दलहरुलाई सभाध्यक्षले भने : ‘१५ गतेसम्म सहमति गर्नुहोस्, नत्र पूर्वसहमति लागु हुन्छ’

397
  •  
  •  
  •  

subash nembang ca chief_काठमाडौं, १३ चैत (ओएनएस) : सभाध्यक्ष सुवास नेम्बाङले दलहरुलाई आगामी १५ गते साँझ ५ बजेसम्म सहमति गर्न फेरि आग्रह गरेका छन् । गोकर्ण फरेस्ट रिसोर्टमा शुक्रबार पत्रकारहरुसँगको अन्तरक्रियामा सभाध्यक्ष नेम्बाङले सहमति गर्न नसके पूर्वसहमति लागु गर्ने समेत चेतावनी दिएका छन्।

पूर्वसहमति भनेको संविधानसभाको नियमावली अनुसार सहमति हुन नसके प्रक्रियालाई अघि बढाउने भन्ने सभाध्यक्षको संकेत थियो । संविधान निर्माण प्रक्रिया विगत २ महिनादेखि अबरुद्ध भएपछि सभाध्यक्षले दलहरुलाई सहमति गर्न नसके प्रक्रिया अघि बढाउने संकेत दिएका हुन् ।

‘म दलहरुलाई सहमतिका लागि भोलि विहानदेखि नै छलफल गर्न आग्रह गर्छु । ’ सभाध्यक्षले भने, ‘ धेरै समय गुज्रिसकेको छ, अब सहमतिको लागि अन्तिम समय भनेको आगामी १५ गते साँझ ५ बजे हो, त्यसपछि संविधानसभा बैठकको मिति तय हुन्छ, संविधान निर्माणको प्रक्रिया अघि बढ्छ ।’

यसअघि सभाध्यक्षले प्रमुख दलका प्रमुख सचेतकहरुसँगको छलफलपछि १५ गते साँझ ५ बजेसम्मको लागि सहमति गर्न समय दिएका थिए ।


  •  
  •  
  •