थापाको पार्थिव शरीर दशरथ रंगशालामा, साँझ दाहसंस्कार गरिदै

151
  •  
  •  
  •  

काठमाडौं, ४ बैशाख (ओएनएस)  : भारतको मेदान्त अस्पतालमा बुधबार राती निधन भएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको शुक्रबार साँझ राजकीय सम्मानका साथ अन्येष्टि गरिदैछ । थापाको पार्थिव शरीरलाई बिहान थापानिवास मालीमा श्रद्धाञ्जलीका लागि राखिएको थियाो भने पार्टी कार्यालय चाबहिलमा दिउँसो १२ बजेसम्म राखिएको थियो ।

१ बजेपछि दशरथ रंगशालामा थापाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ ।

थापालाई श्रद्धाञ्जलि अर्पण गर्न शुक्रबार बिहान अर्थ मन्त्री रामशरण महत, वन तथा भू–संरक्षण मन्त्री महेश आचार्य, नेपालका लागि चिनका राजदूत उ छुन्ताई, नेपाली काँग्रेसका युवा नेता तथा सभासद्हरु गगन थापा, उदयशमशेर राणालगायत विभिन्न दलका नेता, कार्यकर्ता मालीगाउँ पुगेका थिए।

श्रद्धाञ्जली अर्पण गर्न पार्टीका नेता तथा कार्यकर्ता, शुभचिन्तक र आफन्तको थापा निवास मालीगाउँमा शुक्रबार बिहानैदेखि घुइँचो लागेको छ। थापाको पार्थिव शरीर हिजो साँझ भारतको नयाँ दिल्लीबाट काठमाडौं ल्याएलगत्तै थापा निवास मालीगाउँमा श्रद्धाञ्जलीका लागि राखिएको छ।

शुक्रबार बिहान मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व प्रधानमन्त्री कृतिनिधि विष्ट, नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदार, नेपालका लागि भारतीय राजदूत रञ्जित रे थापा निवास पुगी उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा धार्मिक परम्पराअनुसार दाह–संस्कार गरिने कार्यक्रम छ । उपचारको क्रममा बुधबार राति १०ः३५ बजे ८८ वर्षको उमेरमा थापाको निधन भएको थियो । उनलाई चैत १६ गते उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको थियो । थापाको गत शुक्रबार मेदान्त अस्पतालका वरिष्ठ सर्जन आदर्श चौधरी नेतृत्वको टोलीले अल्सरको सफल शल्यक्रिया गरेको थियो ।

थापाको निधनमा १३ दिनसम्म राप्रपाले औपचारिक कार्यक्रम नगर्ने, मुलुकभरिका पार्टी कार्यालयमा शोकपुस्तिका राख्ने र १३ औं पुण्यतिथिमा शोकसभा गर्ने जनाएको छ । जीवनको ६ दशकभन्दा बढी समय राजनीतिमा बिताउनुभएका थापा हक्की स्वभावका थिए । राजनीतिक क्रियाशीलतामा कहिल्यै नथाक्ने थापाले अन्तिम पटक होली पर्वका अवसरमा गत फागुन १९ गते दलका नेताहरूलाई मालीगाउँस्थित आफ्नै निवासमा जमघट गराएर सहमतिबाटै संविधान जारी हुने अर्को मिति घोषणा गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए । दोश्रो संविधानसभामा थापा समानुपातिकतर्फका सभासद बनेका थिए ।

ज्येष्ठ सभासदको हैसियतले थापाले केहीसमय संविधानसभा बैठकको अध्यक्षता समेत गर्नुभएको थियो । यसैबीच तत्कालीन पञ्चायती शासनको विरोधमा उत्रेका जनतामाथि २०३६ साल पुसमा धनकुटाको छिन्ताङ र २०४० साल पुसमा सिन्धुपाल्चोकको पिस्करमा क्रुर दमन गरेको भनी सूर्यबहादुर थापाको आलोचना पनि हुँदै आएको छ ।

पञ्चायतको विरोध गरेको अभियोगमा प्रहरीले छिन्ताङमा १५ जना र पिस्करमा ३ जना सर्वसाधारणलाई गोली हानी हत्या गरेको थियो । सरकारले पुर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनको शोकमा आज सार्वजनिक विदा दिएको छ ।


  •  
  •  
  •