जनादेशलाई रोक्ने दुस्प्रयास नगर्नुसः नेम्वाङ

397
  •  
  •  
  •  

झापा, २ पुस (ओएनएस) : पूर्वसभामुख एवं एमाले स्थायी समिति सदस्य सुवास नेम्वाङले राष्ट्रिय सभा विधेयकको नाममा कांग्रेसले बखेडा झिकेर जनप्रतिनिधिलाई काम गर्नबाट बञ्जित गराउन खोजेको आरोप लगाएका छन् ।

जनादेशलाई रोक्ने दुस्प्रयास नगर्न उनले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सचेत समेत गराए । आइतबार दमकमा पत्रकार भेटघाटमा नेम्वाङले ‘बखेडा झिकेर जनताबाट प्राप्त जनादेशलाई सरकारमा जानबाट रोक्न मिल्दैन । प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो चाडो बाटो खुल्ला गरिदिनुपर्छ ।’

उनले राष्ट्रियसभा विद्येयक ल्याउन सरकारले नै ढिला गरेको समेत आरोप लगाए । ‘विद्येयक नर्वाचन अघिनै ल्याउनुपथ्र्यो । निर्वाचन परिणाम आइसकेपछि विद्येयक ल्याएकोले समस्या देखिएको हो’ उनले भने ‘एकलसंक्रमणिय जुन संविधान विपरीत छ । हामी संविधान विपरित जान सक्दैनौँ ।’ संविधानले नै सामान्य बहुमत भनेको अवस्थामा एकल संक्रमणीय भनि जिद्दी गर्नु कतिको जायज हो ? नेम्वाङले प्रश्न गरे ।

कांग्रेसले आफ्नो संख्या बढाउन बखेडा झिकेको उनको दावी छ । उनले संविधान कार्यान्वयनका लागि निर्वाचन स्विकार्ने दललाई संविधानले व्यवस्था गरेको प्रणालीहरु स्विकारेर जान सुझाव दिए । एमाले र माओवादी संयमित भएर पार्टी एकता हुने समेत उनले बताए । नेम्वाङ आइतबार नै राजधानी फर्किएका छन् ।


  •  
  •  
  •