काठमाडौ, ६ भदौ (ओएनएस) : हाउजीङ तथा सहकारीबाट सयौंलाई ठगी गरेको अभियोग लागेका व्यवसायी सुधीर बस्नेतलाई थुनामै राखेर कारबाही गर्न अदालतले आदेश दिएको छ ।
ठगी मुद्दामा धरौटीमा छुटेका उनलाई पुर्पक्षका लागि थुनामा राख्न सर्वोच्च अदालतले शुक्रबार आदेश दिएको हो । जिल्ला र पुनरावेदन अदालतले धरौटीमा छाड्ने गरेको आदेश बदर गर्दै सर्वोच्चले बस्नेतलाई थुनामै राखी कारवाही अघि बढाउन आदेश दिएको छ ।
सर्वोच्चका न्ययाधीशद्धय गिरिशचन्द्र लाल र देवेन्द्र गोपाल श्रैष्ठको इजलाशले बस्नेतलाई थुनामै राख्ने आदेश दिएको हो ।
दुई वर्षअघि महानगरीय प्रहरी परिसर काठमाडौंले बस्नेतलाई पक्राउ गरेको थियो । पिडितहरुको व्यापक दबाबपछि उनलाई एसएसपी रण बहादुर चन्दले पक्राउ गरेका थिए । तर अदालतले सामान्य धरौटीमा नै छाडिदिएको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिल पुनरावेदन अदालत गएकोमा पुनरावेदन अदालतले पनि जिल्लाकै आदेश सदर गरेपछि सर्वोच्चमा अर्को पुनरावेदन दर्ता भएको थियो । सोही पुनरावेदनमाथि फैसला गर्दै शुक्रबार बस्नेतलाई थुनामै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको हो ।
बस्नेत एयरलाइन्स, घरजग्गा लगायतका ब्यवसायमा संलग्न थिए।