जाजरकोटमा महामारी, जकार्तामा प्रधानमन्त्री

187
  •  
  •  
  •  

समाचार टिप्पणी । काठमाडौं, ९ वैशाख (ओएनएस) :  ‘मानवीय संवेदना मरिसकेको निर्जीव सहरका ठूला मान्छेहरुलाई दूरदराजका निमुखा मान्छेहरुको मृत्युको खबरले झस्काउँदैन र ब्यूँझाउँदैन । किनकि, उनीहरुको मृत्युले तिनीहरुको सुखसयलको साम्राज्य खोसिँदैन ।’ रुकुमका जिल्ला न्यायाधीश हेमन्त रावलले आफ्नो फेसबुक टाइमलाइनमा लेखेका शब्द हुन्, यी ।

hemanta rawal

सर्वसाधारणले चियापसलमा गरेका गफगाफ र विरोधी राजनीतिक दलका नेता÷कार्यकर्ताले गरेका टिप्पणीलाई एक छिन बिर्सौ । माथिको टिप्पणीकारको पृष्ठभूमि हेरौँ र ती शब्दहरु केलाऔँ ।

लामो समय न्याय सेवामा बिताएका र केही वर्षदेखि रुकुमजस्तो दुर्गम क्षेत्रमा न्याय सेवाका साथै कानुनी साक्षरताको समेत अभियान चलाइरहेका न्यायाधीशले गाउँमै बसेर गरेको टिप्पणी हो यो । गाउँबाट काठमाडौँको सिंहदरबार र खासगरी सुशील सरकार कस्तो देखिन्छ भन्ने पनि यस टिप्पणीबाट बुझ्न सकिन्छ ।

जाजरकोटमा फैलिएको मौसमी रुघाखोकी र स्वाइन फ्लुको महामारीले २७ जनाको ज्यान गइसकेको छ । राज्यको संकटकालीन उद्दार क्षमताको चरम अक्षमता र राज्यसंयन्त्रको लापरवाही जाजरकोटमा प्रदर्शन भइरहेको छ । यसको जिम्मेवारी कुनै निकाय वा व्यक्तिले लिइरहेका छैनन् । यस्तो अवस्थामा मुलुकमा सरकार छ कि छैन भन्ने खालका प्रतिक्रियाहरू फेसबुक र ट्वीटरहरूमा व्यक्त भइरहेका छन् ।

मध्यपश्चिम पहाड स्वाइन फ्लुको महामारीले गाँजिरहँदा प्रधानमन्त्री सुशील कोइराला भने इन्डोनेसियाको जकार्ता हान्निए, १६ जनाको दलबल सहित । असंलग्न आन्दोलनको आधार मानिनेर बाङ्डुङ सम्मेलनको ६० औँ वर्षगाँठ मनाउन आयोजित अफ्रो–एसियाली मुलुकको सम्मेलनमा भाग लिन कोइराला सोमबार इन्डोनेसिया हान्निएका हुन् । उनी वैशाख १५ गते मात्र स्वदेश फर्कनेछन् ।

प्रधानमन्त्री कोइरालालाई इन्डोनेसिया उड्न हतार भएकै कारण सोमबार बिहान बालुवाटारमा बसेको तीन दलको बैठकमा संविधानका आधारभूत विषयमा छलफल हुनै पाएन । सैद्धान्तिक रुपमा तीन दलबीच संविधानका मिलेका विषय संविधानसभाको प्रक्रियामा अगाडि बढाउने र बाँकी विषयमा सहमति जुटाउँदै जाने समझदारी बन्यो । त्यो समझदारी प्रधानमन्त्री विदेश उड्नुअघि ‘केही भएको’ देखाउने विषय त बन्यो तर मुलुकले पाउनचाहिँ केही पाइसकेको छैन ।

Sushil-Koirala_V Jajarkot

बरु बाबुराम भट्टराई र केही मधेसवादी दलका लागि विरोध गर्ने र प्रक्रियामा भाँजो हाल्ने तयारीका लागि समय छुट्याएजस्तो देखिएको छ । योभन्दा बढी राष्ट्रिय संकट र जनताका समस्याप्रति प्रधानमन्त्रीको बेवास्ता, संवेदनहीनता र गैरजिम्मेवारीपन प्रकट भएको छ ।

खासमा यो सम्मेलनमा कोइरालाको उपस्थिति अनिवार्य थियो ? के राष्ट्रिय समस्याको तुलनामा जकार्तामा कोइरालाको उपस्थिति बढी महत्वपूर्ण थियो ? एमाले सभासद एवम् विदेश मामिलाका जानकार राजन भट्टराई भन्छन्, ‘राष्ट्रिय राजनीति र महामारीको संकट ठूलो कि असंलग्न आन्दोलनप्रतिको प्रतिबद्धता भनेर प्राथमिकता नै छुट्याउने काम त प्रधानमन्त्री स्वयंको हो । तर, आफ्नो देशको अवस्था हेरी कतिपय मुलुकका प्रधानमन्त्री सहभागी भएका छैनन् र विदेशमन्त्रीलाई पठाएका उदाहरण भने छन् ।’

कोइराला प्रधानमन्त्री भएपछि उनको सादगीको निकै चर्चा भयो । उनलाई सभापति जिताउनेहरूले पनि शेरबहादुर देउवासँग दाँज्ने क्रममा सुशील सरल र सादगीपूर्ण जीवनशैलीका कारण झण्डै गान्धीको नजिक रहेको टिप्पणीसम्म गरिएका थिए । यस्ता टिप्पणीका सूत्रकारमध्येका नेता हालका कानुनमन्त्री नरहरि आचार्यदेखि युवा सेलिब्रिटी नेता गगन थापासम्म ।

कोइरालाले मन्त्रिपरिषद सचिवालयमा बुझाएको सम्पत्ति विवरण सार्वजनिक भएपछि त नेपालीहरुको एउटा तप्का त गिनिज वल्र्ड रेकर्डस्मै नाम लेखाउनुपर्छ भनेर कस्सिएकै हो । स्वच्छ छवि, सादगीपूर्ण जीवन र सांसारिक मोहबाट मुक्त प्रधानमन्त्रीको रुपमा उनको चर्चा गरिएको थियो । बेलाबेलामा उनले देखाउने कुटिल र छुद्र रुपलाई गिरिजाप्रसाद कोइरालाको दबाब र इच्छास्वरुप व्यक्त भएको बाध्यताका रुपमा लिइन्थ्यो । तर, त्यो सादगीभित्र कति पाखण्ड, भोगी र विलासी चरित्र लुकेको छ भन्ने हत्पत्ति बाहिर आउँदैनथ्यो ।

जब सम्पत्तिको नाममा तीनवटा मोबाइल मात्र रहेको विवरण आफ्नो सचिवालयमा टिपाउँछन् र शिरानीमुनिबाट लाख–लाखका बिटाहरु हराएका खबरले बजार तात्न थाल्छ, अनि त्यही मौकामा उनका सबैभन्दा भित्रिया सहयोगी ठानिएका स्वकीय सचिव निकालिन्छन्, प्रधानमन्त्री कोइरालाको अर्को अँध्यारो पाटोको बल्ल चर्चा सुरु हुन्छ ।

तैपनि, अविवाहित जीवन, क्यान्सरसँग जुधिरहेको बुढ्यौली र सेतो दारीले छपक्कै अनुहार भएकाले हो वा अरु कुनै कारण, कोइरालाप्रति नेपाली समाजले त्यति निर्मम टिप्पणी गरिसकेको छैन, जति टिप्पणी विगतमा प्रचण्ड, माधव नेपाल र बाबुराम भट्टराई प्रधानमन्त्री छँदा भोगेका थिए ।

अहिले कोइरालाले आलोचना भोग्नु नपर्ने एउटा कारण एमालेजस्तो बलियो पार्टी कांग्रेससँगै सत्ताभोगको चरम विलासमा फस्नु हो भने एमाओवादीजस्तो शीतनिद्रामा परेको सर्पजस्तो विपक्षी मुलुकले बेहोर्नु हो । अन्यथा, कोइरालाले कुनै वैध जनानाको अँगालोमा नबेरिनु वा साधु वेशमा सजिनुकै कारणले सधैँ सहानुभूतिपूर्ण छूट पाउनुपर्ने कारण देखिँदैन ।


  •  
  •  
  •