स्तुप जोगाउन प्लास्टिकको पाल

45
  •  
  •  
  •  

काठमाडौं १६ भदौ ।
पहिरोको उच्च जोखिममा रहेको कास्कीको विश्व शान्तिस्तुप जोगाउन पहिरो गएको ठाउँमा प्लास्टिकको पालले छोपेर पानी तर्काउने उपाय अपनाइएको छ। बर्खाको पानीले पुम्दीभुम्दी–१, अनदुस्थित स्तुपको जमिन खोतलेर थप कमजोर बनाउने भएपछि पाल बिच्छ्याइएको शान्तिस्तुप सञ्चालक समितिले जनाएको छ।

अघिल्लो साता स्तुपको आडैमा भीषण पहिरो झरेको थियो। जोखिम बढेपछि उक्त क्षेत्रमा पर्यटक प्रवेश निषेध गरिएको छ। ‘बर्खाले माटो बगाउँदा थप पहिरो जान सक्छ। त्यसैले तत्काललाई प्लास्टिक ओछ्याएर पानी तर्काउने उपाय लगाएका छौं,’ समिति अध्यक्ष प्रकाशमान गुभाजूले भने।
स्तुपको पर्खालबाट डेढ मिटर दुरीमा रहेको पहिरोले ‘रिटेनिङ वाल’ बगाइसकेको छ। फेरि पनि पहिरो गए स्तुपै बग्ने खतरा छ। स्तुपवरिपरि कटुस र चिलाउनेका बोटसहितको जंगल छ। ‘स्तुप जोगाउन धेरैतिर भनसुन गरिरहेका छौं,’ गुभाजूले भने, ‘स्तुपवरपर पर्खाल बनाएर माटो भरिएको ठाउँ बढी जोखिममा छ। दायाँबायाँको माटो बग्दै गए स्तुप खतरामा पर्छ।’
जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर नारायणप्रसाद श्रेष्ठ स्तुप जोगाउन तत्काल कदम चाल्नुपर्ने बताउँछन्। ‘प्लास्टिक अस्थायी रोकथाम मात्र हो। धेरै दिन टिक्दैन,’ उनले भने, ‘तत्कालै तलैदेखि जाली उठाएर ढुंगा भर्नुपर्छ।’
जिल्ला भूसंरक्षण कार्यालयमार्फत जाली मगाए पनि ढुंगा पुर्यािउन नसकिएको उनले बताए। ‘तत्कालका लागि करिब १ सय ५० ट्र्याक्टर ढुंगा आवश्यक पर्छ,’ श्रेष्ठले भने, ‘ढुंगा लैजान उक्त स्थानसम्म मोटरबाटो छैन। करिब एक किलोमिटर टाढाबाट बोकाएर लैजानुपर्छ।’ स्तुपनजिकैको जमिन भिरालो रहेकाले पनि पहिरोको जोखिम उच्च रहेको र घामपानी पर्दा खतरा अझै बढ्ने उनले औंल्याए। श्रेष्ठका अनुसार स्तुप बचाउन करिब ३० मिटर तलबाट उचालेर पर्खाल लगाउनुपर्छ। त्यसका लागि ३५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।
पोखराका बुद्ध धर्मावलम्बी र जापानको निप्पोनजान मेहोजीले उक्त स्तुप बनाएका हुन्। २०४९ मा थालेर २०५६ मा निर्माण सम्पन्न भएको स्तुपमा ५ करोड खर्च भएको थियो। त्यसअघि २०३० सालमा स्तुप बनाउन थाल्दा तत्कालीन सरकारले प्रतिबन्ध लगाउँदै बनाइएका संरचना भत्काएको थियो। त्यो बेला ३५ फिट अग्लो संरचना बनिसकेको थियो। २०४८ पछि सरकारले स्तुप बनाउन अनुमति दिएको हो।
२१ रोपनी क्षेत्रफलमा बनेको स्तुपको चारैतिर बुद्धमूर्ति छन्। ती मूर्ति नेपाल, जापान, श्रीलंका र थाइल्यान्डले राखेका हुन्। १ सय १५ फिट अग्लो स्तुपको गोलाइ ३ सय ४४ फिट छ। स्तुपको चाँदीको गजुरमा सुनको जलप लगाइएको छ। शान्ति मिल्ने विश्वासमा स्थानीयले दिएका गहनाबाट त्यो जलप लगाइएको हो। स्तुपमा हरेक दिन जापानी भिक्षु साकाईले पूजा गर्छन्। ‘स्तुपको वातावरण यस्तो छ कि त्यहाँ पुग्नासाथ मनले शान्ति अनुभव गर्छ। तर, अहिले धेरै विदेशी आउन सकेनन्। पहिरोले शान्त ठाउँलाई अशान्त बनायो,’ उनले भने।
आर्थिक संकलन सुरु
पहिरोको चपेटामा परेको स्तुप जोगाउन आर्थिक संकलन सुरु गरिएको छ। पोखरा पर्यटन परिषद्को अगुवाइमा आर्थिक संकलन सुरु गरिएको छ। पर्यटन व्यवसायी संस्थाले आइतबार करिब डेढ लाख रुपैयाँ सघाएको परिषद् अध्यक्ष सूर्यबहादुर भुजेलले बताए। ‘स्तुप आडमा पहिरो जाँदा शिरको टोपी खसेको अनुभव भएको छ। यसले पोखरा आउने पर्यटकको बसाइ लम्ब्याउन भूमिका खेल्दै आएको छ,’ उनले भने, ‘त्यसैले चन्दा संकलन गरेर भए पनि जतिसक्दो छिटो स्तुपको सुरक्षा गर्नुपर्छ।’ नागरिकबाट


  •  
  •  
  •