आफ्नैबाट घेरिँदा संकटमा सुशील

153
  •  
  •  
  •  

sushil-khumbahadurकाठमाडौं, २३ कात्तिक : संविधान जारी गर्ने पूर्वनिर्धारित समय र आफैद्धारा घोषित आफ्नो पदावधिको सीमा नजिकिँदै जाँदा प्रधानमन्त्री सुशील कोइराला संकटमा परेका छन् । पार्टीभित्र र बाहिरको दबाब र तनावका कारण कोइराला संकटमा परेका हुन् । पार्टीभित्र खुमबहादुर खड्काले सुरू गरेको हिन्दूराज्य पुनःस्थापनाको अभियान, पार्टी सञ्चालनमा वरिष्ठ नेता शेरबहादुर देउवाबाट देखिएको असहयोग, सरकारबाट आफूअनूकल निर्णय गराउन रामचन्द्र पौडेलको दबाब र संविधान निर्माणमा देखिएको अन्योलले उनी संकटमा परेका छन् । त्यसैले उनी केही दिनदेखि तनाबमा रहेको बालुवाटार स्रोतले जनाएको छ । कांग्रेसले एमालेसँग मिलेर सहमतिका लागि अघि सारिएको संघीयतासहितको प्रस्तावमा पार्टीभित्रकै सभासदबाट आएको असन्तुष्टिले उनलाई झन् समस्यामा पारेको छ । प्रधानमन्त्री निकटका एक नेताका अनुसार, कोइरालाले पार्टीभित्रै र बाहिर दुवैतिरबाट आफूलाई असहयोग गरेको महसुस गरेका छन् । राजनीतिक संक्रमण पार लगाउन प्रभावकारी भूमिका खेल्न नसकिरहेकै बेला उनी प्रधानमन्त्री कार्यालय सिंहदरबार पनि कम जाने गरेका ती नेताले बताए । शुक्रबार साँझ उनले आफूनिटस्थ नेताहरूसँग अनौपचारिक छलफल गरेका थिए । नेता दीपकुमार उपाध्याय, कृष्णप्रसाद सिटौला लगायतका केही नेताहरुलाई उनले सरकारी निवास बालुवाटारमा बोलाई समस्या समाधानबारे परामर्श गरेका थिए । नेता खड्काले सुरू गरेको हिन्दूराज्यको अभियान र त्यसमा पार्टीभित्रैबाट जिम्मेवार नेताहरूको साथ रहनुलाई उनले गम्भीरतापूर्वक लिएको स्रोतको भनाइ छ । तर, त्यसबारे अहिलेसम्म कुनै पनि धारणा सार्वजनिक भने गरेका छैनन् । खड्का कोइरालाई संकटमा पार्न नै अग्रसर देखिएको उनको विश्लेषण छ । ‘सत्ता साझेदार दल एमालेबाट पनि राम्रो सहयोग नभइरहेका बेला पार्टीभित्रैबाट झन् ठूलो असहयोग किन भइरहेको छ ?’ निकस्थहरूसँगको छलफलमा प्रधानमन्त्री कोइरालाको प्रश्न थियो । सहयोगी नेताहरुले तत्काल खुमबहादुर खड्काका अभियानका विषयमा सार्वजनिक टिप्पणी नगर्न तर आन्तरिक रुपमा छलफल गर्न सुझाएका छन् । कांग्रेस नेता दीपकुमार उपाध्यायले प्रधानमन्त्री पार्टीभित्रै र बाहिरको निकास खोज्न छलफलमा रहेको ओएनएसन्यूजलाई बताए । उपाध्यायले भने, ‘राजनीति नै संकटमा भएका बेला केही अप्ठ्यारो पर्नु स्वाभाविक हो । त्यसलाई छलफलबाट निकास दिने प्रयत्न जारी छ ।’ खुमबहादुर खड्काले खुला रूपमा अप्ठ्यारो पार्न खोजे पनि उपसभापति पौडेल, उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले भित्र अप्ठ्यारो पारिरहेको प्रधानमन्त्रीको भनाइ छ । ‘पौडेल आफू अनुकुल नियुक्तिको दबाब दिने, मन्त्री सिंह प्रधानमन्त्रीसँग कुनै परामर्श नगर्ने, अरू मन्त्रीबाट पनि प्रधानमन्त्रीले सरकार सञ्चालनमा सहयोग लिन नसक्दा अप्ठ्यारो भएको छ’ एक नेताले भने । सत्ताको सहयात्री एमालेबाट आउने दवावले पनि कोइरालाई संकट देखिएको छ । एमाले अध्यक्ष ओलीबाट पटकपटक सरकारको आयु सकिन लागेकोतर्फ संकेत गर्दै दबाब आउनुले पनि उनलाई संकटमा धकेल्दै गएको कांग्रेस नेताहरूको विश्लेषण छ । एमालेभित्रबाट माघ ८ को समयसीमा सत्ता छोड्नुपर्ने दबाब पर्दै गएका बेला कांग्रेसका मधेसकेन्द्रित सभासद सहमतिको प्रस्तावविरुद्ध उभिएपछि समस्या थपिएको छ । केही दिनभित्रै आफ्नो अप्ठ्यारो र आइलागेको संकटका विषयमा छलफल गर्न उपलब्ध केन्द्रीय नेतासहित पदाधिकारी बैठक बोलाउने उनको तयारी छ । pm


  •  
  •  
  •  

Comments are closed.