साउनभित्र स्ववियू चुनाव गर्नु : सर्वोच्च

168
  •  
  •  
  •  

काठमाडौं, ८ बैशाख (ओएनएस) : सर्वोच्च अदालतले तीन महिनाभित्र स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचन गर्न सरकार र त्रिभुवन विश्वविद्यालयको नाममा परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश चोलेन्द्रशमशेर जवराको इजलासले विगत ६ वर्षदेखि स्ववियू निर्वाचन हुन नसकेको भन्दै तीन महिनाभित्र स्ववियू निर्वाचन गराउन सरकार र त्रिभुवन विश्वविद्यालयको नाममा परमादेश जारी गरेको हो ।

२०७१ जेठमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियू (छैटौं) का विमलप्रसाद पोखरेलले सर्वोच्चमा दायर गरेको रिटको मँगलबार भएको अन्तिम फैसलामा सर्वोच्चले यस्तो आदेश दिएको हो । त्रिभुवन विश्वविद्यालयले पटक पटक निर्वाचन गराउने तयारी गरे पनि सफल भएको थिएन ।

सर्वोच्चको परमादेशपछि त्रिभुवन विश्वविद्यालयलाई आगामी साउनभित्र स्ववियू निर्वाचन गराउन बाध्यकारी भएको छ । विद्यार्थी संगठनले पटकपटक स्ववियू चुनावको माग गरे पनि त्रिविका देशभरका आंगीक क्याम्पसहरुमा ६ वर्ष यता स्ववियू चुनाव हुन सकेको छैन ।

त्रिभुवन विश्वविद्यालयले गत जेठमा घोषणा गरेको निर्वाचन समेत स्थगीत गरेको थियो। त्यसपछि अनिश्चितकालका लागि निर्वाचन रोकिएको थियो।


  •  
  •  
  •