बाढीबाट सुनसरीमा थप दुई जनाको मृत्यु, सातहजार बढी विस्थापित

125
  •  
  •  
  •  

duban-sunsari
सुनसरी, ३० साउन (ओएनएस) : बाढीबाट सुनसरीमा सोमबार पनि थप दुई जनाको मृत्यु भएको छ। जिल्लामा शनिबारदेखि सोमबारसम्म ९ जनाको मृत्यु भइसकेको छ ।

जिल्लाका विभिन्न स्थानमा गरी सात हजार बढी स्थानीय विस्थापित भएका छन्। बाढीबाट झोक्राहा गाउँपालिका–५ नरसिंह टपरा पूर्ण डुबानमा परेको छ। हरिनगरा गाउँपालिका–१, २ रामनगरभुटाहा–३ र ४ गौतमपुर र हरिनगरा क्षेत्रमा समेत सयौं घर डुबानमा परेका छन्।

त्यस्तै, हरिनगरा–५ वसन्तपुरमा समेत गाउँभरि तीनदेखि सात फिटसम्म पानी जमेकाले दुई दिनदेखि स्थानीयवासी भोकभोकै बसेको छन् । वसन्तपुर र नरसिंह सीमा क्षेत्रमा ६०० घर पूर्ण डुबानमा परेको छ ।

त्यसैगरी कोशी गाउँपालिका–१, २, ३ र ५ नम्बर वडासमेत पूर्ण डुबानमा परेका छन्। यता सुनसरीका देवानगञ्ज, गढी र बर्जु गाउँपालिकको समेत धेरै वडा पूर्ण डुबानमा परेको स्थानीयवासीले जनाएका छन्।

अविरल वर्षा र खोलानालामा आएको बाढीका कारण पूर्व–पश्चिम राजमार्ग अधिकांश स्थानमा जलमग्न भई यातायात अवरुद्ध भएको छ।

नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना पनि पूर्णरुपमा डुबानमा परेको छ। बाढीका कारण सदरमुकाम इनरुवामा रहेका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला पशुसेवा कार्यालयलगायतका सरकारी कार्यालय डुबानमा परेका छन्।


  •  
  •  
  •