काठमाडौँ, १५ फागुन(ओएनएस) : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले १३ औँ महाधिवेशका लागि सभापतिमा उम्मेदवारीको घओषणा गरेकी छन् । उनले आफ्नो उम्मेदवारी कुनै पदको बार्गेनिङको लागि नभएर महिला नेतृत्व कायम गर्नका लागि उम्मेदवारी दिएको बताएकी छन् ।
रिपोर्टर्सले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले आफू धेरै अगाडि बढिसकेको र अब पछि हट्ने सम्भावना नरहेको बताएकी छन् । उनले भनिन्, ‘अब मलाई अरुले सपोर्ट गर्नुपर्छ । म यसपटक पनि ब्याक भए काग्रेसमा महिला नेतृत्व १५ वर्षपछि पर्छ ।’
कोइरालाले आफूलाई कांग्रेसका देशै भरीका कार्यकर्ताको समर्थन रहेको दाबी गर्दै विजयी हुने दाबी गरेकी छन् । ‘म देश भरी घुमेकी छु। मलाई सभापति पदमा उम्मेदवार बन्न साथीहरुको धेरै दबाब छ,’ उनले भनिन्, ‘देशैभरी मैले समर्थन पाएकी छु । १२ औं अधिवेशनमा मैले महामन्त्री त्याग गरेकै हुँ, सधै भरी मैले मात्रै त्याग गर्ने कुरा हुँदैन ।’
उनले पार्टी भित्र बीपीदेखि गिरिजाप्रसाद कोइरालासम्मको योगदानलाई समाप्त पार्ने ग्राईण्ड डिजाइन भइरहेको भन्दै आफू र कांग्रेसलाई पनि समाप्त पार्ने षडयन्त्र भईरहेको बताइन् । कोइरालाले पार्टीभित्र गुटबन्दी, भागबण्डा अन्त्य गरे युवाहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा एक्सपोजर दिलाउन पनि आफ्नो उम्मेदवारी आवश्यक रहेको भन्दै विगतमा नेताहरुले दिएको योगदान बिर्सिए काग्रेस नै समाप्त हुने चेतावनी दिइन् ।
उनले कोइराला परिवारको समेत आफूलाई समर्थन भएको दावी गर्दै बाहिर आएका कुराहरु गलत भएको दावी गरिन् । कोइरालाले भनिन्, ‘सशांक कोइराला, शेखर कोइरालासँग मेरो कुरा भएको छ । मलाई उनीहरुले समर्थन जनाएका छन् र बाहिर आएका कुराहरु गलत भएको आश्वस्त पारेका छन् ।’