पशुपतिनाथमा सुपरस्टार

87
  •  
  •  
  •  

दक्षिण  भारतका चर्चित फिल्मस्टार चिरञ्जीवी गएको साता गुपचुप पशुपतिनाथको दर्शनका लागि काठमाडौं आइपुगे । पशुपतिमा विशेष पूजा गरेपछि चिरञ्जीवीले भक्तपुरस्थित डोलेश्वर महादेवको दर्शन पनि गर्न भ्याए ।

२२ वर्षअघि चर्चित भारतीय पत्रिका ‘द विक’ ले एउटा कभर स्टोरी प्रकाशन गरेको थियो, जसको हेडलाइन थियो ‘बिगर द्यान बच्चन’। बच्चनभन्दा पनि ठूला स्टारका रूपमा सन् १९९२ मै भारतभर चर्चा कमाएका व्यक्ति हुन्— चिरञ्जीवी। दक्षिण भारतीय चलचित्र उद्योगमा ‘मेगास्टार’ को उपमा दिइएका यी अभिनेताले तत्कालीन अवस्थामा अमिताभ बच्चनले एउटा चलचित्रमा लिने रकमभन्दा बढी पारिश्रमिक लिन्थे। रोचक कुरा त के भने दक्षिण भारतीय चलचित्र उद्योग तलिउडमा भगवान् मानिने रजनीकान्तभन्दा पनि चिरञ्जीवी महँगो रकममा काम गरिरहेका थिए। त्यतिबेला द विकले चिरञ्जीवीलाई ‘द न्यू मनी मेसिन’ भनेर लेखेको थियो।

‘कोणिडेल शिव शंकारा बरप्रसाद’ चिरञ्जीवीको पूरा नाम हो। सन् १९५५ अगस्ट २२ का दिन जन्मिएका चिरञ्जीवी आफ्नो ६० औं वर्षप्रवेशका अवसरमा पशुपतिनाथ दर्शन गर्न आएका थिए। तत्पश्चात् नेपालका केही स्थानमा घुमेर उनी भारत फर्किए। अत्यन्तै गोप्य राखिएको उनको भ्रमणका क्रममा सुरक्षाको मागसमेत गरिएन्। दक्षिण भारतमा उनको जन्मदिन धूमधामका साथ मनाइने भए पनि यसपटक चिरञ्जीवीले आफैंले वर्थ डे नमनाउने भन्दै सुटुक्क नेपाल भ्रमणको योजना बनाएका थिए।

गत साता काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै चिरञ्जीवी होटल हयात पुगे। चिरञ्जीवी इन्डियन एयरलाइन्सको विमानबाट बेलुका ६ बजे नेपाल आइपुगेका थिए। आएको दिन हयातमै बसेर उनी भोलिपल्ट बिहान पौने ८ बजे पशुपतिनाथको मन्दिर प्रस्थान गरे। जन्मदिनको अवसर पारेर पशुपतिनाथको दर्शन गर्न आएका चिरञ्जीवीले १ सय ३३ ब्राह्मण राखेर विशेष पूजा गरेका थिए। ८ बजेदेखि १ बजेसम्म निरन्तर चलेको उक्त पूजामा अष्टचिरञ्जीवी पुजा, रुद्रीपाठ आदि विधिविधान पूरा गरिएको थियो। चिरञ्जीवी १ बजे उनी फेरि हयात फर्किएभने ४ बसेसम्म आराम गरेर साँझ भक्तपुर, सिपाडोलस्थित डोलेश्वर महादेवको दर्शन गर्न पुगे। चिरन्जीवीले चारधाममध्ये एक केदारनाथको शिर मानिएको डोलेश्वर महादेवमा ५ बजेदेखि ६ वजेसम्म भव्य पूजा गरे। त्यसपश्चात् काभ्रेको साँगासम्म पुगेर बेलुका होटल फर्किए। बेलुका उनी होटलमै आयोजित अनौपचारिक कार्यक्रममा सरिक भए। कान्तिपुर साप्ताहिकबाट


  •  
  •  
  •