जुरे पहिरोको प्रभाव सप्तकोसीसम्म पर्ने

223
  •  
  •  
  •  

काठमाडौं, १७ साउन (ओएनएस) :  सिन्धुपाल्चोको जुरोमा गएको पहिरोका कारण थुनिएको सुनकोसी नदी खुलाउने प्रयास जारी राखिएको छ ।  केन्द्रीय दैविक प्रकोप उद्धार समितिले थुनिएको नदी खुलाउन सबै उपाय अपनाउने निर्णय गरेको छ । नदी थुनिदा पानीको सहत निरन्तर बढेपछि सरकारले बम प्रहार गरेर थुनिएको नदी खुलाउने निर्णयसमेत गरेको छ ।

शनिबार बिहान करिब ३ बजेतिर पहिरो जाँदा नदी थुनिएको छ । नदी थुनिएर हाल सोस्थानमा करिब ४ किलोमटिर लामो ताल बनेको छ । पानीको सतह नदीको सतहबाट करिब डेढसय मिटरमाथि पुगेको नदी करिब ९ घण्टादेखि थुनिएको छ । नदी थुनिएको स्थानभन्दा तीन किलोमिटर माथि बाह्रविसे बजारसम्म पानी पुग्न थालेको छ । थुनिएको नदी एकैचोटी खुले पानीको तिव्र बहावले तलतिर ठूलो धनजनको क्षतिको सम्भावना अनुमान गर्दै स्थानीय प्रशासनले नदी छेउछाउका वासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।

सुनकोसी आसपासका बाह्रबिसे, लामोसाँघु, खाडी चौर, बलेसी, सुकुटेसम्मको बजार खतरामा छ । त्रसित स्थानीयबासी सुरक्षित स्थलको खोजीमा छन् ।
सुनकोसी पहिरोले थुनिएर अस्थायी बाँध बनेपछि त्यसको चपेटोमा विभिन्न जिल्लासमेत पर्ने भएका छन् । काभ्रे प्रशासनले सुनकोसी नदी छेउका दोलालघाटदेखि सिन्धुलीको केशेश्वर दुम्जा क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा सर्न सतर्क गराएको छ । सिन्धुलीमा पनि स्थानीय प्रशासनले सुनकोसी छेउका वासिन्दालाई सतर्क गराएको छ ।

काभ्रे दोलालघाटबजार देखि सिन्धुलीको कुशेश्वर सम्मको नदीको छेउका सबै वस्ती जोखिममा छन् । स्थानीय प्रशासनले ती वस्तिहरुमा सुरक्षित स्थानतर्फ सर्नका लागि आग्रह गर्दै जिल्ला प्रशासनले माइकिङ गरेको छ । त्रास र हतारमा स्थानीयवासी छन् । रुवावासी समेत चलेको छ । प्रहरी प्रधान कार्यालय, नेपाली सेना र सशस्त्र प्रहरी बलको स्पेसल टास्क फोर्स घट्नास्थलमा पुगेको छ ।

सुनकोसी नदीमा गएको पहिरोका कारण ओखलढुंगा प्रशासनले जिल्लाको नदी किनारामा सतर्कता अपनाउन आह्वान गरेको छ । सिन्धुली र उदयपुरसँग जोडिएको हर्कपुर, टोक्सेल, सिस्नेरी, वलखु क्षेत्रमा प्रहरीको टोली पठाई सुरक्षित रहन स्थायीयलाई आग्रह गरिएको छ ।

थुनिएको नदी फुटिनसकेकोले तत्काल त्रसित नहुन प्रहरीले आग्रह गरेको छ । सर्वसाधारण भने नदी किनार छोडेर उच्च भाग तर्फ सर्न थालिसकेका छन् । थुनिएको सुनकोसी नदी फुटेर बाढी आएमा ठूलो क्षति हुने भन्दै सिन्धुली प्रशासनले नदी किनार आसपासका वासिन्दालाइ सुरक्षितस्थानतर्फ सार्न थालेको छ । थुनिएको सुनकोसी फुटेर बाढी आएमा सिन्धुलीको खुर्कोटबजार सबैभन्दा बढि खतरामा पर्ने भएको छ ।

सुनकोसी नदी किनारकै समथर जमिनमा खुर्कोट बजार तथा बसपार्क रहेको छ । सोही स्थानमा इलाका प्रहरी कार्यालयको नवनिमिर्त भवन समेत छ । त्यसका अलावा कुशेश्वरदुम्जा, पुरानोझागाझोलीको मुलकोट, जोखिममा रहेका छन् ।

बीपी राजमार्ग समेत सुनकोसी किनारबाटै निर्माणाधीन अवस्थामा रहेकाले जोखिममा छ । हिमाल तराई जोड्ने सिन्धुली, रामेछापको सुनकोसी नदीमा भर्खरै निर्माण सम्पन्न भइ संचालनमा आएको खुर्कोटको पक्की पुल समेत खतरामा रहेको स्थानीयले बताएका छन् । नदी किनार तथा आसपासका बासिन्दालाइ सचेत गराउदै कतिपयस्थानमा सार्न थालिएको छ । उदयपुरमा कोसी क्षेत्रको वासिन्दालाई उच्च सर्तकता अपनाउन भनिएको छ । घुर्मीदेखि मैनामैनीको कोठु सम्मको कोसी किनारका वस्तिका सर्वसाधरणलाई उच्च सर्तकता साथ सुरक्षित स्थानमा सर्न भनिएको छ ।

पहिरोले करिब १ सय घर बगाएको र २ सय भन्दा मानिस वेपत्ता भएको अनुमा गरिएको छ । शनिबार बिहान करिब ३ बजेतिर गएको पहिरोले एक गाउँनै बगाएको छ । हालसम्म ८ जनाको शव फेला परेको छ भने किरब डेढ सय वेपत्ता छन् । नदी थुनिदा सो स्थानमा ठूलो ताल बनेको छ । नदी खुलाउन नेपाली सेनाले बम विस्फोटको तयारी गरिरहेको बुझिएको छ । यदी अचनाक नदी थुनिएर बनेको ताल फुटेमा त्यसको प्रभाव सप्तकोसीसम्म पर्नेछ । हाल कोशी व्यारेजका ३२ ढोका मध्ये ३१ ढोका खोली सकेको जनाइएको छ । यो ताल फुटे करिब २५ हजार मानिस प्रभावित हुने बताइएको छ ।


  •  
  •  
  •