कोइरालाले पनि भने “ब्रेक थ्रु हुन्छ”

112
  •  
  •  
  •  

काठमाडौं, २४ माघ (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले पनि संविधान निर्माणका विषयमा दलहरुका बीचमा सहमति जुट्ने अर्थात ब्रेक थ्रु हुने बताएका छन् । एकीकृत नेकपा माओवादी सहितको गठबन्धनसँग वार्ता हुने बताउँदै प्रधानमन्त्री कोइरालाले दलहरुका बीचमा देखिएका समस्याका सबै बादल हट्ने विश्वास व्यक्त गरे ।

उनले भने, “केही दिनभित्रमा संविधान लेखनका विषयमा दलका बीचमा देखिएका समस्याका सबै बादल हट्ने छन्, अविश्वास र तिक्तता हट्छ, ब्रेक थ्रु हुनेछ, हामी वार्तामा बस्नेछौं ।” नयाँ संविधानबाट सबै वर्ग, क्षेत्रका जनताको हक अधिकार सुनिश्चित हुने भएकोले संविधान लेखन अहिलेको प्राथमिकता रहेको उनको भनाइ थियो ।

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको पन्ध्रौँ साधारणसभालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले बाह्रबुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका राजनीतिक दल नै लोकतन्त्रलाई रक्षा गर्ने शक्ति भएको पनि कोइरालाले उल्लेख गरे ।

उनले भने, “जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्न छिटो संविधान चाहिएको हो, यसका लागि दलले बोलचाल बन्द गर्ने होइन, वार्ता र संवादको टेबलमा आई त्यही निकास खोजिनुपर्छ ।”

आफुले एमाओवादी अध्यक्ष प्रचण्डकै निवासमा पुगेर वार्तामा बस्न आग्रह गरेको बताउँदै प्रधानमन्त्री कोइरालाले सकारात्मक संकेत पाएकोले एक/दुईदिन भित्रमा वार्ता सुरु हुनेमा आशावादी रहेको प्रतिक्रिया दिए । “वार्तामा नआई कसैलाई सुखै छैन, वार्ताभन्दा अन्यत्र कहाँ जाने ?” उनले थपे ।


  •  
  •  
  •