नेम्वाङले सोधे– ‘समानान्तर सरकार भन्या के दाहालजी?’

56
  •  
  •  
  •  

काठमाडौं २ फागुन ।
तपाईंले भनेजसरी नै संविधानसभाको बैठक अर्को मिति तय नगरी स्थगित भएको छ। अब त सहमति होला नि,’ संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई शुक्रबार बिहान संवैधानिक परिषदको बैठक क्रममा भेट्नासाथ सोधे।दाहालसँग त्यसको सोझो जवाफ थिएन। उनी मुसुमुसु हाँसी मात्र रहे।

संवैधानिक परिषद बैठक क्रममा बालुवाटारमा भेला भएका दाहाल शुक्रबार प्रधानमन्त्री सुशील कोइरालालगायत सत्तारुढ दलका शीर्ष नेता र संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग केहीबेर गफिए।
नेम्वाङले ठट्यौली पारामा दाहाललाई फेरि सोधे, ‘संविधानसभा अर्को सूचना नभएसम्मका लागि स्थगित भएपछि तपार्इंले झनै समानान्तर सत्ता चलाउने कुरा गर्नुभयो। यो के भनेको?’
दाहालले मुस्कुराउँदै जवाफ दिए, ‘मैले बिबिसीसहित विभिन्न सञ्चारमाध्यममार्फत तपाईंको यो कामको स्वागत गर्दै धन्यवादसमेत दिएको छु। समानान्तर सत्ता चलाउने कुरा तपाईंले कहाँ सुन्नुभयो? त्यो संविधानसभा स्थगित हुनुपहिले नै भनेको हुँ, त्यसपछि होइन। हिजोदेखि भएका कुरालाई हामीले सकारात्मक रूपमा लिएका छौं।’
सभाध्यक्ष नेम्वाङले यसरी समय सदुपयोग गर्दै परिणामुखी वार्ता तत्काल सुरु गर्न प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई एकसाथ आग्रह गरे।
माघ ९ गते संविधानसभा भवन नयाँबानेश्वरमा भएको बैठकपछि दुई धु्रवमा रहेका नेताबीच अनौपचारिक रूपमा भएको यो पहिलो प्रत्यक्ष वार्ता थियो।
सभाध्यक्ष नेम्वाङले संविधानसभाका सबै प्रक्रिया स्थगित भएको मौकामा परिणाममुखी वार्ता गर्न आग्रह गर्दै प्रधानमन्त्री र दाहाललाई शुक्रबारबाटै औपचारिक छलफल सुरु गर्न आग्रह गरे। सहमतिको पहल सत्तारुढ र ठूला दलबाटै हुनुपर्ने उनको जोड थियो।
प्रधानमन्त्री कोइरालाले दाहाल र नेम्वाङका अगाडि ‘अब विपक्षीसँग वार्ताको सुरुआत भएको’ प्रतिक्रिया पनि दिए। शुक्रबारै बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच मात्र छलफल गर्ने तय पनि भयो।प्रधानमन्त्री कोइराला शुक्रबार बेलुका दुई नेताबीच छलफल हुनेमा विश्वस्त थिए। संवैधानिक परिषदको बैठकपछि प्रधानमन्त्री कोइरालाले परिषद बैठकमा सहभागी भएकाहरूसँग बेलुका एमाओवादी अध्यक्ष दाहालसँग कुराकानी हुने बताएका थिए। तर बेलुकापख दाहालले बालुवाटारमा फोन गरी आउन नसक्ने खबर पठाए।
‘एमाओवादी अध्यक्ष दाहालले आज आउन नसक्ने खबर पठाउनुभयो,’ प्रधानमन्त्री कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले नागरिकसँग भने।
दाहालका स्वकीय सचिव चूडामणि खड्काले भने दुई नेताबीच बेलुका छलफल हुने हल्ला मात्रै भएको बताए।
‘बैठकको समय तय भएको होइन,’ खड्काले नागरिकसँग भने, ‘दुई नेताको बैठक हुँदैछ भनेर हल्ला मात्र भएको हो।’
संविधानसभा अध्यक्ष नेम्वाङले बिहीबार विपक्षीको मागबमोजिम संविधानसभाको बैठक अनिश्चित कालका लागि स्थगित गरेपछि प्रधानमन्त्री, विपक्षी दलका नेता, एमालेका प्रभावशाली नेता, नागरिक समाज सबैसँग सार्थक र परिणाममुखी वार्ताका लागि निरन्तर आग्रह गरिरहेका छन्।
नेम्वाङले नागरिक समाजका अगुवालाई शुक्रबार पनि सिंहदरबारमा बोलाई सार्थक वार्ताको वातावरणका लागि दबाब दिन आग्रह गरेका थिए।
‘वार्ता औपचारिक रूपमा र परिणाममुखी हुनुपर्छ,’ नेम्वाङले नागरिक समाजका अगुवाहरूसँग भनेका थिए, ‘तपार्इंहरूको आग्रहबमोजिम संविधानसभा बैठक स्थगित भएको छ। यो समयको सदुपयोग गर्ने गरी तपार्इंहरू पनि दबाब दिनुहोस्।’
यसअघि बिहीबार संविधानसभा बैठक सुरु हुनुअघि नै नागरिक समाजका अगुवाले प्रधानमन्त्री, विपक्षी दलका नेता, संविधानसभाका अध्यक्ष, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी संविधानसभा बैठक मिति नतोकी स्थगित गरेर वार्ताको वातावरण बनाउन आग्रह गरेका थिए।
उच्चस्रोतका अनुसार संविधानसभा बैठक फागुन ११ गतेसम्म स्थगित गर्ने तयारी संविधानसभा सचिवालयको थियो।
एमाओवादीले पहिले पनि सहमतिका लागि १० दिनको समय आवश्यक पर्ने बताएको हुनाले त्यसलाई मध्यनजर गर्दै फागुन ११ गते संविधानसभा बैठक बोलाउने तयारी थियो।
दाहालले प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीलाई फोन गरी संविधानसभा बैठक मिति नतोकी स्थगित गरेर वार्ताको वातावरण बनाउन आग्रह गरेका थिए।
‘मिति नै तोक्दा दबाब दिएजस्तो हुन्छ,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मिति तोकेको भोलिपल्ट अर्थात् फागुन १२ गते सहमति हुने अवस्था भयो भने पनि राम्रो हुँदैन। त्यसैले मिति नतोकी संविधानसभा बैठक स्थगित गरेर वार्ताको पहल गरौं।’
दाहालको यस्तो आग्रहपछि सत्तारुढ दल कांग्रेस/एमाले नेता पनि लचकता देखाउँदै संविधानसभा बैठक स्थगित गर्न तयार भएका थिए।
बैठक स्थगित गरेपछि अध्यक्ष नेम्वाङले सकेसम्म छिटो दलहरुबीच वार्ता र सहमतिको वातावरण बनाउन पहल गरिरहेको जानकारी दिए। समानान्तर सत्ता चलाउने कुरा तपाईंले कहाँ सुन्नुभयो? त्यो संविधानसभा स्थगित हुनुपहिले नै भनेको हुँ। त्यसपछि होइन। हिजो (शुक्रबार) देखि भएका कुराहरुलाई हामीले सकारात्मक रुपमा लिएका छौं।
नागरिकबाट ‘

 


  •  
  •  
  •