भागवण्डा मिलाउन सुकुम्बासी समस्या समाधान आयोग गठन संशोधन गरिने

2427
  •  
  •  
  •  

काठमाडौं, ८ मंसिर : सरकारले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोगमा संशोधन गर्ने प्रस्ताव भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दर्ता गराएको छ । असार २ गते बसेको मन्त्रिपरिषदको बैठकले उपत्यकाका तीन जिल्लाबाहेक ७२ जिल्लामा सुकुम्बासी समस्या समाधान आयोग गठन गर्ने निर्णय गरेको थियो ।

आयोग गठनमा सत्तासाझेदार दल एमालेले एकलौटी गरेको भन्दै सरकारको नेतृत्वको गरेको दल कांग्रेसले विरोध गरेपछि कात्तिक २० मा बसेको मन्त्रिपरिषद बैठकले सुकुम्बासी समस्या समाधान आयोगमा केन्द्रमा उपाध्यक्ष र एक सदस्य थप गर्ने निर्णय गरेको थियो । यसैगरी जिल्लामा उपाध्यक्ष थप गरी कांग्रेस–एमालेका अध्यक्ष बराबर बनाउने निर्णय समेत गरेको थियो । मन्त्रिपरिषदको निर्णयसँगै कांगेसले आफ्नो भागमा परेका पदाधिकारी नियुक्त गर्न उपसभापति रामचन्द्र पौडेलले सबै जिल्लाबाट नाम मागेको स्रोतले बतायो ।

पार्टी सभापति सुशील कोइराला निकट जिल्ला सभापतिले आयोगमा बस्ने पदाधिकारीको नाम समेत बुझाएको बताइएको छ । स्रोतका अनुसार उपसभापति पौडेलले आफ्नो भागमा परेको नाम भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई बुझाउँन जाँदा सचिव रेग्मीले मन्त्रिपरिषदले पदाधिकारी थप गर्ने निर्णयको फाइल मन्त्रालयमा आइनपुगेको बताएपछि पौडेल आक्रोशित बनेका स्रोतको दाबी छ ।

कात्तिक २० मा बसेको मन्त्रिपरिषद बैठकले केन्द्रमा अध्यक्ष र एक सदस्य तथा जिल्लामा उपाध्यक्ष थप गर्ने निर्णय गरेको संचारमन्त्रीसमेत रकेका सरकारका प्रवक्ता मिनेन्द्र रिजालले बताएका थिए ।

आयोगमा पदाधिकारी थप गर्ने मन्त्रिपरिषदले सैद्धान्तिक सहमति गरिसकेको भन्दै भूमि सुधार तथा व्यवस्था मन्त्रालयले मंगलबार आयोग गठन संशोधन गर्न मन्त्रिपरिषद कार्यायलयमा संशोधन प्रस्ताव गर्दा गराएको छ ।


  •  
  •  
  •