वरिष्ठ गायिकाको उपनाम पाउन सकूँः गायिका पाठक

1237
  •  
  •  
  •  

नेपाली गायन क्षेत्रमा छुट्टै पहिचान बनाउने लक्ष्यका साथ गायिका सुशीला पाठक अगाडि बढिरहेकी छिन् । सानैदेखि गुनगुनाउने पाठक पाँचवर्षदेखि निरन्तर म्युजिक क्लासमा छिन् । गीतसंगित जति सिकेपनि अधुरै हुने बताउने पाठकसँग गरिएको कुराकानीको सम्पादित अंशः

कसरी लाग्नुभयो गायन क्षेत्रमा ?
सानै देखि गीत गुनगुनाउथेँ । स्कूलमा धेरै गीत गाएँ । फस्ट पनि भएँ । सवैजनाले भोकल राम्रो छ भनेपछि थप हौसला मिल्यो । पाँच वर्षदेखि निरन्तर म्युजिक क्लासमा छु ।

पाँच वर्षमा गीतसंगितको क्षेत्रमा चाहिँ कति काम गर्नुभयो ?
सुरुको दुई वर्ष त म्युजिक क्लास मात्र लिएँ । सरले स्टुडियोमा भोकल गराउन सुझाव दिनुभएपछि गायन यात्रा अगाडि बढ्यो । आफ्नै एल्वम ‘सप्तरंगी’ पनि निकालेँ । गीत गाउने र सिक्ने यात्रा जारी छ ।

बाहिरबाट हेर्दा र आफैँले अनुभव गर्दा के फरक पाउनुभयो ?
पहिला स्कूलमा धेरै गीत गाइन्थ्यो । अरुको गीत गाउँदा भयंकर गायिका नै हुँ जस्तो भान हुन्थ्यो । जव म म्युजिक क्लास लिन थालेँ, गुरुहरुले सरगम सिकाउन थालेपछि गीतसंगित कति गाह्रो हुँदोरहेछ भन्ने बल्ल थाहा भयो । त्यसपछि ‘म केही पनि रहेनछु, धेरै गर्न बाँकी रहेछ’ भन्ने फिल भयो । जति सिक्यो, त्यति नै सिक्न बाँकी हुँदोरहेछ ।

तपाईको लक्ष्य के ?
सवैले चिनोस, वरिष्ठ गायिकाको उपनाम पाउन सकूँ भन्ने लाग्छ । मीठो–मीठो गीत दर्शक, स्रोतमाझ ल्याउन पाउँ, मर्ने बेलामा चर्चित गायिका भन्ने पद पाइयोस भन्ने छ । त्यसैले तनमन नै गितसंगितमै लगाइराखेको छु ।

यो गायिका जस्तो बन्छु भन्ने केही छ ?
म छुट्टै पहिचानको साथ अगाडि बढ्न चाहन्छु । सुशील पाठक भनेर नै सवैले चिनुन् भन्ने लाग्छ । भोकल राम्रो छ, मिहेनत गरेर आएकी रहिछिन् भन्ने उदाहरण बन्न चाहन्छु ।

सानोमा चाहिँ को बाट प्रभावित हुनुभयो ?
सानोमा कुन्ती मोक्तानको गीत मन पथ्र्यो । अहिले सिक्ने क्रममा अरुणा लामा, तारादेवि, गोपाल योञ्जन, नारायण गोपालकोमा अभ्यास गरिराखेको छु ।

आजको दिनमा आफूले आफैँलाई कुन लेवलमा राख्नुहुन्छ ?
अहिले जिरो लेवलमै छु भन्ने लाग्छ । म्युजिकमा यहाँ पुगेँ, त्यहाँ पुगे भन्ने हुँदैन । जति डुब्दा पनि गहिराई भेट्न सक्दैनौँ । मेरो गुरुहरु पनि सिक्ने क्रममै हुनुहुन्छ । पहिला भन्दा मैले धेरै सिकेँ, बुझेँ । अझ धेरै सिक्न बाँकी छ । म्युजिकमा निरन्तर लाग्ने सोच भएकाले स्वरलाई निखार्दै छु ।

बिहेपछि कतिपय कलाकार हराउँछन नि ?
बिहेपछि पनि म्युजिकमै लाग्न चाहन्छु । त्यसैले हुनेवाला श्रीमान म्युजिक बुझेको होस भन्ने चाहना छ । म्युजिक पनि जीवनको एउटा पार्ट हो भन्ने बुझ्ने केटासँग बिहे गर्न चाहन्छु । उहाँ आएर मेरो म्युजिक लाइफमा झन सहज भयो भन्ने होस ।

बिहे चाहिँ कहिले गर्ने ?
२–४ वर्षपछि गर्नुपर्ला । अहिलेसम्म बिहेको बारेमा सोचिसकेको छैन । पहिला आफ्नो करिअर बनाऔँ ।

गीतसंगितमा मायाप्रेमका कुरा धेरै हुन्छन, तपाईको बुझाइमा माया के हो ?
मायालाई म एकदम सकारात्मक रुपमा लिन्छु । संसार मायामै अडेको छ । आमाबुबा, दाजुभाई, दिदीबहिनी, साथीभाई सवैसँग माया हुन्छ । मायालाई कुन रुपमा बुझ्ने भन्ने विषय व्यक्तिमा भरपर्छ ।


  •  
  •  
  •