काठमाडौं, २५ भदौ (ओएनए): एकीकृत नेकपा माओवादी निकट अनेरास्ववियू(क्रान्तिकारी)का अध्यक्ष हिमाल शर्माले पदबाट राजिनामा दिएका छन् । उनले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गरेर पार्टी केन्द्रीय कार्यालयमा राजिनामा दर्ता गराएका हुन् । अघिल्लो चैतमा दोस्रो पटकका लागि अध्यक्षको जिम्मेवारी पाएका शर्माले आफ्नो राजिनामाले नयाँ नेतृत्व चयनका लागि ढोका खुल्ने विश्वास व्यक्त समेत गरेका छन् ।
लिखित प्रतिबद्धता पुरा गरेनन्
काठमाण्डौं कीर्तिपुरमा गत चैतमा भएको अनेरास्ववियू क्रान्तिकारीको १९ औं सम्मेलनमा माउ पार्टीका शिर्ष नेताको विवादले विद्यार्थी संगठनको नयाँ नेतृत्व चयन हुन सकेको थिएन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रमेश मल्ललाई अध्यक्ष बनाउन चाहेका थिए भने उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जागृत रायमाझीलाई अध्यक्ष दिनुपर्नेमा जोड गरिरहेका थिए ।
सहमति गर्ने भन्दै चुनावमा नजाने भनेर चर्को विवाद भएपछि पुरानै कमिटिलाई निरन्तरता दिईएको थियो । अन्तिम समयमा तीन महिनाका लागि शर्मालाई नै अध्यक्षको जिम्मेवारी दिईयो । त्यो जिम्मेवारी बाध्यात्मक भन्दै शर्माले राजिना पत्रमा भनेका छन्,‘उन्नाईसौं राष्ट्रिय सम्मेलनमा नेतृत्व निर्माणमा देखिएको विधि अफ्ठेरोका कारण आफ्नो चाहना नहुँदा नहुँदै पनि पार्टी केन्द्रको आग्रहमा म फेरी अध्यक्षको जिम्मेवारी सम्हाल्न बाध्य भएँ ।’
जिम्मेवारी लिँदा शर्माले तीन महिनाभित्र संगठनात्मक भेला वा सम्मेलन गरेर नेतृत्व हस्तान्तरण गर्ने लिखित प्रतिबद्धता जनाएका थिए । तर, पाँच महिना पुग्दा पनि सम्मेलन वा भेला गर्न नसकेपछि संगठन भित्रै आलोचना सुरु भएको थियो । उपाध्यक्ष रमेश मल्ल भन्छन्,‘ असार भित्रै सम्मेलन गर्नुपर्छ भन्ने थियो तर उहाँले त्यसो गर्न नसक्दा आलोचना पनि भईरहेको थियो, उहाँले राजिनामा दिनुभन्दा नेतृत्व हस्तान्तरण गर्नुभएको भए राम्रो हुन्थ्यो । ’
महेन्द्र श्रेष्ठले तनाव थपिदिए
विद्यार्थीको अध्यक्ष रहेकै बेला शर्मा गत असारमा काठमाण्डौं जिल्लाको अध्यक्ष चयन भए । जिम्मेवारी थपिएपछि शर्मा समस्यामा थिए । उता विद्यार्थी सँगठनकोे गतिवधि उत्साह जनक थिएन भने आलोचना पनि बढ्दै थियो । यसैबीचमा काठमाण्डौंमा नेता डा. बाबुराम भट्टराई पक्षधरले समानान्तर समिति बनायो ।
काठमाण्डौंमा समानान्तर संगठन बनेपछि अध्यक्ष प्रचण्ड पक्षीय शर्मालाई थप तनाव भएको थियो । एक व्यक्ति एक पदको नीति रहेको माओवादीमा शर्मा दुई कार्यकारी पदमा थिए । आन्तरिक भेलामा भट्टराई पक्षीय काठमाण्डौं संयोजक श्रेष्ठले यसलाई मुद्वा बनाएका थिए ।
श्रोतका अनुसार श्रेष्ठले ‘ शर्मा विद्यार्थीको पनि अध्यक्ष अनि काठमाण्डौंको पनि अध्यक्ष यसरी चल्न नसक्ने’ भन्दै आफूमाथी प्रहार गरिरहेको गुनासो शर्माले गर्दै आएका थिए । यसैबारे शर्माले विज्ञप्तिमा भनेका छन्,‘आन्दोलनमा राष्ट्रिय प्रभाव पार्ने अनेरास्ववियू(क्रान्तिकारी)को अध्यक्ष र काठमाण्डौं जस्तो सामरिक महत्व राख्ने जिल्लाको पार्टी अध्यक्षको जिम्मेवारी संगसँगै बढाउन मेरो समयले पुग्दैन, महत्वपूर्ण संस्थाको दुई–दुईवटा कार्यकारी पदमा बस्नु समग्र आन्दोलनको निम्ति फाईदाको विषयबस्तु होईन ।’
दोहोरो जिम्मेवारीमा रहेको व्यक्ति भन्दै भट्टराई पक्षीय काठमाडौं संयोजक श्रेष्ठले खुईल्याउन थालेपछि पनि शर्माले विद्यार्थी अध्यक्ष पद छोडेको उनी निकट स्रोतको भनाई छ ।
नेतृत्व विहिन बन्दै विद्यार्थी संगठन
नारायणकाजी श्रेष्ठले जागृत रायमाझीलाई अध्यक्ष दिनै पर्ने अडानमा छन् । अन्य विभिन्न भातृसँगठनमा आफू ‘ब्याक’ भएको भन्दै क्षमता पनि भएकाले रायमाझीलाई अध्यक्ष बनाउनुपर्ने भनेपछि प्रचण्ड अफ्ठेरोमा परेका छन् ।
तर, उनी पार्टीको बलियो मोर्चा विद्यार्थी सँगठन छोड्न गाह्रो भएको स्रोतको भनाई छ । अध्यक्ष प्रचण्ड अझै पनि मल्ललाई नै अगाडी सार्न खोजिरहेका छन् । पार्टीमा देखिएको अन्योलताका कारण एमाओवादी विद्यार्थी संगठन समस्या छिर्दैछ ।
उपाध्यक्ष मल्लले भने,‘ राजिनामा स्वीकृत नभईसकेको अवस्थामा त उहाँलाई नै हामीले नेतृत्व मान्ने हो तर नेतृत्व हस्तान्तरण गर्दा संगठनलाई राम्रो हुन्थ्यो, सायद पार्टीभित्रको जटिलताको कारण पनि केही गर्न सक्नुभएनी की, यस्तो भए समस्या त आउन सक् छ ?
पार्टीले सहयोग गरेन
शर्माले भने नेतृत्व हस्तान्तरण गर्ने विषयमा पार्टीले सहयोग नगरेको बताए । उनले ओएनएस न्यूजसँग भने,‘ नेतृत्व हस्तारण गर्ने गर्ने विषयमा पार्टीले जिम्मा लिएको थियो तर सहयोग गरेन । उल्टै मलाई निरन्तरता दिने जस्तो देखियो । त्यसैले पनि राजिनामा दिएर बाटो खोलिदिएको हुँ ।’
शर्माले पार्टीभित्रको अन्तसंघर्षका कारण समस्यामा परेको बताए । उनले भने,‘ अरुलाई लिएर जाँदा मिलाउन नसक्ने अवस्था देखियो मलाई सबैले मानेका कारण पनि मलाई पार्टी नेतृत्वले निरन्तरता दिन खोजको होला तर यस्तो मिल्दैन ।’