सभाध्यक्षले नै चाहेको कुरा परेन संविधानमा

974
  •  
  •  
  •  

subash nemwag
subash nemwag

काठमाडौं २१ भदौ (ओएनएस) :
आफ्ना सरोकारका कुरा संविधानमा परेनन् भनेर चित्त दुखाउने, आन्दोलन र विरोध गर्नेको मुलुकमा कमी छैन अहिले । आफ्नो पहुँच नपुगेको भन्नेदेखि सर्वसाधारणका कुरा ठूला नेताले नसुनेको आरोप लगाउनेसम्म भेटिन्छन् । तर, संविधानसभाका सर्वोच्च पदाधिकारी अर्थात् सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले नै चाहेका कतिपय कुरा संविधानमा परेका छैनन् । उनले चाहेका कुरा अब संविधानमा समेट्ने बाटो पनि छैन ।

सभाध्यक्ष नेम्वाङका अनुसार, उनी संविधानको प्रस्तावनामा बुद्ध जन्मेको र सगरमाथा रहेको देश भन्ने कुरा संविधानमा परेको हेर्न चाहन्थे । तर, दलहरूले उनको सुझाव नमानेका कारण त्यो चाहना अधुरै रह्यो ।

उनी भन्छन्, ‘मैले दलका नेताहरूलाई भनेको पनि हो । उहाँहरु हास्नुभयो । मेरो कुरा बेठीक पनि कसैले भन्नुभएन । तर, संविधानमा भने पारिएन ।’ अब त्यो चाहना कानुनी बन्धनका कारण पूरा हुन नसक्ने पनि उनले बताए ।

संविधानको विधेयकमाथि परेका संशोधन प्रस्तावमाथि भदौ २२ गतेबाट छलफल सुरु गर्ने नेम्वाङले जानकारी दिए । संशोधन प्रस्तावकर्ता र त्यसमाथि सभासदहरूले बोल्ने क्रम सकिएपछि दफावार रुपमा संविधान पारित गरिनेछ । सुरुमा हरेक संशोधन प्रस्तावलाई ध्वनि मतका आधारमा निर्णय गरिनेछ ।


  •  
  •  
  •