सर्वोच्चका न्यायाधीश पराजुली झगडियासँग सपिङमा

558
  •  
  •  
  •  

काठमाडौ, १६ जेठ(ओएनएस) : सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुली आफ्नै इजलासमा विचाराधीन मुद्दाका पक्षसँग बिहीबार सपिङ गएका छन् । उनी दिउँसो ३:२० मा न्यूरोडस्थित विशालबजार पुगेका थिए । उनी त्यहाँ पुग्दा एक मुद्दाका झगडिया दामोदर कार्की उनलाई स्वागत गर्न पुगेका थिए । कार्कीले नै विभिन्न पसलमा न्यायाधीश पराजुलीलाई घुमाएका थिए ।

कार्कीसँगै गएर विशाल बजारको भुइँतलाको ३६ नम्बरको पसल सुट हाउसबाट दुई पिस पाइन्टसहित सुट किनेका थिए । उनले सपिङ गरेको पसल विशाल बजार कम्पनीको भ्रष्टाचार प्रकरणमा मुछिएर निलम्बित भएका सञ्चालक प्रमोद अग्रवालका बुवा विश्वम्भरलाल अग्रवालको हो ।

कम्पाउन्डमै बसेर करिब पाँच मिनेट कार्कीसँग कुरा गरेका थिए । अन्त्यमा पराजुलीले भूकम्पबाट विशाल बजार त केहीभएको रहेनछ भन्ने टिप्पणी गरेर फर्केका थिए । कार्कीले भने न्यायधीशलाई अचानक भेटेको बताए । ‘मैले बोलाएको पनि होइन कुनै गोप्य छलफल पनि गरेको होइन’, कार्कीले भने, ‘न्यायाधीशलाई देखेपछि चिनजानका नाताले स्वागत गरेको हो केही पसलमा घुमाइ दिएको हुँ ।’

न्यायाधीशद्वय पराजुली र चोलेन्द्रशमशेर राणाको इजलासमा विशालबजार सम्बन्धी मुद्दा विचाराधीन छ । यी दुवै न्यायाधीशसँगै सर्वोच्चमा नियुक्त भएका थिए । दुवै भावी प्रधानन्यायाधीशको रोलक्रममा छन् । पूर्व प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका पालामा न्यायाधीश द्वय पराजुली र राणाले आफूहरु सर्वोच्चमा नियुक्त भए लगत्तै उक्त मुद्दा आफ्नो इजलासमा हेर्दाहेर्दैमा राखेका थिए । कानुनी भाषामा हेर्दाहेर्दैमा राख्नु भनेको लगातार सुनुवाई गरी मुद्दा चाँडो टुंग्याउनु र अन्य न्यायाधीशका इजलासमा पर्न नदिनू भन्ने हुन्छ ।

कार्की को हुन् ?

विशालबजार सेयर होल्डर संघका अध्यक्ष दामोदर कार्की विशालबजार कम्पनीका भ्रष्टाचार आरोपमा निलम्बित सञ्चालक विजय बानियाँका भिनाजु हुन् । भ्रष्टाचार आरोपमै निलम्बित सञ्चालक समितिका अध्यक्ष रवीन्द्रलाल श्रेष्ठसँग पनि कार्कीको निकट सम्बन्ध छ । सेयर होल्डर संघका नाममा कार्कीले भ्रष्टाचार आरोपित सञ्चालक समितिको पक्षमा गतिविधि गर्दै आएका छन् । सर्वोच्चमा विचाराधीन मुद्दामा पनि उनी पक्ष भएर निवेदन दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशालबजार भ्रष्टाचार प्रकरण सम्बन्धी अभियोग पत्रमा त्यस संघको वैधानिकता माथि प्रश्न उठाएको छ । कम्पनी स्वयं सेयर होल्डरहरुको आधिकारिक र वैधानिक संस्था हुने भएपनि छुट्टै सेयर होल्डर संघ स्थापना गरेर कम्पनीको ठूलो रकम चन्दा वापत लिएर दुरुपयोग भइरहेको अख्तियारको दाबी छ । रवीन्द्रलाल श्रेष्ठ लगायत आठजना सञ्चालकहरु विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चल्दा अख्तियारविरुद्ध नाराबाजी र पत्रकार सम्मलेन गरेका थिए । अन्य अनियमितता प्रकरणमा पनि अख्तियारले कार्की लगायत संघका पदाधिकारी माथि छानबिनका क्रममा हिरासतमा लिएको थियो । अहिले पनि संघका पदाधिधारी अख्तियारमा तारेख धाइरहेका छन् ।

११ महिनादेखि पराजुलीको इजलासमा

तिनै निलम्बित सञ्चालकहरु १० वर्षदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोग र नेपाल सरकारका विरुद्ध सर्वोच्चमा मुद्दा लडिरहेका छन् । कम्पनीको भ्रष्टाचारका विषयमा अख्तियारले छानबिन गर्न नपाउने, कम्पनी बोर्ड र कम्पनी रजिस्ट्रार कार्यालयका निर्देशन पालना गर्नु नपर्ने लगायत माग दाबी लिएर उनीहरु सर्वोच्चमा रिट दायर गर्न पुगेका थिए ।

पछिल्लोपल्ट विशालबजारको ८ रोपनी ४ आना जग्गा सरकारी ठहर गर्दै त्यसवापतको रकम सरकारका नाममा सेयर कायम गर्नुपर्ने सर्वोच्चको आदेश अनुसार सरकारले जग्गा मूल्यांकनको प्रक्रिया अघि बढाएपछि त्यसविरुद्ध समेत उनीहरुले सर्वोच्चमा रिट दायर गरेका थिए । अहिले यी सबै मुद्दा ११ महिनादेखि पराजुली र राणाको संयुक्त इजलासमा विचाराधीन छन् । न्यायाधीशद्वयले निसु (निर्णय सुनाउने दिन) तोकेर पनि पाँचपटक सारिसकेका छन् । पछिल्लो पल्ट १२ जेठमा पेसी तोकिएको थियो । त्यस दिन पराजुली सुरुमा इजलासमा बसे पनि केहीबेरमै उठेर निर्णय हुने नहुने १० मिनेटमा बताउँछु भन्दै हिँडेका थिए । त्यसपछि इजलासले निर्णय सुनाएन र मुद्दाका पक्षहरु त्यसै फर्किएका थिए । अब २६ जेठमा निर्णय सुनाउने दिन तोकिएको छ ।

‘न्यायाधिशले झगाडिया मात्र होइन वकिललाई समेत भेट्न पाइदैन’

कानुनविद् डा. बिपिन अधिकारी ‘कमन ल’ मान्ने देशका न्यायाधिशले झगाडियालाई न्यायिक रोहमा बाहेक भेट गर्न नहुने बताउँछन् । न्यायाधिशले एक झगडियालाई भेट्दा दुवै पक्षले समान अवसर नपाउने हुँदा भेट गर्न नहुने अधिकारीले बताए । ‘एक पक्षलाई भेट्दा न्यायिक वातावरण बिग्रन्छ । ’ अधिकारीले भने, ‘न्यायाधिशले न्यायालय बाहिर कुनै झगाडियालाई भेट्ने कुरा आपत्तिजनक हो । ’  उनले अघि थपे, ‘न्यायिक रोहबाहेक न्यायाधिशले झगाडिया मात्र होइन वकिललाई समेत भेट्न पाइदैन ।’

कुनै न्यायाधिशले एक झगडियालाई भेट्दा न्याय सम्पादनमा प्रत्यक्ष असर पर्ने तथा स्वतन्त्र रुपमा विवेक पुर्याएर फैसला नहुने अधिकारीको तर्क छ । पटक पटक सम्पर्क गर्दा पनि पराजुली भने सम्पर्कमा आएनन् ।


  •  
  •  
  •