काठमाडौं १५ माघ ।
मोदी सरकारले बरियताक्रम र पहुँचका आधारमा प्रभावशाली मानिने विदेश सचिव पदमा सेवारत सुजाता सिंहको कार्यशैलीमा असन्तुष्टी जनाउँदै पदबाट हटाएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाको दिल्ली भ्रमण टुङ्गिएको भोलीपल्टै बुधबार अपरान्ह सचिव सिंहलाई हटाइएको हो । २०१३ को अगष्टदेखि विदेश सचिव रहेकी सिंह त्यसअघि जर्मनीमा राजदूत थिइन् । सेवाबाट अवकाश पाउन ८ महिना मात्रै बाँकी रहेको अवस्थामा हटाइएकी सिंहको ठाउँमा हाल अमेरिकास्थित भारतीय राजदूत सुव्रमन्यम जयशंकरले सचिव कार्यभार सम्हाल्नेछन् ।
यसरी विदेश सचिवको तहमा कार्यशैलीमा असन्तुष्टी जनाएर यसअघि सन् १९८७ मा तत्कालिन प्रधानमन्त्री राजीव गान्धीले सचिव ए.पी. वेंकटेश्वरनलाई पदच्युत गराएका थिए । मिडियामा आएको जानकारीअनुसार विदेश सचिव सुजाता सिंहले वैदेशिक सेवामा सन् १९७६ मा प्रवेश पाएकी हुन् । उनीअघि चोकिला आयर र निरुपमा राओले मात्रै भारतीय विदेश मन्त्रालयमा सचिव तहको उच्च पदस्थ तहमा पुगेका थिए ।
नवनियुक्त विदेश सचिव सुव्रमन्यम जयशंकरले विहिबारबाटै पदभार सम्हाल्ने भएको विदेश मन्त्रालयले जनाएको छ । हालै अमेरिकी राष्ट्रपतिको दिल्ली भ्रमणमा सम्पन्न भारत–अमेरिका परमाणु सम्झौताका प्रमुख मस्यौदाकार र यो सम्झौतालाई हस्ताक्षरको तहमा ल्याउनेमा प्रमुख मानिएका जयशंकरलाई यसअघिको मनमोहन सिंह सरकारले सचिव पदमा ल्याउन खोजेको थियो । तर, कांग्रेस नेतृ सोनिया गान्धीको इच्छाअनुसार सुजाता सिंहलाई विदेश सभिव बनाइएको मिडियाले जनाएका छन् ।
तमिल मुलका नवनियुक्त विदेश सचिव सुव्रमन्यम जयशंकर यसअघि चीन, चेक रिपब्लिक र अमेरिकाका लागि भारतीय राजदूत थिए । उनी सिंगापुरका लागि भारतीय उच्चायुक्त समेत बनेका थिए । ६० बर्षिय जयशंकर सन् १९७७ मा भारतीय विदेश सेवामा प्रवेश गरेका हुन् ।
कान्तिपुरबाट