अन्तरजातीय प्रेम अस्वीकारपछिको आत्महत्या घटनाः ४ दिनपछि काजकिरिया

188
  •  
  •  
  •  

झापा, ११ माघ (ओएनएस) : हाम्रो समाज अझै पनि जातीय विभेद कतिसम्म छ भन्ने उदाहरण झापामा देखिएको छ ।

गत शुक्रबार झापाको कनकाई नगरपालिकामा अन्तरजातीय प्रेम विवाहमा परीणत हुन नसकेपछि युवायुवतीले आत्महत्या गरेका थिए । स्थानीय लोकनाथ भट्टराई र सोही ठाउँकी अस्मिता तोलाङ्गीले विरीङ्ग नदीको किनारामा सिसौको रुखमा एउटै डोरीले पासो लगाई आत्महत्या गरेका थिए ।

मृतकको शव परीक्षण गरेपछि वैदिक परम्पराअनुसार दाहसंस्कार गर्ने समयमा पुजेका पुरेतलाई खबर गर्दा आफू नभ्याउने भन्दै पन्छिएको र अन्य पुरोहितले पनि काजक्रिया गर्न नमान्दा पीडित परिवारमा शोकमाथि शोक थपिएको थियो ।

नागरिक समाजले दबाब दिएपछि मृत्यु भएको चार दिनपछि बल्ल कनकाई नगरपालिका–७ निवासी लोकनाथ भट्टराई (ईश्वरी) को हिन्दू परम्पराअनुसार काजकिरिया सुरु भएको छ ।

अन्तरजातीय प्रेमसम्वन्धका कारण आत्महत्या गरेको भनिएका कनकाई नगरपालिका–७, मन्सापुर निवासी भट्टराईको काजक्रिया नहुँदा पीडित परिवारमा थप पीडा थपिएको थियो । भट्टराई परिवारले विगत १२ वर्षदेखि पुज्दै आएका पुरोहित सोही ठाउँ निवासी रोहिणीप्रसाद गौतमले उनको काजकिरिया नगरिदिएपछि मृतक भट्टराईको काजक्रिया हुन नसकेको बताइएको छ ।

उनको काजकिरियाका लागि सोमबार दिउँसो नागरिक समाजको टोलीले भट्टराईको घरमा गएर पुरोहित यादवप्रसाद खतिवडालाई काजक्रिया गराउन आग्रह गरेपछि अपराह्न ३ बजेदेखि उनको काजकिरिया थालिएको हो ।

सोमबार अपराह्नदेखि मृतकका ठूलोबुबा लीला भट्टराई भतिजाको काजकिरियाका लागि कोरोढिकुरो गरेर कोरामा बसेको सामाजिक अगुवा कुमारप्रसाद खरेलले बताए ।


  •  
  •  
  •