नदीनाला बेचिएका कुरा हल्लामात्रः प्रधानमन्त्री कोइराला

372
  •  
  •  
  •  

sushil_koirala20130701002काठमाडौँ, १६ मंसिर(ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले मुलुकको हित विपरित कुनै पनि सन्धी सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली काँग्रेसका नेता भीमबहादुर तामाङको तेस्रो पुण्यतिथिका अवसरमा नेपाल तामाङ सङ्घले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले मुलुकका प्राकृतिक स्रोतसाधनको सदुपयोगका लागि आवश्यक पर्ने वैदेशिक लगानीका सम्बन्धमा भएका सन्धिसम्झौतामा नदीनाला बेचिएको हल्ला आएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरेका छन् ।

सङ्घीयताका सम्बन्धमा आफू कमभन्दा कम प्रदेशको पक्षमा रहेको प्रधानमन्त्री कोइरालाको भनाई छ । उनले भने, ‘ संसद् भवनसम्म बनाउन नसकिएको अवस्थामा धेरै प्रदेश बनाउँदा मुलुकको अर्थतन्त्रले धान्दैन ।’

नेता तामाङले देखाएको आदर्श र इमान्दार राजनीतिको बाटामा हिँड्न समग्र पार्टीपक्तिलाई निर्देशन दिएका छन् । उनले तामाङप्रति सच्चा श्रद्धासुमन व्यक्त गर्न शान्ति र लोकतन्त्रको संस्थागत विकास गर्दै निर्धारित समयमै संविधान जारी गर्नुपर्ने बताए ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य एवम् भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानका संयोजक डा. शशाङ्क कोइरालाले तामाङको इमान्दार व्यक्तित्व र आदर्श विचारले पार्टीलाई आजसम्म पनि ऊर्जा दिइरहेको बताए ।

नेता तामाङलाई दाहसंस्कार गरिएको स्थान स्वयम्भूमा प्रधानमन्त्री कोइरालाले छ्र्योर्तेन तथा सालिक शिलान्यास गरे ।


  •  
  •  
  •