सुकी उच्चस्तरीय भेटवार्तामा, दिउँसो सभासदहरुलाई सम्वोधन

246
  •  
  •  
  •  

काठमाडौं ३१ जेठ (ओएनएस) : नेपाल भ्रमणमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री एवम् नोबेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी उच्चस्तरीय भेटवार्तामा सक्रिय छन् । उनले शनिबार बिहान राष्ट्रपति डा रामबरण यादवसँग भेट गरेकी छन् भने दिउँसो संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग भेट हुनेछ । सुकीले सभासदहरुलाई दिउँसो संविधानसभा भवनमा सम्वोधन गर्ने कार्यक्रम पनि रहेको छ । सम्वोधनमा उनले नेपाल म्यानमारको सम्बन्ध, नेपालको प्रजातन्त्रका विषयमा भनाई राख्नेछिन् । त्यसअघि संविधानसभाका अध्यक्ष नेम्वाङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । साढे २ बजे संविधानसभाका अध्यक्ष नेम्वाङसँग भेटपछि पौने ३ बजे सभासदहरुलाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

आजै बिपी चिन्तन प्रतिष्ठानले राजधानीमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । नेत्री सुकी हिजो मध्याह्न नेपाल आइपुग्नुभएको हो । नेपाल भ्रमणका क्रममा नेत्री सुकीले राष्ट्रपति, विभिन्न राजनीतिक दलका प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री सुशील कोइरालासँग भने हिजो नै भेटवार्ता भइसकेको छ । विश्वभर स्वतन्त्रता र प्रजातान्त्रिक आन्दोलनको सङ्घर्षको पर्याय बनेकी नेत्री सुकीले म्यान्मारको स्वतन्त्रता र प्रजातान्त्रिक आन्दोलनका क्रममा २१ वर्ष बन्दी जीवन बिताउनुभएको थियो । सन् १९८९ जुलाईदेखि बन्दी जीवन व्यतीत गर्नुभएकी उहाँ सन् २०१० को नोभेम्बर १३ मा मुक्त हुनुभएको थियो ।

 


  •  
  •  
  •