बाग्लुङ १ मा उपनिर्वाचन जारी, विद्युतीय मेसिनको प्रयोग

438
  •  
  •  
  •  

काठमाडौं, २८ चैत (ओएनएस) : बाग्लुङको निर्वाचन क्षेत्र नम्बर १ मा आज संविधानसभा उपनिर्वाचनका लागि मतदान हुँदैछ । गत वर्ष मंसिर ४ मा भएको दोस्रो संविधानसभामा निर्वाचित हरिबहादुर खड्काको सडक दुर्घटनामा निधन भएपछि आज उपनिर्वाचन गर्न लागिएको हो ।

बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजे सकिने जिल्ला निर्वाचन कार्यालय बाग्लुङले जनाएको छ । उपनिर्वाचनका क्रममा विद्युतीय उपकरणमार्फत मतदान भैरहेको छ । निर्वाचन आयोगले मतदातालाई निर्धक्क मतदानमा सहभागी हुन आग्रह गरेको छ ।

उपनिर्वाचनलाई नमुना बनाउन सुरक्षालगायत सबै व्यवस्था चुस्त मिलाएको जनाउँदै आयोगले कसैको दबाब र डरधाकमा नपरी निर्धक्क भएर आफूले रोजेको उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको हो ।

बाग्लुङको निर्वाचन क्षेत्र नम्बर १ मा ५२ हजार २ सय २ मतदाता छन् । ३५ मतदानस्थल र ७० वटा मतदान केन्द्र कायम गरिएको आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

विद्युतीय मतदान मेसिनबाट मतदान भैरहेकोले निर्वाचन परिणाम छिट्टै सार्वजनिक हुने उनको भनाइ छ । मतदाता परिचयपत्र नभएका मतदातालाई नामावलीमा रहेको नाम र विवरणसँग मिल्ने नेपाली नागरिकता प्रमाणपत्र, जग्गाधनी प्रमाणपत्र, राहदानी, सवारीचालक अनुमतिपत्रका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।


  •  
  •  
  •