सुनकोसीको ताल तत्काल फुट्ने सम्भावना टर्दै

392
  •  
  •  
  •  

खेमराज थापा
माङ्खा (सिन्धुपाल्चोक), २१ साउन (ओएनएस) : सिन्धुपाल्चोकको राम्चे–५, वनसाँघुमा गएको पहिरोले सुनकोसी नदी थुनिएर बनेको विशाल ताल तत्काल फुट्ने सम्भावना कम देखिएको छ । पहिरोले बनेको बाँधको चौडाई निकै धेरै भएकाले चट्टाले बाँध बनेको तत्काल फुट्ने सम्भावना नरहेको प्राविधिकहरु बताउँछन् ।

गत शनिबार बिहान गएको पहिरोले मांखा, राम्चे र टेकनपुरको सिमानामा सुनकोसी नदी करिब १३ घण्टा थुनिएर बनेको ताल फुटे त्यसभन्दा तलको क्षेत्रमा ठूलो नोक्सान पु¥याउने छ । तर, मंगलबारसम्म नदीमा पानीको बहाव साविकभन्दा धेरै हुँदा पनि एक किनारबाटमात्र नदीले बाटो लिनु र बाँधको आधारको चौडाइ करिब एक किलोमिटर र माथिको चौडाइ करिब एक सय मिटर हुनुले बाँध तत्काल भत्किने सम्भावना नरहेको प्राविधिकहरू बताउँछन् ।
पहिरोले बनाएको बाँधले सुनकोसी नदीमा करिब ३ किलोमिटरको लम्बाइ र ४६ मिटर गहिराइको विशाल ताल बनेको छ । मंगलबार पनि नदीको बहाव बढाउन सेनाले दुईपटक विस्फोट गराएको छ । शनिबारै साँझ राम्चेतर्फको किनाराबाट ‘ओभरफ्लो’ भएर नदी बग्न सुरु भएको थियो । मंगलबार नदीमा साविकको भन्दा केही मात्रमा बढी पानीको बहाव भएको ‘डिजास्टर प्रिभेन्सन नेटवर्क’ (डिपिनेट) का टोली नेता तथा इन्जिनियर हरिदर्शन श्रेष्ठले बताए । उनको नेतृत्वमा डिपिनेटको टोली सो तालको जोखिमबारे अध्ययन गर्न मंगलबार घटनास्थल पुगेको छ ।

श्रेष्ठले झट्ट हेर्दा पहरोले बनेको बाँध तत्काल भत्किने अवस्था नरहेको बताए । उनले भने, ‘यसरी हेर्दा त बाँध भत्किने कुनै सम्भावना देखिदैँन तर, यसको प्राविधिक पक्षका बारेमा अध्ययन अनुसन्धान भएपछिमात्र ठोस कुरा भन्न सकिन्छ ।’ उनले कंक्रिट र ढुंगाबाट बनेको अवस्थामा बाँध नभत्किने बताए । उनी भन्छन्, ‘यदि ढुंगा र कंक्रिटले बाँध बनेको भए तत्काल यो बाँध भत्किँदैन तर, माटोले बनेको भए भत्किन्छ ।’ वर्षाको उर्लंदो सुनकोसीलाई करिब १३ घण्टासम्म रोक्न सक्ने बाँध माटोले बनेको भन्न कठिन छ र पहिरो खसेको स्थानको अवस्था हेर्दा पनि सो बाँधमा किनै ठूला ढुंगा रहेको अनुमान लगाउन सकिन्छ ।

इन्जिनियर श्रेष्ठले उपकरणको माध्यमबाट बाँधको परीक्षण गरेपछि मात्र ताल फुट्ने नफुट्नेबारे भन्न सकिने बताए । उनले भने, ‘उपकरणबाट रेडियो किरण तालको पिँधसम्म पु¥याएपछि त्यसले दिने डेटाको विश्लेषणबाट बाँधको क्षमताबारे थाहा हुन्छ ।’ उनले त्यस्तो उपकरण त्रिभुवन विश्वविद्यालयसँग रहेको भन्ने सुनको बताए । उनले यदि त्रिविसँग त्यो उपकरण भए बुधबार बाँधको परीक्षण गर्न सकिने बताए । उनले परीक्षणपछि मात्र नदीको बहाव बढाउनेबारे के गर्दा उपयुक्त हुन्छ निर्णय लिनुपर्ने सुझाव दिए । उनले तत्काल बाँध फुट्ने सम्भावना नरहे पनि जोखिम नटरेको उल्लेख गर्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सोहीअनुसार सूचना दिनुपर्ने बताए । उनले तल्लो तटका बासिन्दालाई राति सुरक्षित स्थानमा राख्दा नै जोखिम कम हुने बताए । उनले हाल नेपाली सेनाले नदीको बहाव बढाउन गरिरहेको बम विस्फोटनले जोखिम कम गरेको दाबी गरे ।

नदीबाट करिब ४ किलोमिटरमाथिबाट एउटा पहाडै खसेको छ । राम्चे–५ बाट खसेको सो पहिरोले सुनकोसी पारी टेकनपुरमा क्षति पु¥याएको छ । सोही पहिरो सुनकोसी पारी टोकुनपुरको पहाडमा ठोक्किएर फर्कंदा मांखा–१ वनसाँघुमा क्षति पुगेको छ । हाल पनि सानो सानो पहिरो खसिरहेको छ । इन्जिनियर श्रेष्ठले सो स्थानमा अझै पनि पहिरो खस्ने सम्भावना रहेको उल्लेख गर्दै सो पहिरोले नदी थुन्न सक्ने बताए । यदि फेरि पहिरो गएमा हाल बनेको तालको सतह पनि बढ्न सक्नेछ । सुनकोसी नदी बहाव क्षेत्रका करिब एक हजार मानिस विस्थापित भएका छन् ।

जमिनको माथिल्लो तहमा जैविकवस्तु, दोस्रो तहमा माटो र तेस्रो तहमा चट्टान हुन्छ । पृथ्वीमा हुने कम्पनले जैविक तहबाट माटो तह हुँदै चट्टानको तहसम्म पानी पुग्ने र सो पानीले कालान्तरमा यस प्रकारका पहिरो जाने इन्जिनियर श्रेष्ठ बताउँछन् । उनले यस प्रकारको सुख्खा पहिरो एकैपटक जाने नभई पटक पटक जाने गरेको बताए । उनले सानो पहिरो जाँदा खासै ध्यान नदिइएकाले ठूलो क्षति हुन पुग्ने बताए ।


  •  
  •  
  •