सभाध्यक्ष भन्छन् : २०७२ सालभित्र संविधान बन्छ

133
  •  
  •  
  •  

काठमाडौ, २९ चैत (ओएनएस) : संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले वि.सं. २०७२ साललाई संविधान वर्षका रुपमा मनाउनुपर्ने बताएका छन् ।

एक वर्ष भित्र संविधान जारी गर्ने कसम खाएका नेताले विषय वा प्रक्रिया दुबैमा सहमति गर्न नसक्दा माघदेखि आजको मिति गुज्रिएको भन्दै उनले ७२ साललाई संविधान वर्षका रुपमा मनाउन सबैलाई आ–आफ्नो भूमिकासहित जिम्मेवार भएर लाग्न आग्रह गरे ।

‘विषय वा प्रक्रियामा सहमतिमा पुग्न नसक्दा माघ आठमा संविधान बन्न सकेन’ सभाध्यक्ष नेम्बाङले भने, ‘अबपनि संविधान जारी गर्न दुई वर्ष छ, तीन वर्ष छ भन्ने छुट नेताहरुलाई छैन, २०७२ सालभित्र संविधान जारी गर्नुपर्छ ।’ उनले माघ आठमा संविधान जारी गर्ने हकमा जनतासमक्ष जाने कार्यक्रम रोक्न सकिन्नभने पनि अब त्यो रोक्न नमिल्ने बताए ।

जेठ १५ अघि संविधान आउछ भनेर आस गरेका जनता ७२ सालभन्दा निरास हुँदैनन् भन्ने प्रश्नमा उनले ‘सहमति भए केही छिटो हुने भएपनि जनतामा जाँदा त्यो अवधिमा संविधान आउन गाह्रो भएको’ बताए । ‘संविधानसभाले संविधान जारी गर्ने भनेकै सबै जनताले अपनत्व ग्रहण गर्ने हो’ उनले भने, ‘संविधानसभाले जनतामा नगइकन संविधान जारी गर्दा भोली आयोगबाट जारी गरे जस्तै हो, भनेर प्रश्न उठाउन सक्छन् ।’
सभाध्यक्ष नेम्बाङले अब संविधानसभाको कार्यतालिका पहिलेजस्तो एकमुष्ट नबन्ने पनि जानकारी दिए । विगतमा एकमुष्ट कार्यतालिका बनाउदा अलिअलि गदै मिचिएको भन्दै अब जुन काम अगाडी आउछ त्यो सक्ने कार्यतालिका बनाउदै अघि बढ्ने बताए । ‘संविधानसभाको कार्यतालिका अब एकमुष्ट बन्दैन जुन काम अगाडी आउछ त्यही काम यति दिनभित्र गर्ने भनेर संविधानसभाले कार्यतालिका बनाउछ’ उनले भने ।

संविधानसभाको बैठक गत २३ गतेका लागि डाकिएकोमा एमाले नेता तथा पूर्व सभासद् रामनाथ ढकालको मृत्यु भएका कारण शोक प्रस्ताव पारित गरेर ३० गतेसम्मका लागि स्थगित भएको थियो । सोमबारको बैठक पनि पूर्वसांसद सलिमिया अनसारीको मृत्युका कारण शोक प्रस्ताव पारित गरेर नैं स्थगित हुने भएको छ ।

शीर्ष नेताहरुले सभाध्यक्ष नेम्बाङलाई बैठक केही दिन स्थगित गरेर सहमतिका लागि समय दिन भनिरहेका वेला परिस्थिति नैं त्यस्तो श्रृजना भइरहेको छ ।


  •  
  •  
  •