सनसनीपूर्ण खेलमा जीत निकाल्दै न्यूजिल्याण्ड पहिलाे पटक फाइनलमा

315
  •  
  •  
  •  

काठमाडौं, १० चैत (ओएनएस) : न्यूजिल्याण्ड विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान इडन पार्क, अकल्याण्डमा मंगलबार भएको खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्यूजिल्याण्ड विश्वकप क्रिकेटमा पहिलाे पटक फाइनलमा प्रवेश गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको २९८ रनको लक्ष्य न्यूजिल्याण्डले अन्तिम बल खेल्नुअघि पार गर्दै सनसनीपूर्ण जीत निकाल्न सफल भयाे । न्यूजिल्याण्डको जीतमा ग्रान्ड इलियटले अविजित ८४ रनको योगदान गरे । उनले अन्तिम बल खेल्नुअघि डेल स्टेयनको बलमा विजयी छक्का प्रहार गरेका थिए । क्रिजमा ड्यानियल भिट्टोरी ७ रनमा अविजित रहे ।

त्यसअघि कप्तान बेन्डन म्याकुलमले बिस्फोटक ब्याटिङ गर्दै २६ बलमा ५९ रन जोडे । यस्तै मार्टिन गुपटिलले पनि ३४ र रोस टेलरले ३० रन बनाए । इलियटसँग जीतको आधार बनाएका कोरि एन्डर्सनले ५८ रनको पारी खेले । बलिङतर्फ दक्षिण अफ्रिकाका मोर्ने मोर्केलले ३ विकेट लिए ।

वर्षाले प्रभावित खेलमा दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा २८१ रन बनाएको थियो । वर्षा भएपछि ७ ओभर घटाइएपछि न्यूजिल्याण्डले डकवार्थ लेविसको नियममा २९८ रनको लक्ष्य पाएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले सुस्त गतिमा इनिङ बनाएपछि मध्यक्रमका ब्याट्सम्यानले आक्रमक खेलेका थिए । ओपनर क्वान्टन डे कक १४ र हसीम अम्ला १० रनमा आउट भए । कक र अम्ला दुबैलाई ट्रेन्ट बोल्टले आफ्नो सिकार बनाएका थिए ।

त्यसपछि फाप डु प्लेसिस र कप्तान एबी डिभिलियर्सले उत्कृष्ट साझेदारी गर्दै अफ्रिकाको इनिङ मजबुत पारेका थिए । प्लेसिसले ८२ र डिभिलियर्सले ६५ रनको योगदान गरे ।

डिभिलियर्स मैदानमा आउनुअघि रेली रस्सोले ३९ रन जोडे । बर्षापछि प्लेसिस आउट भएका थिए । त्यसपछि मैदान छिरेका डेभिड मिल्लरले २३ बलमा ४९ रनको योगदान गरे भने जेपी डुमीनी ८ रनमा अविजित रहे ।


  •  
  •  
  •