संविधान नबन्नु सूर्यलाई हत्केलाले छेकेजस्तैः प्रधानमन्त्री

129
  •  
  •  
  •  

sushil_koirala20130701002काठमाडौ, २४ कात्तिक(ओएनएस) : प्रधानमन्त्री सुशील कोइ‍रालाले आगामी माघ ८ गतेभित्र नयाँ संविधान जारी गर्नका लागी कसैले रोक्न नसक्ने बताएका छन् ।
सर्वमान्य नेता गणेशमान सिंहको जन्म शताब्दीका अवसरका ‘गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति शान्ति प्रतिष्ठान’ द्धारा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री कोइरालाले नयाँ संविधान बन्ने यात्रालाई रोक्नु सूर्यलाई हत्केलाले छेक्नुसरह भएको बताएका छन् । उनले अब मुलुकमा कसैको डर, धम्की र जोरजबर्जस्ती तथा बन्दुकको राजनीतिक नचल्ने दावी गर्दै संविधान निर्माणको यात्रा पूरा भएरै छाड्ने अठोट व्यक्त गरेका छन् ।

उनले सम्बोधनका क्रममा भने, “हामीलाई त्यस प्रकारको दृढता र प्रतिबद्धता सर्वोच्च नेता गणेशमानले दिनुभएको छ, हामी प्रजातन्त्रका मूल्य, मान्यता र आदर्शबाट विचलित नभई नेपालीको शीर माथि उठाउने यात्रामा अघि बढिरहनेछौँ ।”

प्रधानमन्त्रीले आफूहरू सहमतिमा संविधान निर्माण गर्ने पक्षमा रहेको भन्दै प्रजातन्त्रमा आफ्ना आस्था र विचार राख्न पाउने सबैको हक भएकाले विवादित विषयलाई राजनीतिक संवाद तथा सहमति समितिमा निर्णय नभए संविधानसभाको बैठक र जनस्तरमा छलफलमार्फत विवादित विषयलाई टुङ्ग्याउन समितिका सभापति डा. बाबुराम भट्टराईलाई आग्रह गरेको बताए ।

उनले आफूले आइतबार मात्रै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुराकानी गरेको सुनाउँदै तर्साउने र धम्काउने प्रकारका अभिव्यक्ति नदिन आग्रह गरेको जानकारी दिए ।

प्रधानमन्त्री कोइरालाले हालै भारतसँग गरिएको ऊर्जा विकास र व्यापारसम्बन्धी सम्झौतामा नेपाल तल पर्ने कुनै काम नभएको स्पष्ट पारेका छन् ।

कार्यक्रममा सभामुख सुवास नेम्बाङले सत्तापक्ष पत्रकार सम्मेलन र प्रतिपक्ष आमसभामा उत्रेर आफ्ना कुरा राख्ने क्रमलाई छाडेर आफैँले बनाएका संविधानसभा र सम्बन्धित संयन्त्रमा बसेर छलफल गरेर टुङ्गोमा पुग्न ध्यानाकर्षण गराए ।

उनले माघ ८ गतेको मूल कार्यतालिकामा परिवर्तन गर्न नसकिने भन्दै आसन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलनमा आउने विदेशी विशिष्ट पाहुनाले कात्तिक मसान्तमा संविधानको मस्यौदा बन्ने भनेको होइन भनी सोधेमा जवाफविहीन हुनुपर्ने अवस्था अन्त्य गर्न आग्रह गरेका छन् । कार्यक्रममा उनले भने, “नेताहरूले सबै सहमति भइसकेको छ, निर्णय गर्न दुई घन्टामात्र भए पुग्छ भन्नुभएको छ तर त्यसका लागि पनि बैठक त बस्नुपर्यो । बाहिर बाहिर बोल्दै हिँडेर कहाँ सहमति हुन्छ ?”


  •  
  •  
  •