संसदीय सुनुवाई समितिको बैठक सर्‍यो

259
  •  
  •  
  •  

काठमाडौं, १७ चैत(ओएनएस) : संसदीय सुनुवाई समितिको आइतबारको बैठक सारिएको छ ।

फाइल तस्बिर

नेपाली कांग्रेसका सदस्यहरुले सभापति शेरबहादुरसँग थप छलफल गर्नुपर्ने बताउँदै समय मागेपछि बैठक मंगलबारको लागि सारिएको छ ।

आजको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेश थपलियाको सुनुवाइ प्रक्रियाका अघि बढाउने कार्यतालिका थियो ।

आज नै समावेशी आयोगमा सिफारिस विष्णुमाया ओझा विरुद्धमा परेका उजुरीमाथि छलफल हुने बताइएको थियो ।
बैठकमा कांग्रेसबाट उपस्थित सदस्यद्वय भीमसेनदास प्रधान र जितेन्द्र देवले समय माग गरेपछि बैठक सारिएको हो ।

संवैधानिक परिषद्को बैठकमा उपस्थित नभएका प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा थपलियाको सिफारिसप्रति सन्तुष्ट हुन सकेका छैनन् ।

गुल्मी जिल्ला समितिले गरेको कार्यक्रमका लागि उपत्यकाबाहिर रहेका देउवा काठमाडौं नफर्केका कारण उनीसँग छलफल हुन नसकेको सदस्यहरुले बताएका छन् । सुनुवाइ समितिको बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताबिना निर्णय गरिएको भन्दै सदस्यहरुले आपत्ति जनाएका छन् ।

माघ ६ बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको थियो ।


  •  
  •  
  •