मधेसी मोर्चाका मागलाई वेवास्ता नगरौ : सभापति कोइराला

328
  •  
  •  
  •  

पोखरा, १७ पुस(ओएनएस) : नेपाली कांगेसका सभापति सुशील कोइरालाले तराईमा आन्दोलनरत मधेसी मोर्चाको मागलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

कांग्रेसको कास्की पार्टी कार्यालयमा कार्यकर्ताहरूसँगको भेटका क्रममा सभापति कोइरालाले मधेसी मोर्चाले राखेका जायज माग पुरा गर्नुपर्ने आवश्यकता औल्याएका छन् । उनले वार्ता नै अहिलेको समस्याको समाधान भएको भन्दै मंधेसी मोर्चाका मागलाई वेवास्ता गर्न नहुने भनाई राखेका छन् । उनले माओवादीको १० वर्षे युद्धको माग पुरा भएको स्मरण गर्दै मधेसी मोर्चाका माग पनि पुरा गरिनुपर्ने बताए ।

सभापति कोइरालाले आसन्न महाधिवेशनलाई लिएर फरक-फरक प्रचारबाजी गर्नु राम्रो नभएको बताउँदै सबै एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताएका छन् । उनले आफूले प्रधानमन्त्री हुँदाको अवस्थामा केही गल्ति गरेको भए ती गल्ति कमजोरी औल्याइदिन आग्रह गर्दै आफ्नो विषयमा कार्यकर्ताले नै निर्णय लिनुपर्ने बताएका छन् ।

१२ औ महाधिवेशनका लागि एकता आवश्यक रहेपनि त्यो हुन नसकेको स्वीकार गर्दै कांग्रेसभित्र नै दुई पार्टी हो की भन्ने भान आफूलाई परेको बताएका छन् । पार्टीभित्रका समस्यालाई समाधान गरेर कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढ्नका लागि सबैलाई आग्रह गरेका छन् ।

उनले पार्टीभित्र अराजकता बढेको र अनुशासन कमजोर भएको भन्दै भने, ‘पार्टीभित्र रहेको अराजकता र अनुशासन हटाऔ । फलानो र ढिस्कानोको पार्टी भनेर एक-अर्कालाई आरोप लगाएर हुँदैन । असन्तुष्टीलाई निर्धक्क भएर राखौँ र त्यसलाई कम गरेर अगाडि बढौँ । नेताहरू विभाजन गर्ने काम कसैले पनि नगरौँ ।’


  •  
  •  
  •