सभाध्यक्ष नेम्वाङ आफै अलमलमा, नेताको मुख ताक्दै ठिक्क

42
  •  
  •  
  •  

subas-chandra-nembangकाठमाडौ, ५ माघ : संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि छलफल टुंगिनासाथ संविधानसभाले संविधानका विवादित विषयमा प्रश्नावली तयार पार्न एक विशेष समिति बनाउने बताएका सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ आफै अलमलमा परेका छन् । छलफल आइतबार दिउँसो टुंगिए पनि नेम्वाङले फेरि एकपटक प्रमुख दलहरुबीच संविधानका विवादित अन्तर्बस्तुमाथि सहमति भइहाल्छ कि भनेर शीर्ष नेताको मुख ताकिरहे ।

संवादले ‘अन्तिमपटक’ भन्दै चौथोपटक कात्तिक १६ सम्मका लागि पाएको समयसीमामा सहमति जुटाउन नसकेपछि ३४ दिन ढिलो गरी मंसिर २४ मा बुझाएको प्रतिवेदनमाथि नेम्वाङले मंसिर २९ देखि पुस २४ सम्म संविधानसभामा निश्कर्षविहीन छलफल चलाए । छलफलमा बोल्ने दुई तीहाइ बढी सभासदले संविधानसभाबाटै प्रक्रिया थाल्न दबाव दिए पनि सभाध्यक्ष नेम्वाङले शीर्ष नेतालाई सहमत गराएर फेरि ४ दिन समय दिइ विवाद संवादमा पठाएका थिए । त्यसक्रममा उनले सहमति नभए संवादलाई नियमालीको दफा ६५ को उपदफा ११ र १२ बमोजिम प्रतिवेदन पेश गर्न भनेका थिए । त्यसअनुरुप आएको प्रतिवेदनलाई प्रस्तावका रुपमा संविधानसभामा निर्णयार्थ पेश गर्न सकिन्छ । तर संवादले पहिलेकैजस्तो गरी निर्णयार्थ पेश गर्न नमिल्ने गरी प्रतिवेदन पेश गर्‍यो ।

संवादको पछिल्लो अपुरो प्रतिवेदनमाथि पनि शुक्रबारदेखि आइतबारसम्म तीन दिन संविधानसभामा निश्कर्षविहीन छलफल चलिरह्यो । विपक्षी दलका सभासदले बैठक लम्ब्याउने उद्देश्यले नाम टिपाइरहे, सभाध्यक्षले बोल्न दिइरहे । तीन दिनमा १ सय ४० सभासदले छलफलमा भाग लिए । सभाध्यक्ष नेम्वाङले शनिबारमात्रै सन्चारकर्मीसंग कुरा गर्दै आइतबार छलफल टुंग्याएर प्रश्नावली निर्माणका लागि समिति बनाउने बताएका थिए । छलफल छिटो टुंग्याउन शनिबार बिदाको दिनसमेत र आइतबार बिहानै बैठक राखेको उल्लेख गर्दै उनले भनेका थिए, ‘छलफल सकिँदासम्म दलहरुबीच सहमति नभए संविधानसभाले प्रश्नावली निर्माणका लागि एक समिति बनाउनेछ ।’

सभाध्यक्ष नेम्वाङले संवादलाई सहमतिका लागि पाँचौपटक मौका दिनुअघि नै संविधानसभाले प्रक्रिया अघि बढाउने बताउँदै आएका थिए । तर पाँचौ प्रतिवेदनमाथिको छलफल सकिँदा पनि उनी विगतझै फेरि एकपटक अलमलमा परे । अघिल्लो संविधानसभाका बेला पनि सभाध्यक्ष नेम्वाङले दलहरुको मुख ताक्दै प्रक्रिया अगाडि बढाएनन् । नेम्वाङले संविधानसभाको अर्को बैठक सोमबार दिउँसो बोलाएका छन् । हरेक दिन संविधानसभाको बैठक सकिएपछि वा बीचैमा गतिविधिबारे जानकारी गराउन सञ्चारकर्मीलाई भेटै आएका नेम्वाङ आइतबार भने तर्किए । उनले आफूनिकटहरुबाट दलहरु सहमतिनजिक रहेकाले सोमबारसम्म पर्खने निश्कर्षमा पुगेको सन्देश दिएका छन् । कान्तिपुरबाट


  •  
  •  
  •