स्वारेजको ह्याट्रिकमा बार्सिलोनालाई ला लिगा उपाधी

164
  •  
  •  
  •  

Barcelona won the La Liga titleकाठमाडौँ, २ जेठ(एजेन्सी) : लुइस स्वारेजको ह्याट्रिकको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको उपाधीमाथि कब्जा जमाएको छ ।

शनिबार राती भएको खेलमा ग्रानडालाई ३-० गोलअन्तरले पराजित गर्दै बार्सिलोनाले लगातार दोस्रो पटक उपाधी जितेको हो । बार्सिलोनाको यो उपाधी समग्रमा २४ औँ उपाधी हो ।

ग्रानडाको खेल मैदानमा भएको खेलमा लुइस स्वारेजले २२ औँ मिनेटमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । ग्रानडालाई दवावमा राख्दै ३८ औँ मिनेटमा पनि स्वारेजले गोल गर्दै टोलीलाई उपाधीको नजिक पुर्‍याएका थिए । पहिलो हाफ बार्सिलोनाको पक्षमा रह्यो र २-० गोलअन्तरले अगाडि रह्यो ।

दोस्रो हाफमा पनि बार्सिलोनाले आफ्नो लयलाई कायम राख्दै उपाधीको नजिक पुगेको थियो । खेलको अन्त्यतिर स्वारेज थप १ गोल गर्दै टोलीलाई सहज जित दिलाउन सफल भए । टोलीले जितसँगै उपाधी समेत कब्जा गर्न सफल भयो ।

यदी बार्सिलोनाले ग्रानडासँगको खेलमा पराजय बेहोरेको या बराबरी खेलेको र रियल मड्रिडले जित निकालेको अवस्थामा भने उपाधी रियलको पोल्टामा जाने थियो । बार्सिलोनालाई यो खेल जसरी पनि जित्नै पर्ने दवाव थियो र सोही दवावकाबीच स्वारेजले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई उपाधी दिलाउन मुख्य भूमिका निभाएका छन् ।

यससँगै स्वारेज यस संस्करणमा सर्वाधिक गोलकर्ता समेत बनेका छन् । उनले ला लिगाको यो संस्करणमा ४० गोल गरेका छन् । उनले गोल्डेन बुट समेत हात पार्न सफल भए ।


  •  
  •  
  •