नेताहरु माघ ८ भित्र संविधान चाहानु हुन्न : नेम्वाङ

487
  •  
  •  
  •  

Subash-Nemwang1काठमाडौं ८ पुस ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्गले शीर्ष नेताहरुले माघ ८ गतेभित्र संविधान जारी गर्न नचाहेको भन्दै असन्तुष्टि राखेका छन् । आफूसँगको संवादमा २ घण्टाभित्रै सहमति जुट्ने भनि पटक-पटक आश्वस्त पारेपनि अब पत्याउने अवस्था नरहेको उनले बताए ।

‘उहाँ (प्रमुख नेता)हरुले नसकेको होइन, संविधान बनाउन नचाहेको जस्तो लाग्न थालेको छ’, पूर्व निर्धारित माघ ८ नजिकिदै जादा शीर्ष नेताहरु संवादहिनता पुगेपछि निरास हुदै नेम्वाङ्गले सोमबार संविधानसभा हलमा संवाददाताहरुसँग भने-‘संविधान बनाउन किन चाहनु भएको छैन, मैले बुझ्न सकेको छैन ।’

संविधानसभा अन्तर्गत संवाद समितिले सहमति जुटाउन भन्दै ४ पटक म्याद लिएको थियो । म्याद थप गर्ने क्रममा समिति सभापति एवं एमाओवादी नेता बाबुराम भट्टराईसहितका नेताहरुले नेम्वाङ्गलाई अन्तर्वस्तुमा छलफल गरी २ घण्टामै सहमति जुट्ने बताएका थिए । तर, असहमतिको प्रतिवेदनसहित संवादबाट प्रतिवेदन आएपछि अब के गर्ने भन्नेमा संविधानसभा स्वयं एक सातादेखि अनिणिर्त छ ।

उक्त प्रतिवेदनमाथि सभासदहरु २ कित्तामा उभिई वादविवाद गरिरहेका छन् भने प्रमुख दलका शीर्ष नेताहरु बैठकमै अशिष्ट शब्द प्रयोग गरी बाझाबाझको तहमा ओर्लेका छन् । विपक्षी एमाओवादी, मधेशीसहितको मोर्चाले त सोमबार आन्दोलनकै कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

नपत्याउदो गरी नेताहरु विभाजित हुदै गएको र यसले संविधान बन्ने काममा थप आलटाल हुने भन्दै नेम्वाङ्गले यसलाई रोक्ने प्रमुख जिम्मेवारी पनि शीर्ष नेतृत्वकै रहेको बताए । उनले त्यसका लागि २ विकल्प सुझाए । पहिलो दलहरुबीच उच्चस्तरको एकता र अर्को निरन्तर संवाद । ‘दुवै हुन नसकेमा’, यसअघि शीर्ष नेतृत्वप्रति कमै प्रतिक्रिया व्यक्त गर्ने नेम्वाङ्गले भने-‘नेताहरु कमजोर सावित हुनुहुनेछ । त्यो हुनु भनेको माघ ८ मा संविधान जारी हुन नसक्नु हो ।’

सोमबार दिउसो र साँझ २ पटक भएको प्रधानमन्त्री सुशिल कोइरालासँगको भेटमा समेत उनले यी २ प्रस्ताव राखेका थिए । कोइरालासँग दिउसो उनी एक्लै र साँझ एमाले अध्यक्ष्ा केपी ओलीसहित भेटेका थिए ।

दुवै भेटमा अध्यक्ष नेम्वाङ्गले शीर्ष नेताहरुको पछिल्ला प्रस्तुति, अभिव्यक्तिप्रति असन्तुष्टि जनाएको स्रोतले जनायो । ‘कोइरालालाई दलका नेताहरुबीच आज वार्ता भयो भन्दा छैन भन्ने जवाफ दिनुभएको थियो । भोलि बैठक छ छ कि भनेर सोध्दा समेत टुंगो लागेको छैन भन्ने जवाफ पाएपछि भने सभामुख झस्किनुभएको थियो’,।
कान्तिपुरबाट


  •  
  •  
  •