काठमाडौं, १८ साउन (ओएनएस) : सिन्धुपाल्चोकको माङ्खास्थित जुरेमा शनिबार बिहान गएको पहिरोमा परि पुरिएर हराइ रहेकाको अवस्था अझै अज्ञात रहेको छ। ठूलो पहिरो गएको र नदी थुनिएर बनेको तालमा थप पानी जम्मा भएकोले उद्दार कार्य प्रभावित भएको छ।
पानीको निकास निकालिए पनि रातीको पानीका कारण निकासका लागि सेनाको इन्जिनियरिङ टोलीले पुनस् विष्फोट गर्ने तयारी गरिरहेको सैनिक प्रवक्ता जगदिशचन्द्र पोखरेलले जानकारी दिए।
पानी निकास नभएसम्म पहिरो खोतल्न समस्या उत्पन्न भएको छ।
उद्धारका लागि झण्डै पाँच सयको संख्यामा प्रहरी तथा सेनाको टोली हाल उक्त स्थानमा रहेका छन्। पानीको शनिबार नै निकास निकालिएकाले नदीको माथी तिर डुबानको खतरा भने कम भएको छ। ताल बनेको पानी खुल्न आजको दिनभर लाग्न सक्ने भएकाले नयाँ विष्फोटको सम्भावना बारे सेनाको इन्जिनियर टोलीले अध्ययन गरिरहेको प्रवक्ता पोखरेलले जानकारी दिए।
पहिरोमा परि कति मान्छे बेपत्ता भएका छन् भन्ने बारे अझै एकिन तथ्यांक पाइएको छैन। पहिरोमा ७७ घर बगेका छन्। पहिरोग्रस्त क्षेत्रका बासिन्दाहरू यत्रतत्र छरिएर भागेका कारण पनि बेपत्ताको संख्या एकिन हुन नसकेको हो। अहिलेसम्म एकसय ५० जनाको हाराहारीमा बेपत्ता भएको अनुमान गरिएको छ। यो संख्या घटबढ हुने सम्भावना छ।
सुनकोसी पहिरोमा परि मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले ४० हजार नगद उपलब्ध गराउने भएको छ। पहिरोमा परि ८ जनाको मृत्यु भएको थियो। पहिरोमा परि १६ जना घाइते भएका छन्।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद उपाध्यायले मृतकका परिवारलाई ४० हजार र घर भत्किएका परिवारलाई ५ हजार नगद वितरण गर्न लागिएको जानकारी दिए।