विराटनगर, ८ चैत(ओएनएस) : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नेपालमा राजतन्त्र नफर्किने बताएकी छन् ।
विराटनगरस्थित जिपी फाउन्डेसनमा सोमबार बिहान पत्रकारहरूसँगको कुराकानीमा नेतृ कोइरालाले राजतन्त्र फर्कने सम्भावना नरहेको बताइन् । उनले राजावादीहरूलाई राजतन्त्र फर्किने सपना नदेख्न आग्रह गरेकी छन् ।
७ दशक लामो राजनीतिक उथलपुथलपछि परिवर्तन सम्भव भएको र संविधान जारी भएको उनको भनाई थियो । उनले सबै राजनीतिक शक्ति एकजुट भएर ७ दशकभन्दा लामो संघर्षपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताइन् । उनले अब सबै राजनीतिक शक्ति, जनता मिलेर मुलुकको आर्थिक क्रान्तिमा लाग्नुपर्ने भनाई राखेकी छन् ।
युवाशक्तिलाई स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गरेर युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्ने र तीनै युवाहरूबाट देशलाई विकासको बाटोमा अगाडि बढाउनुपर्ने उनको भनाई थियो ।