तन्त्र र यन्त्र मात्र भनेर हुँदैन । खाली तन्त्रमा परिवर्तन गरेर देश विकास हुने पनि होइन जनतामा परिवर्तन आउने पनि होइन । सबैभन्दा मुख्य कुरा त देशलाई स्थिर शासन र सुशासन दिनुपर्यो र आर्थिक विकास गर्नसक्नु पर्यो । यति भएपछि पुग्छ, जनताले खोजेको यहि हो ।
पाँच पटक प्रधानमन्त्री भएर सरकारको नेतृत्व गरेका राप्रपा अध्यक्ष सूर्यबहादुर थापाले शनिबार ८६ औँ जन्मदिन मनाएका छन् । संविधानसभाका जेष्ठ सदस्य समेत रहेका थापा देशले आवश्यक ठाने फेरि प्रधानमन्त्री बन्न पछि नहट्ने बताउँछन् ।
यो उमेरमा पनि हरेक बिहान साढे चार बजे उठेपछि राती १० बजे ओछ्यान फर्कने पुरानो दैनिकी कायमै छ । थापाको
८६ औँ जन्मदिनको अवसरमा ओएनएस न्यूजका लागि राजु केसीले लिएको अन्र्तवार्ता :
८६ औँ जन्मदिनको अवसरमा ओएनएस न्यूजका लागि राजु केसीले लिएको अन्र्तवार्ता :
८६ औँ जन्मदिन मनाइरहँदाको अनुभव भनिदिनुस न ?
यत्रो लामो जीवन यात्रामा ८६ औँ जन्मदिन मनाउँदा एउटा अनौठो र बेग्लै किसिमको अनुभव हुँदो रहेछ । यसको बयान नै गर्न सकेको छैन ।
राजनीतिक व्यक्ति वा नेताको उमेर देशसँग पनि जोडिन्छ । तपाई ८७ वर्षको हुँदा पनि मुलुकले मुहार सोचे जस्तो गरी फेरेको छैन, यसलाई कसरी लिनुभएको छ ?
नेपाल हामीले सोचेको जस्तो बन्न सकेको छैन । यो दुर्भाग्य नै भन्नु पर्छ । यति सानो भएर पनि विशाल सम्भावना बोकेको मुलुक विकास हुन सकेको छैन । विदेशीले पनि यहाँको सौन्दर्य देखेर चकित परेको भन्छन् ।
तापनि हाम्रो देशले जसरी फड्को मार्नुपर्ने हो, गति लिनुपर्ने हो त्यो सकिराखेको छैन । यो दुखद पक्ष हो ।
यो स्थिति आउनुमा तपाई कत्तिको हिस्सेदार हुनुहुन्छ ?
म पनि छु । खासगरी त यसको जिम्मेवारी सम्पूर्ण नेतृत्व वर्गमा जान्छ । राजनीतिक नेतृत्वले यो देशलाई अगाडि बढाउन सकेनन् । निकास दिन सकेनन् । त्यसमा म पनि पर्दछु, म पनि भागिदार छु ।
वास्तवमा के कुराको कमी भएकोले देशको यो हालत भएको रहेछ ?
म यो देशको विकास गर्नमा कुनै ठूलो कुरा देख्दिनँ । हाम्रो मुलुक समृद्धिको लागि धेरै परिश्रम गर्नुपर्दैन । मात्र के हुनुपर्यो भने यहाँ भएको नेतृत्वले इच्छा शक्ति देखाउनु पर्यो, हुनुपर्यो । त्यो इच्छाशक्ति जागृत भयो भने अरु कुनै कुराले व्यवधान गर्छ जस्तो मलाई लाग्दैन ।
त्यसो भए तपाई र अरु नेतामा पनि इच्छाशक्तिको अभाव रहेछ हो ?
इच्छाशक्ति भएको भएदेखि त वा गर्छु नै भन्ने भएको देखि त देश बन्थ्यो होला । इच्छाशक्ति भएको कुनै कुराले रोक्न सक्दैन्थ्यो । त्यसो भएकोले त्यही कुराको कमी भएको त भन्नुपर्यो ।
तपाईको आफ्नै जीवनको सबैभन्दा ठूलो उपलब्धि के हो ?
मैले मेरो जीवनलाई टटोलेर जम्मै कुरालाई हेर्दा सबभन्दा ठूलो उपलब्धि मेरो इमान्दारीता । यति हो ।
मैले जहाँ कर्तव्यको पालना गर्दा, व्यवहार गर्दा इमान्दार भए यहि ठूलो उपलब्धि हो ।
तपाईलाई राजाहरुसँगको सम्बन्धका कारण पनि चर्चा गरिन्छ । खासमा अफ्ठेरोमा महेन्द्रदेखि ज्ञानेन्द्रसम्मले तपाईलाई सम्झनुको पछाडी के थियो ?
केही थिएन । मैले जुन–जुन बेलामा जिम्मेवारी पाए, त्यतिबेला मेहनत, इमान्दारिता र लगनशिलताका साथ निरन्तर काम गरिरहे । त्यही भएर मलाई राजाले विश्वास गरेका होलान । यो विषय मैले यताउता नगरी तपाईँलाई भनेको छु ।
राजाहरुसँग काम गर्दा उनीहरुको देश बनाउने इच्छाशक्ति कत्तिको पाउनुभयो ?
उनीहरुलाई पनि आफू भएको समयमा देश बनाउ, देशमा समृद्धि ल्याउ भन्ने इच्छा निश्चिय नै थियो । उनीहरुले आ–आफ्नो ढंगले मेहनत गरेकै हुन नगरेका भनेर भन्न मिल्दैन । एउटै कुरा के भने राजनीतिलाई बुझ्न उनीहरुबाट कमि–कमजोरी चाँही भएको थियो । अन्यथा अरु देश बनाउ, विकास गरौ, समृद्ध बनाउ भन्ने कुरामा उनीहरुको इच्छाशक्तिमा शंका गर्न मिल्दैन । जसरी अहिलेको नेतृत्व वर्गले इच्छा राखेको छ उनीहरुले पनि त्यतिकै इच्छा राखेको हो ।
राजतन्त्रको मलामी तपाईँ पनि हो ?
यसलाई कसरी व्याख्या गर्ने ? मलाई लाग्छ राजतन्त्रमा जानुमा राजा आफैले राजनीति बुझ्न गरेको कमजोरी हो ।
तपाईले आफ्नो जीवनकालमा विभिन्न राजनीतिक व्यवस्था हेर्नुभयो, भोग्नुभयो तर जनताले खास के खोजेको रहेछ ?
यो तन्त्र र यन्त्र मात्र भनेर हुँदैन । खाली तन्त्रमा परिवर्तन गरेर देश विकास हुने पनि होइन जनतामा परिवर्तन आउने पनि होइन । सबैभन्दा मुख्य कुरा त देशलाई स्थिर शासन र सुशासन दिनुपर्यो र आर्थिक विकास गर्नसक्नु पर्यो । यति भएपछि पुग्छ, जनताले खोजेको यहि हो ।
तपाईँलाई आज फेरि पनि यो देशको प्रधानमन्त्री हुन्छु भन्ने लाग्छ ?
म आफू जीवनमा कर्तव्य पालना गरिरहनुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ । मेरो रिटायर हुने उमेर भयो वा इत्यादि भनेर आराम गर्ने होइन कि सक्रिय भएर अन्तिम समयसम्म लाग्नुपर्छ भन्ने विचारमा छु । परि आयो भने देशको नेतृत्व नगर्ने भन्ने होइन । तर त्यस्तो चाहना गरेर म बसेको छैन । अगाडि जे आउँछ त्यो गरेर सक्रिय भएरै बस्नुपर्छ भन्ने मेरो कुरा हो ।
अहिलेका समकालिन नेताहरुबाट यो देश समृद्ध र बलियो हुने आशा हामीले गर्न सक्छौ ?
अहिलेका नेताहरु त्यसका लागि सक्षम छन् । तर एउटै कुरा के भने राष्ट्रिय स्वार्थलाई सर्वपरी मानेर दलीय र व्यक्ति गत हटाइदिनु पर्छ । यति भए पुग्छ अरु योग्यतामा कमी छैन ।
फेरि तपाईको नीजी जीवनको कुरा गरौ गतवर्ष तपाईँ साह्रै विरामी पर्नुभयो, त्यसलाई कसरी सम्झनु भएको छ ?
त्यो मेरो जीवनमा आएको एक कठिन अवस्था थियो । त्यो मैले अनुभव गरे । त्यसको आज मलाई कुनै चिन्तन छैन ।
जीवनसँग अझै कत्ति वटा यस्ता जन्मदिन आशा गर्नुभएको छ ?
हेर्दै जाउ । यसमा आधा मेरो हातमा छ, आधा भगवानको हातमा छ । मेरो भनेको खानपिन, उठबस, सयंता इत्यादि भयो । यसमा मेरो नियन्त्रण छ । आधा अरुमा मेरो कुनै नियन्त्रण छैन । त्यसकारणले जेजस्तो परि आउँछ त्यही अनुसार हुन्छ ।
अब राजनीतिमा आउने वा नयाँ पुस्तालाई तपाईँको के सन्देश छ ?
अब आउने पुस्ताले कम्तिमा पनि आफ्ना अघिल्लाहरुको हविगत विचार गर्नुपर्छ । उनीहरुले देश बनाउने लगनशीलता, इच्छाशक्ति राख्नुपर्यो र अर्को कुरा झगडा गरेर कहिले पनि अल्मलिन भएन । आपसमा झगडा गरेर देशलाई बन्धकी राख्न भएन । भावी पुस्ताले विगतबाट यो कुरा सक्नेछन्, सिक्नुपर्छ ।
फोटो : विकीपिडिया