सुसाइड नोट

184
  •  
  •  
  •  

T-P-Mishra-150x150

गुमाने ठुले उमेरले त्यस्तै डेढ कोरी पुगेका होलान् । थोरै भए निः परिवारकै एकमात्र पढे-लेखेका हुनाले सबै गुमानेकै भरमा छ । बजार भर्नेदेखि साहुलाई घरभाडा तिर्ने हुँदै अरू घरायसी सबै कामको डङ्गुर यिनकै काँधमा आउने गर्छ । उनको काँध पनि कति बलियो भन्या ! मेरो त्यो हबिगत हुने भए अस्ति नै काँध खुइली सक्नेथियो, असार पन्ध्रमा तारे गोरुको झैँ । उनी भने गलेजस्तो पटक्कै देखिँदैनन् । सायद पिर लुकाउन खप्पिस छन्, गुमाने । सानै छँदा यिनले बा’ गुमाउनु पर्दाको पीडा सायदै बिर्सेका होलान् । सन् १९९१ को अन्त्यतिर गुमानेकी एकमात्र दिदीलाई भुटानी सेनाका एकहुल पिपासुले आलो-पालो इज्जत लुटे । उनकी दिदीको अहिले पनि होस् ठेगानमा छैन । होस् पनि पो कसरी बिचरीको, त्यत्रो पीडाले बास पाएपछि । दिदी कमै मात्र सुरका कुरा गर्छिन् ।

‘मलाई भूटान पुऱ्याई दे भाइ, मलाई भूटान पुऱ्याई दे तुरुन्त’, भन्दै मध्यरातमा एक्कासि फत्फताउँछिन् रे ।

मलाई सानो भाइ भनेर बोलाउँछिन् । उनीसँग हरेक पटक कुरा गर्दा मेरो नाम सोध्छिन् । बिचरी, दिमागमा एउटा नामसम्म अँटाउन सक्ने ‘ठाम’ छैन, उनको । ‘अम्रिका’ आएपछि दिदीलाई ओखती-मुलो गर्न अस्पताल वसार-पसारमा गुमानेले निकै समय खर्चिसकेका छन् । दिदीलाई सञ्चो पारेर एउटा भिनाजु जुराइदिने उनको पुरानै इच्छा हो ।

“अझ एउटी भाञ्जी दिदीका काखमा देख्नपाए कस्तो हुन्थ्यो होला?”, गुमानेले आशा पह्लाउँदै-मार्दै गरेका छन्, त्यो मलाई राम्ररी थाहा छ ।

उनका सोझा बा’ भुटानी आर्मीलाई गुरुङ मण्डलको घर नदेखाएको निहुँमा त्यहाँ जेल परे । ‘उ बेला’ बिना कसुर अरू मान्छेहरू पनि जेल पर्थे । गुमानेका बा’ जेलमा खाएको पिटाइकै कारण ओखतीको कमीले झापा नेपालमा स्वोर्गे भए । यसरी नै अरू दर्जनौं निर्दोष मानिसको भुटानी शासकले जेलमै सबै रगत चुसे’थ्यो । गुमानेका बा’लाई एक महिनासम्म निरन्तर उँधै-उँभैले च्यापेको थियो । यहाँसम्म कि उँधो र उँभो दुवैतिरबाट यिनले निरन्तर रगत फ्याँकी रहे । हामी छिमेकीहरु टुलुटुलु हेरेर बस्न विवश थियौँ, अर्को उपाय थिएन ।

त्यसो त कुटाइ खाएका, नखाएका, बिरामी परेका हुन् वा सारसौंदै- सबैलाई सुरु-सुरुमा निकै हम्मे परको थियो, पूर्वी नेपालको माईधार शरणार्थी शिविरको स्थापना ताका । हैंजा, भोकमरी र अन्य थुप्रै कारण माईनदी कयौँको ज्यान स्वीकार्न बाध्य थिइन। बिचरी, माईनदी कति रोइन् होला । नरोउन् पनि कसरी, उनी नेपालकी गंगानदी हुन्, सबैकी प्यारी । जून जस्ती दूधे नाबालक, मेरी भतिजी अनि चन्द्रमा जस्ती घरकी आमै गुमाउँदा म पनि खूब भक्कानिएको थिएँ ।

भतिजी बाँचेकी हुँदी हुन् त अहिले म सायद हजुरबा भइसक्थें, धिक्कार छ तँलाई, जसले गुमाने र उनकी दिदीको खुसी लुट्यो, मेरी भतिजी र आमैलाई हैंजाका भुमरीमा घचेडी दियो, थत् म त शासकलाई पो सराप्न पुगेंछु ।

बा’ बितेसँगै गुमाने घरको ‘मूल खाँबो’ बने । उनले सात ‘कलास’ मात्र पढेका छन् । त्यसपछि उनले चाहेर पनि पढ्न पाएनन् । उनको त्यस बेलाको दिमागको मलाई अझै लोभ लाग्छ । उनी बाल्यकालमा केमा पो कम थिए र? नियती पनि कति अनौठो ? नत्र अहिले मेरो र उनको औपचारिक शिक्षाको तह बराबर नै हुनेथ्यो शायद । अझै पनि, म स्वीकार गर्छु, उनी मभन्दा सायदै कम छन् । बरु म चैँ उनीभन्दा निकै पछाडि हुनुपर्छ । उनको जुत्तामा जो कोहीले खुट्टा हालेर आफूलाई उभ्याउन गाह्रो पर्छ, हम्मेसी सक्दैन । अरू के कुरो गर्नु, कम्तीमा मैले चैँ त्यसो गर्न सक्दिनँ । उनी समस्यै-समस्याको जालोमा माकुरो झैँ बेह्रिएर पनि आजसम्म हाँसेकै छन् । गुमानेकी आमा पिण्ड रोगी छिन् । दिदी र आमालाई उतिकै अस्पताल लानुपर्ने बाध्यता छ । दुईजना भाइ आफ्नै पाराका लैफुंगा छन् । दुवै भाइ समाजकै लागि भए निः विद्यालय भने धाउने गरेका छन् । कोइ-कोइ बेला भने दिनभर पलङ्गमै देखिन्छन् रे । फुर्सदमा कम्प्युटर चलाउँदा र जुल्फी मिलाउँदा नै दिन बित्छ उनीहरूको । अनि अरुबेला छातीमा सेतो तेंद्रो झन्डाउँदै कानमा ठेंडी खाँदेर सुके जिउ लर-लर लर्काउँदै, गाना सुन्नमै व्यस्त छन् रे, दुवैजना ! गुमानेका भाइहरु ‘फेसबुकको भित्ता’मा उत्तानो, घोप्टो, चेप्टो, नेप्टो, सुतेको, लडेको, उठेको, हिँडेको, खाएको, हाँसेको, नहाँसेको, निरासिएको अनि अरू त्यस्ता थुप्रै पाराका फोटाहरु हाल्नमै व्यस्त छन् ।

“मेरा भाइहरु भित्र लाउनुपर्ने कुरो समेत पाइन्टबाहिरै लाउँछन्”, गुमाने सम्झन्छन् । “त्यसो त वोल्लो-पल्लो घरका ठिटा निः त्यस्तै छन् । होइन यो कस्तो जुग आको भन्या”, उनी व्यङ्ग गर्छन् । के गर्ने र गुमाने, समय अनुसार चल्नै पऱ्यो, भनी दिउँकी जस्तो लाग्छ । गुमानेले फेरि थपे, “आजकलकाहरु प्रायः सबै अवारा होलान् जस्तो छन् यार ।”

गुमाने दिनको दशघण्टा काम गर्छन्, हप्ताको छ दिन । बेस्सरी थकान नमारेको निकै बर्ख भो । लगनगाँठो कस्ने बारे सोच्न पनि भ्याएका छैनन् जस्तो छ । केही महिना यता उनी निकै निराश भएको जस्तो लाग्छ मलाई, अलि बाक्लै फोन सम्पर्क हुन्थ्यो, त्यो पातलो भएको छ, हुँदा पनि निकै लामो गफ हामी गर्ने गर्थिउँ । जीवनयापनको सङ्घर्षमा उनले दुवै हात उठाएजस्तो लाग्छ । पिउन नहुने विषादी झोलको निकै सेवन गर्नथालेका छन् रे । साहु कहाँ बेला-बेला खेतालो नगएको पनि निकै भइसकेछ ।

“भाइले फ्यालेको सुर्तीका ठुटाले एउटा गतिलो रातो भालेका पुरै भुत्ला जरैबाट उखेल्न मिल्ने पानी तताउन सकिन्छ”, मैले फोन घुमा’को बखत गुमानेकी दिदीले सुटुक्क कानेखुसी गरेको । फोनमा यो कुरा सुनेर मलाई दिदी निकै सञ्चो, होसका कुरा गर्ने भइछन् जस्तो लाग्यो । धन्न ‘अम्रिका’ आईछन बिचरी, पहिलेकै अवस्थामा नपुगे पनि मलाई यतिको सन्देश दिनसक्ने भइन्, धेरै धेरै खुसी लाग्यो।

गुमाने मेरो सम्पर्क बाहिर छन् आजकल । एउटा हितैषी भएकोले मैले गुमानेलाई फोनमा बात गर्ने प्रयास गरेको आज पुरापुरी दुई साता’ भैसक्यो। फोनमै गडेको एउटा युवतीको आवाज– जसले सन्देश छोड्न मात्र लाउँछिन्– हो, त्यही आवाज मात्र सुनिन्छ । मेरा दर्जनौं सन्देशलाई उनले फर्काएका छैनन् । या भनौं मलाई उनले फोन गरेका छैनन् । उनलाई सम्पर्क गर्ने प्रयास भने गरिनै रहेको छु । मेरा मनमा थरी-थरीका कुराहरू खेलिरहेका छन् ।

म उकुस-मुकुस भएको छु । मेरी सानी एक प्रकारकी छिन् । उनी मलाई पढी रहन्छिन् अनि केही विशेष बखत मलाई सावधान गराउँछिन् । म साँच्चिकै चिन्तित छु रे हिजो-आज , सानीले भनेको ।

बिचरा, गुमाने आज जीवनदेखि हारेको जस्तो छ, मेरो मनले भन्छ । जीवन त सुख र दुखको संगम भन्थे, तर के आज दुखमा भएकाहरुलाई भोलि सुख मिल्दैन त? मिल्छ निः किन नमिल्नु, समय आफैँमा एउटा मह्लम हो, धैर्यता मात्र हुनुपर्छ, मेरो मनले मलाई भन्छ ।

एक महिना पछि बल्ल गुमानेको फोन आयो । हत्तपत्त उठाएँ । “फेस्बुकाँ’ म्यासेज हेर न ल”, यति भनेर उनले फोन फ्याट्ट राखे ।

यो सुन्ना साथ् मेरो मनमा खुल्दुलीले बास पायो, लामो सास फेरें । त्यसका बाजे- यतिनै बेला फेरि मेरो ठाँडो (फोन) निभेछ । म एउटा बैठकमा छु । अबको दुई घण्टामा मात्र घर पुग्छु । मलाई त्यो दुई घण्टा दुई दिनसरह भो । बैठकमा त्यसपछि के के कुरा भए साँच्चै भन्नुपर्दा मलाई थाहै भएन ।

घरमा पुगेर हतार हतार कम्पुटर खोलेँ, हातले लेखेको एउटा सानो कागजको च्यातेको टुक्राको फोटो पठाएका रहेछन्, म्यासेजमा ।
“म आज जीवनदेखि हारेको छु । मेरी दिदी र आमाको खोइ कसले हेर-विचार गरदिन्छ मलाई नै थाहा छैन । मलाई …… गर्नु…”

त्यो च्यातिएको कागजमा लेखिएका शब्दहरूले मलाई निकै भावुक बनाए । मेरा मनमा खाल-खाले कुराले बास पाए । मेरो हंशले ठाउँ छोड्यो । तुरुन्तै गुमानेलाई फोन गरेँ । उनले फोन उठाएनन् । म झन् आतिएँ । फेरि फोन गरेँ, अहँ उठाएनन् । नजिकैको प्रशासनलाई खबर गर्नु आफ्नो दायित्व सम्झें । कम्तीमा मैले उनको ज्यान जोगाउन त सक्थें । यतिकैमा उनको फोन आयो । मैले फोन उठाउन साथ् उनले नालीबेली कहे । हिजोमात्र उनले धर्ती छोड्ने प्रयास गरेका रहेछन् । यो सुन्ना साथ् उदेक लाग्यो मलाई ।

लामो सास् फेर्दै सोधेँ, अनि के भएर मन फर्कियो त फेरि?

“सुसाइड नोट मेरो पाइन्टको खल्तीमा हालेको थिएँ । दिदीले खोइ के खोज्नु परेकोले मेरो खल्तीमा भेटिछन्”, उनी एकछिन् बोलेनन् ।

अनि के भो त त्यस पछि? मैले फेरि सोधेँ ।
उनी निकैबेर अक्मकिए । धेरैबेर बोलेनन्। मैले फेरि झस्काएँ उनलाई र मसँग बोल्नको लागि भनेँ ।

“भाइ, तैँले बुझ्नुपर्छ, यो जीवन अमूल्य छ, मैले जति पीडा अरू कसले पाएको होला र? तै पनि म आज हाँसेकी छु, जीवनसँगको लडाइँमा मैले हार्ने छैन । तँलाई धेरै दुःख परेको छ, मलाई थाहा छ । तर तैँले अरूसँग सहयोग माग्नुपर्छ । समस्याबाट भागेर जितिँदैन , समस्यालाई सहज मानेर स्थितिको सदुपयोग गर्न जान्नुपर्छ, तेरा समस्याबारे तैँले अरूसँग कुरा गर्नुपर्छ । त्यो ‘संस्थामा’ काम गर्ने पौडेल गोरे भाइ निकै सहयोग गर्ने खालको छ भनेको सुनेकी छु । पिता बितेको बखत हामीलाई निकै सहयोग गर्ने अहिले माछाचुसे (म्यासाचुसेट्स) मा भएको मगर बिरेसँग पनि बात गर्नु । सायद उसले सहयोग गर्नसक्छ तँलाई । झन्डेर मर्नु राम्रो होइन । यसले त झन् अरू बाँच्नेलाई जीवनभर पीडा दिनेछ । मरेर जानेलाई बर्सौंसम्म सराप्छन्, त्यो तलाई राम्रो थाहा छ । एकचोटि आमालाई राम्ररी हेर त, तँलाई हेरेर अझै बर्सौं बाँच्ने पुकारा गरिरहेकी छन् ।”

“दिदीले मेरो कागज च्यातेर यी कुरा लेखेर राखिछन् मेरो गोजीमा”, उनले अक्मकाउँदै भने ।
अनि के भो? मैले फेरि सोधेँ ।

“मैले आफ्नै जीवन अन्त्य गर्नुअघि मैले लेखेको नोट हेर्ने विचार गरेर पाइन्टको खल्ती हेरेँ । मैले मेरो नोट भेटिनँ, दिदीको पो भेटें । त्यो पढेर मेरो मन फर्कियो । दिदीले अघि मात्र मलाई फोनमा घर आउन साथ आफ्नों कालो पैन्टको गोजी भित्रको संदेश पढेर मात्र अरू निर्णय लिन सुझाएको कुरो बल्ल बुजें। सायद दिदी ढुक्क थिन उनको सन्देशले मेरो मन फर्किन्छ भन्नेमा। नत्र मेरो नोट हेर्ना साथ उनले गुहार माग्नु पर्ने हो। भोलि म पौडेल गोरेलाई लिएर डाक्टरकहाँ जाँदैछु । मैले मगर बिरेलाई त् फोन गरी सकें। उसले धेरै हौसला दियो मलाई। अर्को महिना उ मलाई भेट्न आउछ रे, यसो दु:ख-सुखका कुरा गर्न “, गुमानेले थपे ।

समयको पनि पखेटा हुँदो रहेछ, छिटो-छिटो उड्ने । आज म बसेको गाउँमा परेको हिउँले एक वर्ष पहिलेको यो कुरो याद दिलायो । गुमाने अहिले दिउँसो नजिकैको एउटा तालिम केन्द्रमा गाडी मर्मतबारे सीप सिक्दैछन् । अनि रातीको केही समय पहिलेको भन्दा अलिक राम्रो नोकरी पनि गर्दैछन । केही दिन पहिले मलाई उनले फोन गरे । आङ्ग पनि जिरिङ्ग भो, एक्कासि बजेको फोनको घन्टीले । बा त उनलाई केही भयो कि भनेर फेरि सम्झिएँ ।

“मेरो बिहा’को निम्तो दिन फोन गरेको तिम्लाई “, भन्नलाई पो रहेछ।
“खुसी लाग्यो, ल बधाई छ,” मैले भने।

दिदी छिमेकी उमाकान्तेसँग बन्धनमा बाँधिइछिन्। अहिले दिदीलाई निकै सञ्चो भएको पनि बताए, उनले । त्यसो त संग्लो पानी, सुर्ती केही पिउँदैनन रे अहिले, गुमाने । अहिले त् आमा पनि ओछ्यानबाट पुरै उठेकी छिन। आजकल चिने-जानेकालाई आफूले भोगेका सबै कुराहरू खुलेर भन्दा रहेछन् । आत्महत्या अरूले भन्दा बढी आफैँले रोक्न सकिन्छ रे, गुमानेले भन्या । खुबै गदगद भएँ म ।

“दिदीले म भन्दा तीन किलास कम पढेको हो । तर मभन्दा नि महान् रहिछन् यार, मेरो दिदी । आज मैले नयाँ जीवन पाएँ । मेरी दिदीले मेरा आँखा खोलिदिइन् । मैले जीवनको महत्व बल्ल बुझें”, गुमाने भन्दै थिए ।

आउने साता म उनको बिहे’ मा जाँदैछु । त्यसो त यिनकी दुलही पनि मेरी अन्तरी फुपू पर्नेकी छोरी पो रहिछन् ।
“ठिक छ ल बिहेमा भेटुँ”, मैले फोन राखें । bhutaneseliterature.com


  •  
  •  
  •