आज महाशिवरात्री, पशुपतिनाथमा भक्तजनहरुको भीड

149
  •  
  •  
  •  

काठमाडौं ५ फागुन (ओएनएस) : आज महाशिवरात्री, हिन्दू धर्मावलम्बीहरुले महादेवको आराधना,भजनकिर्तन, पूजा,होम गरी यो पर्व मनाउँदैछन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको रातलाई महाशिवरात्री भनी भगवान शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने हिन्दूहरुको परम्परा छ । महाशिवरात्रीमा पशुपतिनाथको दर्शन र पूजा गर्न विहानैदेखि स्वदेशी तथा विदेशी भक्तजनहरुको भीड लागेको छ ।  हिन्दु धर्मावलम्वीहरुले शिवरात्रीलाई विशेष आस्थापूर्वक मनाउने गर्दछन्। शिवरात्रीलाई पर्वहरुको राजा पनि भन्ने गरिन्छ।
आज ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन पनि रहेको जनविश्वास छ।  आजको दिन हिन्दुधर्मालम्बिहरु विहानैदेखि निर्जल व्रत बसि रात्री जागरण, चार प्रहारको पूजा, बेलपत्र चढाई, पञ्चामृत शिवलिङ्गमा अर्घ चढाई रातभर भजन कीर्तन गरी ब्रत बस्ने गर्दछन्। शिवरात्रीको पालनाले भोग र मोक्ष दुबै प्राप्त हुन्छ भन्ने जनविश्वास रहिआएको छ।
मंगलबार बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनहरुको भीड लागिरहेको छ। पूजा अर्चनाका लागि सोमबार बिहान ३ बजेदेखि नै पशुपतिनाथको चारवटै ढोका खोलिएको छ।
यसका साथै महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई भगवान शिवको दर्शन गराउन यस वर्ष चारवटा लाइनको व्यवस्था गरिएको छ।  यसपटक विगतको तुलनामा सहजरूपमा दर्शन तथा पूजाआजा गर्नसक्ने पशुपति विकास कोषले बताएको छ।
हरेक लाइनबाट २० देखि ३० मिनेटभित्रै पशुपतिनाथको दर्शन गर्न सक्नेगरी व्यवस्था मिलाइएको छ भने  लाइनमा नलागेरै पूजा गर्न चाहनेका लागि रु एक हजारको टिकटको व्यवस्था गरिएको छ। महाशिवरात्रिका अवसरमा पूजा गर्न आउने भक्तजनको सुरक्षाका लागि ६ हजारको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
आज आराध्यदेव भगवान शिवको पूजा अराधना गर्नाले दिव्यज्ञान प्राप्त भई सुख, शान्ति र समृद्धि पाइने जनविश्वास रहेको छ। शिवरात्रि पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे र्सवसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ।
यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ-मन्दिरमा दाउरा बालेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ। पशुपतिनाथमा जाने भक्तजनहरुका लागि विभिन्न संघसंस्थाहरुले निःशुल्क भोजन, स्वास्थ्यसेवालगायतका सेवाहरु प्रदान गरिरहेका छन्।

  •  
  •  
  •