट्टै औपचारिक वार्ता हुन्छ होला ।’ कोइराला क्यान्सर उपचारका लागि एक महिनाअघि अमेरिका गएर बिहीबार स्वदेश फर्केका थिए । ठाकुर पनि दाँतमा समस्या भएपछि केही दिनयता थलिएका थिए ।
कोइरालाले आन्दोलन रोकेर भए पनि समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए । ठाकुरले भने मूख्य दलहरु अझै ‘समस्याको जरोमा पुग्नुको साटो राष्ट्रवादको नारा घन्काउनेमा मात्रै लागिरहेको’ गुनासो गरे । ‘तपाईं पनि मधेसमै बस्नुहुन्छ, त्यहीँबाट चुनाव जित्नुभएको छ, तर किन अझै मधेसको समस्या के हो भनेर पहिचान गर्न सकिरहेको छैन भनी मैले सुशीलजीलाई सोधें, उहाँले रामचन्द्रजी (पौडेल) राजधानीबाहिर भएकाले फर्केलगत्तै कुरा गर्छु, अनि तपाईंसँग भेटेर समाधानको बाटो खोज्छु भन्नुभएको छ,’ ठाकुरले भने, ‘कांग्रेस र एमालेका नेताहरु नयाँ कुरा ल्याउनुहुन्न । प्रचण्डजी नयाँ नयाँ विकल्प त ल्याउनुहुन्छ, तर उहाँ पनि लाचार भइसक्नुभयो ।’
क्यान्सर उपचारका लागि एक महिनाअघि अमेरिका गएका कोइराला बिहीबार स्वदेश फर्केपछि राजनीतिक संवादमा सक्रिय छन् । उनले शुक्रबारै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने भनिए पनि पहिले मधेसी मोर्चाका नेताहरुसँगको संवादलाई प्राथमिकता दिदैं त्यसपछि ओलीलाई भेट्ने तय गरे । ठाकुरसँग संवाद लम्बिएसँगै शुक्रबार प्रधानमन्त्रीसग भेट्ने समय नमिलेको हुदा आइतबार कुराकानी हुने महाराजगन्ज स्रोतले जानकारी दियो ।
भेटमा कोइरालाले आफ्नो सरकारको पालामा अघि बढेको संविधान संशोधन प्रस्तावसम्बन्धी दुई विधेयक कार्यान्वयनमा सहयोग गर्न ठाकुरलाई आग्रह गरेका थिए । ठाकुरले भने सीमांकन हेरफेरसहित प्याकेजमा सहमति नगरे आफूहरुलाई मान्य नहुने अडान कायम राखे । ‘यो त हामीले सुरुदेखि नै भनिआएको माग हो, आखिर हामीले पुरानै सम्झौता कार्यान्वयनको कुरा त गरेका हौं, कुनै अलगथलग हुने भनिरहेका त होइनौं,’ उनले भने, ‘हामी संवादबाटै निकास खोज्न तयार छौं । तर सरकार र मूख्य दलहरु संवेदनशील भइदिनुपर्यो, सुशीलजीसँग मेरो यही आग्रह रह्यो ।’
कान्तिपुरबाट