पूर्वप्रधानमन्त्री थापाको मेदान्त अस्पतालमा शल्यक्रिया हुँदै

132
  •  
  •  
  •  

काठमाडौं, २७ चैत (ओएनएस) : दिल्लीको मेदान्त अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता सूर्यबहादुर थापाको आज अल्सरको शल्यक्रिया हुँदैछ । स्वास्थ्यमा समस्या देखिएपछि गत आइतबार दिल्ली पुगेका थापा मेदान्त अस्पतालमा भर्ना भएका थिए ।

थापाको अल्सरको शल्यक्रिया हुने पार्टीका सहप्रवक्ता किरन गिरीले जनाएका छन् । चिकित्सकहरु डा. नरेश त्रेहान, डा. आरआर कास्लीवाल र आदर्श चौधरीको टोलीले थापाको शल्यक्रिया गर्नेछन् ।

शल्यक्रिया तय भएपछि थापाका छोरा तथा वाणिज्य तथा आपूर्ती मन्त्री सुनील थापा पनि भारत पुगेको बताइएको छ । पूर्वप्रधानमन्त्री थापालाई काठमाडौं मेडिकल कलेजका डिबी कार्कीले उपचार गर्दै आएका थिए । तर, थापाको पेटमा बढि समस्या देखिएपछि गत आइतबार दिल्ली लगिएको हो ।

उपचाररत थापालाई प्रधानमन्त्री सुशील कोइरालाले स्वास्थ्य लाभको कामना गरेका छन् । एक पत्र लेखेर कोइरालाले सफल शल्यक्रिया तथा स्वास्थ्यलाभको कामना गरेका हुन् ।

त्यस्तै स्वास्थ्यमन्त्री खगराज अधिकारीले थापालाई भेटेरै स्वास्थ्यलाभको कामना गरेका थिए ।


  •  
  •  
  •