सुनीलको बलिउड छलाङ

277
  •  
  •  
  •  

काठमाडौं२१ भदौ ।
आफ्नो पहिलो दृश्यमा सुनील थापाले पि्रयंका चोपडालाई भन्छन्- ‘पृथ्वी गोलो छ तर बक्सरका लागि पृथ्वी वर्गाकार हुन्छ, बक्सिङ रिङ जस्तो ।’ वास्तविक जीवनमा पनि सुनीलका

लागि पृथ्वी उनले भनेजस्तो वर्गाकार होइन, गोलै बनेर आयो । त्यसैले होला उनले २८ वर्षपछि बलिउड फिल्ममा महत्त्वपूर्ण भूमिकामा अभिनय गर्ने मौका पाए ।

बलिउडको दोस्रो ‘इनिङ’मा सुनीलको पहिलो फिल्म ‘मेरी कोम’ रिलिज हुने अघिल्लो दिन अभिनेता टीका पहारीले उनको फेसबुक पेजमा लेखे- ‘बधाई छ, ३५ वर्षपछि तिमीले फेरि एकपटक यो काम गरेर देखायौ ।’ भारतको पुना फिल्म इन्स्टिच्युटमा अभिनय पढेका टीका आफैंले केही हिन्दी फिल्ममा अभिनय गरेका थिए ।

पाँच पटककी विश्व बक्सिङ च्याम्पियन भारतीय खेलाडी मेरी कोमको जीवनमा आधारित फिल्म शुक्रबार रिलिज भएको हो ।

त्यसमा सुनीलले मेरीको प्रशिक्षकको भूमिकामा आफ्नो प्रभाव छाडेका छन् । पूर्वएसियन च्याम्पियन प्रशिक्षकका रूपमा उनको भूमिकाको लम्बाइ, वजन र अभिनय उल्लेख्य छ । उनी प्रियंकापछिका दुई महत्त्वपूर्ण चरित्रमध्येमा छन् ।

फिल्मको मुख्य ध्यान कोमको चरित्रमा हुनु स्वाभाविक हो । तर, सुनील आफ्नो उपस्थिति र अभिनयको छाप फिल्ममा स्पष्ट दर्ता गराउन सफल भएका छन् । फिल्ममा उनका केही दृश्य र संवाद छन्, जसले उनलाई दर्शकको स्मृतिमा दिगो राख्न मद्दत

गर्छन् । उनले आफ्नी चेलीलाई भन्छन्, ‘बक्सरले विपक्षीमाथि दया गर्नु हुँदैन । दया गर्ने काम नर्सको हो र उपचार गर्ने काम डाक्टरको । बक्सरको काम प्रहार गर्ने हो ।’

नेपाली कलाकारको बम्बैया फिल्मसँगको साइनो नयाँ होइन । प्रकाश थापादेखि सुनील थापासम्मको शृंखलामा करिस्मा मानन्धर, गौरी मल्ल, मुरलीधर, उषा पौडेलजस्ता धेरै कलाकारले मुम्बईमा संघर्ष गरे । अर्कातिर मनीषा कोइराला र उदित नारायणजस्ता सफलता पाउने कलाकार पनि छन् । प्रकाश थापाजस्तै सुनील पनि पहिले हिन्दी फिल्म खेलेर पछि नेपाली फिल्ममा आएका थिए । कमल हासनको सुपरहिट फिल्म ‘एक दुजे के लिए’मा अभिनय गरेपछि सुनीलले त्यत्तिकै ठूलो हिन्दी फिल्म पाएका थिएनन् ।

तुलसी घिमिरेको फिल्म ‘चिनो’मा राते काइँला बनेर प्रकट भएपछि उनी यतै जमे । नेपाली फिल्ममा ‘भिलेन’को पर्याय बनिसकेर सुनील फेरि बलिउडमा भारतले शिक्षक दिवस मनाउने दिन, सेप्टेम्बर ५ मा ‘गुरु’ का रूपमा प्रकट भए ।

भारतकी चर्चित महिला खेलाडीका रूपमा मात्र नभएर पूर्वोत्तर भारतकी एउटी ‘नायिका’का रूपमा मेरी कोम लोकप्रिय छिन् ।

मणिपुर राज्यको सामान्य गाउँकी केटी कसरी विश्वच्याम्पियन बन्न सकिन् भन्ने कथा भएकाले पनि यो फिल्मलाई विशेष महत्त्वका साथ हेरिएको थियो । पूर्वोत्तर भारतीय चरित्रमा पञ्जाबी प्रियंका चोपडालाई लिइएको भनेर विरोध पनि भएको छ ।

बलिउडका नामी निर्माता सञ्जयलीला भन्सालीले फिल्म निर्माण गरेका हुन् भने पहिलो पटक निर्देशक बनेका उमंग कुमारले यसको निर्देशन ।

बलिउडका चलेका समीक्षक तरन आदर्शले आफ्नो समीक्षामा सुनीलको तारिफ गरेका छन् । ‘सुनीलले आफ्नो अभिनय र भावनात्मक पक्षको राम्रो प्रस्तुति दिएका छन्,’ उनले लेखेका छन् ।

रिलिजिको पहिलो दिन प्रकाशित समीक्षाहरूमा धेरै समीक्षकले फिल्मलाई औसत माने पनि प्रियंका, सुनील र अर्का कलाकार दर्शन कुमारको अभिनयलाई राम्रो भनेका छन् । रेडिफडटकमले ‘फिल्ममा प्रियंका छाए पनि उनको कोच (सुनील थापा) ले इमानदार प्रस्तुतिबाट आफ्नो उपस्थितिको अनुभव गराउँछन्’ भनेर लेखेको छ । केही समीक्षकले सुनील र दर्शन कुमारको आलोचना पनि गरेका छन् ।

पछिल्ला वर्षहरूमा नेपाली बजारमा हिन्दी फिल्मको प्रभुत्व बढदै गएको छ । आमिर खानको फिल्म ‘धुम ३’ ले नेपालबाट मात्रै ६ करोडजतिको व्यापार गरेको अनुमान गरिएको थियो । बलिउडमा केही नेपाली कलाकार जमेका भए पनि नेपाली फिल्मको भारतमा खासै प्रदर्शन हुँदैन ।

हलिउडमा खेलाडीका जीवनमाथि थुप्रै फिल्म बनेका भए पनि बलिउडमा ‘चक दे इन्डिया’ र ‘भाग मिल्खा भाग’ पछि यो लहर चलेको हो । हलिउडमा बक्सिङ खेलाडीकै विषयमा ‘रकी’, ‘रेजिङ बुल’ र ‘मिलियन डलर बेबी’ जस्ता चर्चित फिल्म बनेका छन् ।

ओस्कर विजेता ‘मिलियन डलर बेबी’ मा क्लिन्ट स्टहुडले बक्सिङ प्रशिक्षकको भूमिका गरेका थिए ।

सिक्किमका डेनी डेन्जोङपालाई मंगोलियन भएर पनि मुख्यधारका बलिउड फिल्ममा ठूलो स्टार बन्न सफल कलाकार मानिन्छ । लामो समय डेनी हिन्दी फिल्ममा ‘भिलेन’ बने । उनी सुस्ताइरहेका बेला ‘राँते काइला’ बलिउड पुगेका छन् । अहिले राजधानी काठमाडौंमा सुनीलले पि्रयंकालाई बोकेको फोटो भएको फिल्मको पोस्टर देखिन्छ । हेरौं, बलिउडले सुनीललाई कसरी बोक्छ । कान्तिपुरबाट


  •  
  •  
  •