जेलमा अभद्र व्यवहार गरिएपछि कोइराला भारतसँग सधै असन्तुष्ट

283
  •  
  •  
  •  

sushil-koiralaविराटनगर, २९ माघ(ओएनएस) : राजा महेन्द्रले पञ्चायती व्यवस्था भङ्ग गर्दै २०१७ साल पुस १ गते प्रजातन्त्रमाथि नै हस्तक्षेप गर्दै निरङकुशता लादे । त्यसबेलाका प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालियो । बीपी प्रधानमन्त्री रहेका बेला तुलसी गिरी परराष्ट्रमन्त्री थिए । गिरीको स्वकीय सचिवको रूपमा कार्यरत सुशील कोइरालाको जीवनमा २०१७ साल पुस १ गतेको घटनाले धेरै परिवर्तन ल्यायो ।

बलिउडको हिरो बन्ने सोच बनाएर राजनीतिमा लागेका कोइराला १७ सालको घटनापछि सादगी जीवनमा फर्किएर पाटी र प्रजातान्त्रिक आन्दोलनकालागि कमिज सुरूवाल लगाएर निस्किए । सधै जसो सुटबुट लगाएर बस्ने सुशीललाई १७ सालको सरकार भंग भएपछि बीपीले सुशीला भाउजूको हेरचाह र पार्टीको गतिविधिमा सक्रीय रहनु भनेपछि उनी सादगी राजनीतिमा लागेको उनका निकटहरू बताउँछन् । कमिज सुरूवालमा राजनीतिमा निस्किएका उनी जीवनपर्यन्तसम्म त्यही पहिरनमा रहे ।

प्रजातान्त्रिक सरकारलाई राजा महेन्द्रले ढालेर बीपीलाई जेल हालेपछि सुशील कोइराला भूमिगत गतिविधि गर्न भन्दै विराटनगर आए । २०१७ साल पुसमा विराटनगर आएका उनको भेट बद्रीनारायण बस्नेत, बिनोद अर्याल, राजेन्द्र गुप्तालगायतसँग भयो । विराटनगरमा क्रान्तिकारी गतिविधी गर्ने पनि यिनै नेताहरु थिए । सुशील विराटनगर आएपछि कांग्रेसले राजालाई असहयोग गर्न भूमिगत गतिविधि गर्न थाल्यो । त्यसबेला उनीहरूको काम भनेको टेलिफोनको तार काट्ने पार्टीको पर्चा पम्पलेट बाँड्ने र राजालाई असहयोग गर्ने कार्य हुन्थ्यो ।

Badhri Narayan Basnet
बद्रीनारायण बस्नेत

‘हामी टोररिष्ट मुभमेन्ट गर्दै थियौ । २०१७ सालको घटना सम्झँदै सुशीलका साथी बद्रीनारायणले बस्नेतले भने, ‘राति राति पर्चा पोस्टर टाँस्ने, टेलिफोनको लाइन काट्ने हाम्रो काम थियो ।’

२०१७ साल फागुनमा दुहवीको पुल जलाउने नेतृत्व कोइरालाले गरेका बस्नेत सम्झन्छन् । सुशील कोइरालासँग पुल जलाउन गएको सम्झना बस्नेतसँग अझै छ ।

विराटनगर आउजाउ गर्ने एकमात्र गाडी कुदने रोड थियो । विराटनगर इटहरी रोड । त्यसबेला सरकारी गाडी विराटनगर आउन नदिन कांग्रेसले दुहवी पुल जलाउने निर्णय गर्‍यो । दुहवी पुल जलाउने नेत्रित्व गरेका सुशील कोइरालालाई सघाउने विनोद अर्याल र बद्रीनारायण बस्नेत थिए ।

‘बेलुका सात बजे दुई टीन मट्टितेल, सन्ठी र पराल गोरू गाडामा लोड गरेर लाग्यौ । बद्रीनारायण भन्छन्, ‘पुल जलाउन अघि कताबाट जलाउने भन्दै एक पटक हेर्न खोलातर्फ झर्‍यौ । खोला छेउमा आउँदा बँदेल चरे जस्तै आवाज आयो । मैले सुशील दालाई बँदेल चरे जस्तै आवाज आयो भने । कोइराला सर्तक भए । मसँग सलाई थियो । बालेर हेर्दा पुलिस त्रिपाल टाँगेर सुतेका रहेछन् । पुलिस देखेपछि सुशील दाले सलाई निभएर ‘इनसेक्वइर, गो ब्याक गो ब्याक’ भन्दै मेरो पाखुरा समातेर तान्नु भयो ।’

दुहवीको बुढीखोलामा रहेको पुलभन्दा पश्चिमपट्टि काठको पुल थियो । काठको पुल जलाउने योजना असफल भएपछि राति एक बजे विराटनगर भाग्दै आइ पुगेको बद्री सम्झन्छन् ।

क्रान्तिकारी गतिविधि गर्दै गर्दा विराटनगरमा रहेको माल अड्डामा बम हानेपछि सुशील कोइराला बनारस गएको बद्री बताउँछन् ।

‘हाम्रो भेट ०१७ सालमा भएको थियो । बद्रीले भने, ‘सुशील कोइराला अरू मान्छे भन्दा फरक हुनु हुन्थ्यो ।’ कोइराला अरू मानिससँग नरिसाउने, सरल र सहयोगी स्वभावका रहेको बस्नेतको बुझाई छ । उनी भन्छन् ‘उहाँ खानपिनमा टिपटप स्वभावको हुनुहुन्थ्यो ।’

सुशील कोइरालाले पनि दुहवी घटना नबिर्सिएको बस्नेत बताउँछन । उनले भने, ‘प्रधानमन्त्री भएका बेला विराटनगर आउनु भएको थियो । भेटघाट गर्दा मैले दुहवी घटना याद छ भन्दा छ भन्नु भएको थियो ।’

सुशील कोइराला भारतसँग धेरै रिसाएको उनको बुझाई छ । २०३० सालको प्लेन हाइज्याक काण्डपछि सुशिल हतियार किन्न पाकिस्तान गएका थिए । प्लेन अपहरण गरेको पैसाले पाकिस्तानबाट हतियार ल्याउँदा कोइरालालाई बागाबोर्डरबाट भारतीय प्रहरीले पक्राउ गरेको थियो । इन्डियन इन्टेलीजेन्स व्यूरोको सहयोगमा हतियार ल्याउदै गरेका सुशीललाई व्यूरोले नै समातेर जेल हालेको बस्नेत बताउँछन् ।

बागाबोर्डरबाट पक्राउ परेका कोइरालालाई दुई बर्ष भन्दा बढी भारतको तिहाड जेलमा राखिएको थियो । कोइरालाले जेलमा आफुलाई अभद्र व्यवहार भएको सहकर्मीहरुलाई सुनाउने गर्थे । तिहाड जेलमा भएको व्यवहारले गर्दा कोइराला भारतसँग सधै असन्तुष्ट रहेको बस्नेत बताउँछन् । कोइराला पार्टीले दिएको जिम्मेवारी कुसलताकासाथ निर्वाह गर्ने इमान्दार थिए । बस्नेतले भन्छन्, ‘राजनीतिमा निष्ठावान थिए सुशील दा ।’

नेपाली राजनीतिको स्वरूपमा सादगी जीवनको एउटा नमूनाको अन्त्य भएका अर्का कांग्रेस पुराना नेता राजेन्द्र विरही बताउँछन् । सुशील कोइराला राजनीतिमा त्यागी, निष्ठावान र पदको लोभ नगर्ने नेता रहेको उनको बुझाइ छ ।

राजनीतिमा लागेका अधिकांशले काठमाडौंमा घर बनाएका छन् । बिरही भन्छन्, ‘ सुशील त प्रधानमन्त्री बन्दा डेराबाट नै गएका थिए । परलोक हुदापनि अर्कैको घरबाट भए ।’ कृष्णप्रसाद भट्टराई जस्तै सादगी विचारका सुशील रहेको उनको बुझाइ छ ।


  •  
  •  
  •