वैकल्पिक सडक खुलाउन स्थलगत अध्ययन सुरु

482
  •  
  •  
  •  

चौतारा, २१ साउन (ओएनएस) :  जुरेको पहिरोले सुनकोसी नदी थुनिएर अरनिको राजमार्गको डेढ किमि भाग पूर्णरुपमा क्षति भई यातायात अवरुद्ध भएपछि वैकल्पिक सडक निर्माण गर्न अध्ययन भइरहेको छ ।

माङ्खा– १ को ड्याम साइडदेखि माथिको डेढ किमि सडक पूर्णरुपमा क्षति भएपछि सडक विभागका महानिर्देशक देवेन्द्रबहादुर कार्कीको नेतृत्वमा स्थलगत निरीक्षण गर्न आएको टोलीले वैकल्पिक सडक खुलाउने बारेमा अध्ययन गरिरहेको हो ।

टोलीमा विभागका उप–महानिर्देशकद्वय केशव शर्मा र अर्जुन थापाको पनि सहभागिता थियो । कृतिम रुपमा नियमित तलाउको पानी ५० प्रतिशत कम भयो भने तीन दिनपछि साविककै रुटबाट ट्रयाक खुलाइने टोलीमा सहभागी डिभिजन सडक कार्यालय दोलखाका इन्जिनियर अरुणकुमार श्रीवास्तवले बताए । तर सो स्थानमा निरन्तर पहिरो खस्ने क्रम नरोकिएको र त्यहाँको भू–भागसमेत अति कमजोर देखिएकाले ट्रयाक खुलाए पनि दिगो नहुनुका साथै भयमुक्तरुपमा यात्रा गर्न नसकिने स्थानीयवासी बताउँछन् । त्यहाँ सम्भव नभए लामोसाँघु जिरीअन्तर्गत २१ किमिमा पर्ने शिलढुङ्गा–पिस्कर–तौथली–सुनकोसी ग्रामीण सडक वा खरिढुङ्गा–पिस्कर–धुस्कुन–सुनकोसी ग्रामीण सडकमध्ये एउटालाई मर्मत गरी यातायात खुलाउने बारेमा अध्ययन भइरहेको इन्जिनियर श्रीवास्तवले जानकारी दिए ।

ती दुई सडक लामो पर्ने भएकाले ड्याम सइडबाट टेकानपुरसम्म गएको सडकमा थप दुई किमि सडक निर्माण गरी दाबीखोला र सुनकोसी नदीमा अस्थायी पुल बनाउन सके सुनकोसी बजार हुँदै तातोपानीसम्म यातायात सुचारु हुने अवस्था छ ।


  •  
  •  
  •