सहमतिबिना संविधान असम्भव : पूर्व प्रधानमन्त्री थापा

130
  •  
  •  
  •  

suryaकाठमाडौं, १७ माघ(ओएनएस) : पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले एमाओवादी र मधेषवादी मोर्चालाई सहमतिमा ल्याएर मात्र संविधान जारी गर्न सुझाव दिएका छन् । उनले सहमतिबिना संविधान ल्याउन असम्भव रहेको, यदी संविधान ल्याइएपनि दिगो हुन नसक्ने बताएका छन् ।

शनिबार बिहान मालीगाऊँस्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाटमा उनले सरकारले तत्काल वार्ता र सम्वादको सुरूवात गरेर एमाओवादीसहितका विपक्षमा रहेका दलहरुलाई विश्वासमा लिनुपर्ने बताएका छन् ।

उनले माघ ८ मा संविधान जारी नहुनु दुर्भाग्यपूर्ण भएको बताउँदै संविधान निर्माणका लागि नयाँ तालिका छिटो तोक्नुपर्ने बताएका छन् । उनले संविधान नबन्नुमा सबै दल विषेश गरी शीर्ष दलका नेताहरू दोषी भएकाले सबैले जनतासँग सामूहिक क्षमायाचना गर्नुपर्ने बताएका छन् ।

उनले संविधान जारी हुन नसक्दा राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा आफ्नो बिग्रिएको छवीलाई सुधार्नका लागि पनि संविधान जारी गर्नुपर्ने बताए । उनले भारतलगायतका देशले यस्तो या उस्तो संविधान जारी गर्नुपर्ने भनेर कसैलाई दवाव नदिएको भन्दै विदेशी समुदायले नेपालमा संविधान बनोस् भन्ने चाहना राखेको बताएका छन् ।

उनले मुलुक गतिशुन्य अवस्थामा रहेको बताउँदै भन्दै तत्काल समाधान खोज्न नसकिए देशमा ठुलो खतरा निम्तिने बतएका छन् ।

पत्रकार भेटघाटका क्रममा उनले आफू भारत जान लागेको र दिल्लीमा नपस्ने जानकारी दिएका छन् । माघ ८ अगावै स्वास्थ्य परिक्षणका लागि जानुपर्ने भएपनि राजनीतिक परिस्थितिका कारण आफू रोकिएको जानकारी दिँदै भारतको जयपुरमा हुने विवाह समारोहमा समेत उपस्थित हुने बताएका छन् ।


  •  
  •  
  •