‘सडक देउ वा फाँसी देउ, हामी श्वासप्रश्वासको दीर्घरोगी बन्न चाहन्नौं’

181
  •  
  •  
  •  

महोत्तरी, २७ बैशाख(ओएनएस) : जनकपुर–जलेश्वर–भिठ्ठामोड विद्यापति राजमार्ग चौडा तथा कालोपत्रेको माग गर्दै यस क्षेत्रका बासिन्दा सुन्दर अभियान ‘सडक देउ अथवा फाँसी देउ, हामी श्वासप्रश्वासको दीर्घरोगी बन्न चाहन्नौं’मार्फत आन्दोलन थालेका छन् ।

प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा यातायात मन्त्रीलाई तत्काल सडक निर्माण सम्बन्धमा ज्ञापनपत्र बुझाई वैशाख १९ गतेबाट दैनिक एकघण्टा सडक अवरूद्ध गर्ने काम जारी रहेको छ । यो हप्ताभित्रमा विद्यापति राजमार्गमा मर्मतसँगै कालोपत्रे हाल्ने काम नभए भारत जोड्ने भिठामोड नाका ठप्प पार्ने चेतावनी दिएका छन् ।

सुन्दर अभियानको नामबाट दैनिक गरिने एक घण्टा सडक अवरुद्ध कार्यमा नेपाल प्राध्यापक संघ मटिहानी क्याम्पस, निजामति कर्मचारी यूनियन संघ महोत्तरी, नेपाल पत्रकार महासंघसँगै विभिन्न राजनीतिक दल तथा नागरिक समाजले सहयोग गर्दै आएका छन् । भिठामोड जनकपुरसम्मको १८ किलोमिटर यात्रा गर्न धूलो खाँदै घटीमा यात्रुले एक घण्टा खर्चिनुपरेको तथा दुर्घटना हुने सम्भावना अत्याधिक भएको सुन्दर अभियानका कार्यकर्ता मनोज झाले बताए ।

नेपाल सरकारले भारत सरकारको सहयोगमा विद्यापति राजमार्गलाई हुलाकी राजमार्गमै राखेर जनकपुर–भिठामोड चार लेनको सडक बनाउन आश्वासन दिदैं आएपनि काम अझै काम सुचारु भएको छैन ।


  •  
  •  
  •