प्रधानमन्त्री कोइरालाद्वारा राष्ट्रिय झण्डा ओढाएर थापाप्रति श्रद्धाञ्जली

145
  •  
  •  
  •  

काठमाडौं, ४ बैशाख (ओएनएस)  :   प्रधानमन्त्री सुशील कोइरालाले पूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरेका छन् ।

स्वर्गीय थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा राजकीय सम्मानस्वरुप राष्ट्रिय झण्डा ओढाउन प्रधानमन्त्री कोइराला शुक्रबार अपरान्ह त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका थिए ।

भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा बैशाख २ गते पूर्वप्रधानमन्त्री थापाको निधन भएको थियो ।

बैशाख ३ गते अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय थापाको राजकीय सम्मानको साथ अन्त्येष्टि गर्ने र उनको दुखद् निधनमा नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा आधा झण्डा झुकाई बैशाख ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

दशरथ रंगशालामा प्रधानमन्त्री कोइरालाले स्व.थापाका सुपुत्र एवं बाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापा सहित स्व. थापाका परिवारजन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर जवरा सहित नेता तथा कार्यकर्ताहरुलाई समवेदना प्रकट गरेका थिए ।

रंगशालामा अन्तिम विदाइपछि शुक्रबार साँझ थापाको दाहसंस्कार गरिदैछ ।


  •  
  •  
  •